भानुभक्तका पाण्डुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

वासुदेव पौडेल/रासस

“भर् जन्म घाँस तिर मन् दिई धन कमायो ।
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।।

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ।
म भानुभक्त धनी भैकन किन यस्तो ।।”

नेपाली साहित्य क्षेत्रमा आदिकवि भानुभक्तले घाँसीबाट पाएको प्रेरणालाई लिपिबद्ध गरी लेखेको कविताको यो पङ्क्ति आज पनि उत्तिकै चासो र चर्चामा छ ।

तनहुँको चुँदी रम्घामा जन्मेर नेपाली भाषा र साहित्यका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका भानुभक्तले नेपाली साहित्यको प्रारम्भिक चरणमा कविता र काव्यका माध्यमबाट नेपाली साहित्याकाशमा ठूलो गुन लगाउनुभएको छ ।

नेपाली भाषाको एकीकरणकर्ताका रूपमा रहेका उहाँले आजभन्दा दुई शताब्दी अघि तत्कालीन समयको सांस्कृतिक, धार्मिक र सामाजिक विशिष्टतालाई आफ्ना रचनामा उतारेका त छन् नै नेपाली भाषाको समुन्नतिसँगै राष्ट्रिय एकता र सद्भावका लागि पनि अतुलनीय योगदान पुर्‍याउनुभएको छ ।

भानुका योगदानलाई जीवन्त राख्नका लागि भानु जन्मस्थल विकास समिति निरन्तर रूपमा लागिरहेको समितिका अध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो । भानु जन्मस्थलको संरक्षण र विकासका लागि २०३३ सालमा गोपाल पाण्डे (असिम), धरणीधर कोइराला लगायतका साहित्यप्रेमी आएर उहाँका सन्ततिसँग जग्गा मागेर भानु सङ्ग्रहालय स्थापना गरेको उहाँले जानकारी दिनुभयो ।

उक्त क्रममा उहाँका सन्ततिसँग मागिएको करिब चार रोपनी क्षेत्रफलमा विभिन्न पूर्वाधार निर्माणसँगै सङ्ग्रहालय स्थापना गरिएको थियो । उक्त जग्गा भानु स्मारक सङ्ग्रहालयकै नाममा रहेकामा २०५२ सालमा भानु जन्मस्थल विकास समिति गठन भएपछि उक्त जग्गा समिति मातहत रहेको छ ।

सङ्ग्रहालयमा रहेको पुस्तकालयमा भानुभक्तका सन्नतिबाट प्राप्त २०० भन्दा पुराना भानुभक्त स्वयम्ले लेख्नुभएका रामायण र वधुशिक्षाका पाण्डुलिपि राखिएको समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ । उक्त सङ्ग्रहालयमा भानुभक्तकालीन अन्य विभिन्न सामग्रीहरू पनि रहेको जानकारी दिँदै उहाँले ती सामग्रीहरूको पुरातात्विक प्रमाणीकरण गर्न भने बाँकी रहेको बताउनुभयो ।

सङ्ग्रहालयमा रहेका रामयाण र वधुशिक्षाको पाण्डुलिपि कसरी जोगाउने भन्ने चिन्ता भने आफूहरूमा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । “यी पाण्डुलिपि झुत्रा हुन् र किराले खानबाट कसरी जोगाउने भन्ने विषयले हामीलाई चिन्तित बनाएको छ”, उहाँले भन्नुभयो, “संरक्षणका लागि माइक्रोफिल्मिङ गरी राख्ने प्रयास गरिए पनि साधनस्रोतको अभाव आदिका कारण अहिलेसम्म हुन सकेको छैन ।” यी ऐतिहासिक महत्त्वका पाण्डुलिपिको संरक्षणमा राज्यको नै चासो पुग्नु जरुरी रहेको समितिका अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो ।

भानुभक्तको रामायण केवल धार्मिक ग्रन्थ मात्र नभई यो नेपाली भाषाको साहित्यिक प्रगतिको एक सेतु रहेको साहित्यकार डा अशोक थापा बताउनुहुन्छ । भानुभक्तको रामायणले भाषा प्रयोगका नयाँ आयामहरू खुला गरिदिएको बताउँदै उहाँले नेपाली साहित्यमा मौलिकता र रचनात्मकतालाई अघि बढाउनका लागि यसको विशेष योगदान रहेको बताउनुभयो ।

नेपाली भाषालाई केवल सम्प्रेषणको माध्यम मात्र नभई कला र संस्कृतिको सुनौलो मोतिका रूपमा भानुक्तले स्थापित गरिदिएको साहित्यकार थापाको भनाइ छ । नेपाली भाषामा पनि उत्कृष्ट साहित्य सिर्जना हुन सक्छ भन्ने कुरालाई रामायणले चरितार्थ पारिदिएको बताउँदै उहाँले भानुभक्तका रचनाले नेपाली भाषी जनतामा भाषिक गौरव र राष्ट्रिय पहिचानको भावना जगाएको बताउनुभयो ।

भानुभक्तको जन्मस्थलमा साहित्य उद्यान निर्माणको प्रक्रिया अगाडि बढाइएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार भानुभक्तकै नामबाट पालिकाको नाम नै भानु नगरपालिका रहेको छ । भानु जन्मस्थलको समग्र गुरुयोजना नगरपालिकाले तयार गरिरहेको छ ।

यसको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी रु २० करोड विनियोजन भइसकेको जानकारी दिँदै प्रमुख त्रिपाठीले उक्त रकमबाट ५४ फिट अग्लो भानुभक्तको मूर्ति निर्माणसँगै विभिन्न ६० वटा साहित्यिक स्रष्टाको सालिक निर्माण गरिने बताउनुभयो ।

त्यस्तै यहाँको रम्घा डाँडासम्मको बाटोको स्तरोन्नति गर्न लागिएको छ । सहरी विकास मन्त्रालय तथा सहरी विकास विभागमार्फत यी कामहरू अघि बढाउने र यसमा नगरपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो ।

जन्मस्थलको विकासका लागि राष्ट्रपति रामचन्द्र पौडेलले विशेष चासो दिनुुभएको बताउँदै प्रमुख त्रिपाठीले नगरपालिकाले पनि त्यसलाई उच्च प्राथमिकताका साथ विकास गर्न खोजेको बताउनुभयो । “भानुभक्त देशभित्र रहेका मात्र नभई विश्वमा छरिएका सबै नेपाली र नेपाली भाषाप्रेमीले सम्झने महत्त्वपूर्ण पात्र हुन्”, उहाँले भन्नुभयो ।

भाषा, साहित्य र संस्कृतिका लागि भानु जन्मस्थल चुँदीरम्घा आफैँमा खुला सङ्ग्रहालय भएको बताउँदै उहाँले भानुभक्तका योगदानलाई समेटेर यस स्थललाई विश्वकै साहित्यानुरागीहरूको प्रतिष्ठित साहित्यिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने योजना रहेको बताउनुभयो । यहाँको विकाससँगै यो क्षेत्र साहित्यिक पर्यटनको आकर्षक गन्तव्य बन्ने उहाँको भनाइ छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker