“अमरगाथा” पुस्तक विमोचन तथा सम्मान
भञ्ज्याङ समाचारदाता/दमौली

सहिद सप्ताह २०८० को सन्दर्भमा आयोजित सहिद तथा बेपत्ता योद्धा स्मृति ग्रन्थ ‘अमरगाथा’को विमोचन गरिएको छ । महिला नेतृ आशा कोइरालाद्वारा लिखित पुस्तकको जनयुद्ध अध्ययन प्रतिष्ठानले शनिबार दमौलीमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरेको हो ।
पुस्तक विमोचन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पुस्तकमा समावेश गरिएका विषयवस्तुको चर्चा गर्दै आर्थिक समृद्धिलाई केन्द्रमा राखेर वर्तमान सरकार अघि बढेको बताए । महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले आर्थिक समृद्धिलाई नै केन्द्रमा राखेर काम गरिरहेको बताए ।
‘प्रधानमन्त्रीको कुशल नेतृत्वका कारण मुलुक विकासको बाटोमा अग्रसर भएकाले वर्तमान सरकारलाई सहयोग गर्नु सबै राजनीतिक दलको दायित्व हो’, उनले भने, ‘जनजीविकाका सवाल, आर्थिक समृद्धि, सुशासन कायम गर्न सरकार क्रियाशील रहेको छ । यी सबै चुनौतीलाई पूरा गर्न प्रचण्ड नेतृत्वको सरकार लागिपरेको छ ।’
‘यो सरकार आर्थिक चुनौतीको सामना गर्दै समृद्धि हासिल गर्न अगाडि बढिरहेको छ’, उनले भने, ‘सबै दलबीच सहमति र सहकार्य आवश्यक छ । सबै दलबीच राष्ट्रिय एकता कायम गर्न नेकपा (माओवादी केन्द्र)ले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ ।’
सहिदको बलिदान र योगदानले मुलुकमा गणतन्त्र स्थापना भएकाले यसको रक्षा गर्नु अहिलेको प्रमुख चुनौती भएको महासचिव गुरुङको भनाइ थियो । महासचिव गुरुङले प्रतिष्ठानकी अध्यक्ष आशा कोइरालाले लेख्नुभएको ‘अमरगाथा’ पुस्तक विमोचन तथा जिल्लाका सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गरेका थिए ।










