सम्पादकीय : भानुको विरासत र साहित्य उद्यानको राष्ट्रिय महत्व

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ । यो अवसर केवल एक महान् कविको जन्मदिन सम्झिने दिन मात्र होइन, नेपाली भाषा, साहित्य, संस्कृति र राष्ट्रिय पहिचानप्रति सम्मान व्यक्त गर्ने महत्वपूर्ण अवसर पनि हो । तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले नेपाली भाषालाई जनताको भाषा बनाउने ऐतिहासिक भूमिका निर्वाह गरेका थिए । आज पनि उनको योगदान उत्तिकै जीवन्त र प्रेरणादायी छ । यस वर्षको भानु जयन्तीलाई अझ विशेष बनाउने अर्को पक्ष चुँदी रम्घामा राष्ट्रिय गौरवको आयोजना ‘भानु साहित्य उद्यान’ निर्माणको कामले गति लिनु हो । संघीय सरकारले आगामी आर्थिक वर्षका लागि २४ करोड रुपैयाँ बजेट विनियोजन गरेसँगै बहुवर्षीय योजनाअनुसार उद्यान निर्माण प्रक्रिया अघि बढेको छ । करिब ५०० रोपनी क्षेत्रफलमा बन्ने यो उद्यान केवल एउटा पर्यटकीय स्थल होइन, नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना हो । यसको सफल कार्यान्वयनले तनहुँलाई मात्र होइन, समग्र नेपाललाई नयाँ साहित्यिक पहिचान दिलाउन सक्छ ।
भानुभक्तको सबैभन्दा ठूलो योगदान नेपाली भाषालाई साहित्यिक अभिव्यक्तिको माध्यम बनाउनु हो । संस्कृत भाषामा सीमित रहेको धार्मिक तथा साहित्यिक ज्ञानलाई उनले सरल नेपाली भाषामा अनुवाद गरेर आम जनतासम्म पु¥याए । उनको …भानुभक्तीय रामायणÚ केवल धार्मिक ग्रन्थको अनुवाद होइन, नेपाली भाषाको विकासको आधारशिला पनि हो । त्यही कृतिले नेपाली भाषालाई घरघरमा स्थापित ग¥यो र भाषिक एकताको बलियो जग तयार ग¥यो । आज सूचना–प्रविधिको युगमा विदेशी भाषाको प्रभाव बढ्दो छ । सामाजिक सञ्जाल र डिजिटल माध्यममा नेपाली भाषाको शुद्ध प्रयोग घट्दै गएको चिन्ता पनि उत्तिकै छ । यस्तो अवस्थामा भानुभक्तको जीवन र साहित्यले मातृभाषाप्रतिको सम्मान, मौलिकताको संरक्षण र सरल भाषामा सिर्जना गर्ने प्रेरणा दिन्छ । नेपाली भाषाको संरक्षण केवल सरकारी नीति वा पाठ्यक्रमबाट मात्र सम्भव हुँदैन । यसको जिम्मेवारी प्रत्येक नागरिक, अभिभावक, शिक्षक, सञ्चारमाध्यम र स्रष्टाको पनि हो ।
भानुभक्तको साहित्यको अर्को महत्वपूर्ण पक्ष नैतिक मूल्य र सामाजिक चेतना हो। घाँसीको प्रसङ्ग आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक छ । एउटा सामान्य घाँसीले सार्वजनिक हितका लागि कुवा निर्माण गरेको देखेर भानुभक्तलाई समाजका लागि केही गर्ने प्रेरणा मिलेको कथा हामी सबैका लागि मार्गदर्शक बनेको छ । यसले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजका लागि योगदान दिनुपर्ने सन्देश दिन्छ । आज सार्वजनिक उत्तरदायित्व कमजोर बन्दै गएको र व्यक्तिगत लाभलाई प्राथमिकता दिने प्रवृत्ति बढिरहेको बेला यो प्रसङ्गको महत्व झन् बढेको छ । भानु साहित्य उद्यानको अवधारणा पनि यही भावनासँग जोडिएको छ । प्रस्तावित उद्यानभित्र भानु भवन, प्रज्ञा भवन, साहित्य ग्राम, सप्तधाम, आदिकविको पूर्णकदको सालिक तथा सातै प्रदेशका धार्मिक–सांस्कृतिक सम्पदाका नमूना निर्माण गर्ने योजना रहेको छ । यस्ता संरचनाले साहित्य, संस्कृति, पर्यटन र अनुसन्धानलाई एउटै स्थानमा जोड्ने अवसर सिर्जना गर्नेछन् । यदि योजना गुणस्तरीय रूपमा सम्पन्न भयो भने चुँदी रम्घा नेपाली भाषा र साहित्यका विद्यार्थी, अनुसन्धानकर्ता तथा पर्यटकका लागि आकर्षणको केन्द्र बन्नेछ ।
तर राष्ट्रिय गौरवका आयोजना घोषणा हुँदैमा उपलब्धि हासिल हुँदैन । समयमै बजेट विनियोजन, पारदर्शी कार्यान्वयन, गुणस्तरीय निर्माण र प्रभावकारी व्यवस्थापन अनिवार्य हुन्छ । विगतमा धेरै आयोजना ढिलासुस्ती, लागत वृद्धि र कमजोर समन्वयका कारण अपेक्षित परिणाम दिन नसकेका उदाहरण प्रशस्त छन् । त्यसैले भानु साहित्य उद्यान पनि राजनीतिक परिवर्तन वा प्रशासनिक सुस्तताले प्रभावित हुनु हुँदैन । यो परियोजनालाई राष्ट्रिय सम्पत्तिका रूपमा हेरेर निरन्तरता दिनु सबै तहका सरकार र सम्बन्धित निकायको दायित्व हो । स्थानीय समुदायको सहभागिता पनि उत्तिकै आवश्यक छ । उद्यान निर्माणसँगै स्थानीय संस्कृति, लोककला, हस्तकला, होमस्टे, कृषि उत्पादन र पर्यटन व्यवसायलाई जोड्न सकिए यसले स्थानीय अर्थतन्त्रलाई नयाँ गति दिनेछ । साहित्यिक पर्यटनको सम्भावना नेपालमा अझै पर्याप्त रूपमा उपयोग हुन सकेको छैन। भानु साहित्य उद्यान त्यसको उत्कृष्ट उदाहरण बन्न सक्छ ।
भानुभक्तको सम्मान केवल सालिक निर्माण, माल्यार्पण वा औपचारिक समारोहमा सीमित हुनु हुँदैन । उनका आदर्शलाई व्यवहारमा उतार्नु नै सच्चा श्रद्धाञ्जलि हो । नेपाली भाषाको शुद्ध प्रयोग, साहित्य अध्ययनको प्रवद्र्धन, नयाँ पुस्तामा पठन संस्कृतिको विकास तथा मौलिक सिर्जनालाई प्रोत्साहन दिन सके मात्र भानुभक्तप्रतिको सम्मान सार्थक हुनेछ । भानु जयन्तीले हामीलाई आफ्नै भाषा, साहित्य र संस्कृतिप्रति गर्व गर्न सिकाउँछ । चुँदी रम्घामा निर्माणाधीन भानु साहित्य उद्यानले त्यो गौरवलाई विश्वसामु चिनाउने आधार तयार गर्दैछ । अब आवश्यकता छ– यो राष्ट्रिय अभियानलाई समयमै सम्पन्न गर्ने, यसको उद्देश्यलाई जीवन्त बनाउने र भानुभक्तको अमूल्य विरासतलाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने। यही नै आदिकवि भानुभक्त आचार्यप्रति सबैभन्दा ठूलो सम्मान हुनेछ ।










