सम्पादकीय : भानुको विरासत र साहित्य उद्यानको राष्ट्रिय महत्व

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ । यो अवसर केवल एक महान् कविको जन्मदिन सम्झिने दिन मात्र होइन, नेपाली भाषा, साहित्य, संस्कृति र राष्ट्रिय पहिचानप्रति सम्मान व्यक्त गर्ने महत्वपूर्ण अवसर पनि हो । तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले नेपाली भाषालाई जनताको भाषा बनाउने ऐतिहासिक भूमिका निर्वाह गरेका थिए । आज पनि उनको योगदान उत्तिकै जीवन्त र प्रेरणादायी छ । यस वर्षको भानु जयन्तीलाई अझ विशेष बनाउने अर्को पक्ष चुँदी रम्घामा राष्ट्रिय गौरवको आयोजना ‘भानु साहित्य उद्यान’ निर्माणको कामले गति लिनु हो । संघीय सरकारले आगामी आर्थिक वर्षका लागि २४ करोड रुपैयाँ बजेट विनियोजन गरेसँगै बहुवर्षीय योजनाअनुसार उद्यान निर्माण प्रक्रिया अघि बढेको छ । करिब ५०० रोपनी क्षेत्रफलमा बन्ने यो उद्यान केवल एउटा पर्यटकीय स्थल होइन, नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना हो । यसको सफल कार्यान्वयनले तनहुँलाई मात्र होइन, समग्र नेपाललाई नयाँ साहित्यिक पहिचान दिलाउन सक्छ ।

भानुभक्तको सबैभन्दा ठूलो योगदान नेपाली भाषालाई साहित्यिक अभिव्यक्तिको माध्यम बनाउनु हो । संस्कृत भाषामा सीमित रहेको धार्मिक तथा साहित्यिक ज्ञानलाई उनले सरल नेपाली भाषामा अनुवाद गरेर आम जनतासम्म पु¥याए । उनको …भानुभक्तीय रामायणÚ केवल धार्मिक ग्रन्थको अनुवाद होइन, नेपाली भाषाको विकासको आधारशिला पनि हो । त्यही कृतिले नेपाली भाषालाई घरघरमा स्थापित ग¥यो र भाषिक एकताको बलियो जग तयार ग¥यो । आज सूचना–प्रविधिको युगमा विदेशी भाषाको प्रभाव बढ्दो छ । सामाजिक सञ्जाल र डिजिटल माध्यममा नेपाली भाषाको शुद्ध प्रयोग घट्दै गएको चिन्ता पनि उत्तिकै छ । यस्तो अवस्थामा भानुभक्तको जीवन र साहित्यले मातृभाषाप्रतिको सम्मान, मौलिकताको संरक्षण र सरल भाषामा सिर्जना गर्ने प्रेरणा दिन्छ । नेपाली भाषाको संरक्षण केवल सरकारी नीति वा पाठ्यक्रमबाट मात्र सम्भव हुँदैन । यसको जिम्मेवारी प्रत्येक नागरिक, अभिभावक, शिक्षक, सञ्चारमाध्यम र स्रष्टाको पनि हो ।

