आबुँखैरेनीस्थित मस्याङ्दी नदी किनारमा अज्ञात पुरुषको शव फेला
तनहुँ : तनहुँ जिल्लाको आबुँखैरेनी गाउँपालिका–२ ढापटारस्थित मस्याङ्दी नदीको किनारमा अन्दाजी ३० देखि ३५ वर्षको अज्ञात पुरुषको शव फेला परेको छ।
आज बिहान करिब ६:३० बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। सो सूचनापछि इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट प्रहरी नायब निरीक्षक (प्र.नि.) टेक प्रसाद सुबेदीको कमाण्डमा SOCO टोलीसहित ७ जना प्रहरी घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।
शव बेबारिसे अवस्थामा भेटिएको र मृतकको नाम, थर र ठेगाना अहिलेसम्म खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ। घटनाको कारण र मृतकको पहिचान खुलाउने कार्यका लागि आवश्यक अनुसन्धान सुरु गरिएको इलाका प्रहरीले जनाएको छ।
शवलाई पोस्टमार्टमका लागि तयारी भइरहेको छ। घटनाबारे थप विवरण प्रहरीले पछि सार्वजनिक गर्ने जनाएको छ।