भानुभक्तको साहित्यको अर्को महत्वपूर्ण पक्ष नैतिक मूल्य र सामाजिक चेतना हो। घाँसीको प्रसङ्ग आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक छ । एउटा सामान्य घाँसीले सार्वजनिक हितका लागि कुवा निर्माण गरेको देखेर भानुभक्तलाई समाजका लागि केही गर्ने प्रेरणा मिलेको कथा हामी सबैका लागि मार्गदर्शक बनेको छ । यसले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजका लागि योगदान दिनुपर्ने सन्देश दिन्छ । आज सार्वजनिक उत्तरदायित्व कमजोर बन्दै गएको र व्यक्तिगत लाभलाई प्राथमिकता दिने प्रवृत्ति बढिरहेको बेला यो प्रसङ्गको महत्व झन् बढेको छ । भानु साहित्य उद्यानको अवधारणा पनि यही भावनासँग जोडिएको छ । प्रस्तावित उद्यानभित्र भानु भवन, प्रज्ञा भवन, साहित्य ग्राम, सप्तधाम, आदिकविको पूर्णकदको सालिक तथा सातै प्रदेशका धार्मिक–सांस्कृतिक सम्पदाका नमूना निर्माण गर्ने योजना रहेको छ । यस्ता संरचनाले साहित्य, संस्कृति, पर्यटन र अनुसन्धानलाई एउटै स्थानमा जोड्ने अवसर सिर्जना गर्नेछन् । यदि योजना गुणस्तरीय रूपमा सम्पन्न भयो भने चुँदी रम्घा नेपाली भाषा र साहित्यका विद्यार्थी, अनुसन्धानकर्ता तथा पर्यटकका लागि आकर्षणको केन्द्र बन्नेछ ।

तर राष्ट्रिय गौरवका आयोजना घोषणा हुँदैमा उपलब्धि हासिल हुँदैन । समयमै बजेट विनियोजन, पारदर्शी कार्यान्वयन, गुणस्तरीय निर्माण र प्रभावकारी व्यवस्थापन अनिवार्य हुन्छ । विगतमा धेरै आयोजना ढिलासुस्ती, लागत वृद्धि र कमजोर समन्वयका कारण अपेक्षित परिणाम दिन नसकेका उदाहरण प्रशस्त छन् । त्यसैले भानु साहित्य उद्यान पनि राजनीतिक परिवर्तन वा प्रशासनिक सुस्तताले प्रभावित हुनु हुँदैन । यो परियोजनालाई राष्ट्रिय सम्पत्तिका रूपमा हेरेर निरन्तरता दिनु सबै तहका सरकार र सम्बन्धित निकायको दायित्व हो । स्थानीय समुदायको सहभागिता पनि उत्तिकै आवश्यक छ । उद्यान निर्माणसँगै स्थानीय संस्कृति, लोककला, हस्तकला, होमस्टे, कृषि उत्पादन र पर्यटन व्यवसायलाई जोड्न सकिए यसले स्थानीय अर्थतन्त्रलाई नयाँ गति दिनेछ । साहित्यिक पर्यटनको सम्भावना नेपालमा अझै पर्याप्त रूपमा उपयोग हुन सकेको छैन। भानु साहित्य उद्यान त्यसको उत्कृष्ट उदाहरण बन्न सक्छ ।

भानुभक्तको सम्मान केवल सालिक निर्माण, माल्यार्पण वा औपचारिक समारोहमा सीमित हुनु हुँदैन । उनका आदर्शलाई व्यवहारमा उतार्नु नै सच्चा श्रद्धाञ्जलि हो । नेपाली भाषाको शुद्ध प्रयोग, साहित्य अध्ययनको प्रवद्र्धन, नयाँ पुस्तामा पठन संस्कृतिको विकास तथा मौलिक सिर्जनालाई प्रोत्साहन दिन सके मात्र भानुभक्तप्रतिको सम्मान सार्थक हुनेछ । भानु जयन्तीले हामीलाई आफ्नै भाषा, साहित्य र संस्कृतिप्रति गर्व गर्न सिकाउँछ । चुँदी रम्घामा निर्माणाधीन भानु साहित्य उद्यानले त्यो गौरवलाई विश्वसामु चिनाउने आधार तयार गर्दैछ । अब आवश्यकता छ– यो राष्ट्रिय अभियानलाई समयमै सम्पन्न गर्ने, यसको उद्देश्यलाई जीवन्त बनाउने र भानुभक्तको अमूल्य विरासतलाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने। यही नै आदिकवि भानुभक्त आचार्यप्रति सबैभन्दा ठूलो सम्मान हुनेछ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker