ह्वाउ इज द वेदर इन्साइड यु साथी ?
डा. सुदन अधिकारी

‘मेरा खुसीहरु सा…ना हुन् । यति साना हुन् कि तिनीहरुलाई मबाट पर लैजान कसैले चाह समेत नराखोस् ‘
मलाई लामो समयसम्म उद्दरणहरु फगत शव्दका पुलिन्दा मात्र हुन् भन्ने लागिरह्यो ।
आजभोलि,
उद्दरणहरुले मथिंगल हल्लाइदिन्छ बेलाबखत । सोच्ने तरिका नै बदलिदिन्छ । समय, परिस्थिति संगै बुझाइमा पनि आएको परिवर्तनले होला सायद ।
जस्तोसुकै सोचाइ किन नहुन्,
एउटा “फरक दृष्टिकोणको दूरीमा” मात्र त टाढा हुनेरहेछ बुझाइहरु ।
बिहान ठिक लागेको कुरा स्वयंलाई बेलुका बेठिक लाग्न सक्छ । आजभन्दा केही पहिले आफुले कठोरतापुर्वक अडान लिएको बिचार अहिले फर्केर हेर्दा “त्यो बिचारलाइ मैले त्यसरी अडान किन लिएँ होला भन्ने लाग्न सक्छ ।”
स्वभाविक हो। हामी अहिले जे छौँ, त्यो क्षणपछि नै त्यही नरहन सक्छौं । हेर्दा संग्लो देखिएपनि हामी पनि असंख्य कणहरुले बनेका त हौं ।
बन्ने भत्किने प्रक्रिया स्वत भइराखेकै हुन्छ । र, यो स्वभाविक पनि त हो ।
बिगत बितेर गइसक्यो । भबिस्य आएकै छैन । जे छ यहि बर्तमानको त्यही क्षण नै त छ । हामीले यस्तै यस्तै आशयका कुरा कयौंपटक सुनिसकेका छौं पनि । यसरी अक्षरमा लेख्न त सजिलो छ । तर, ब्यवहारमा सबैभन्दा कठिन !
…
म पहिलोपल्ट विपास्यना ध्यान पाँच बर्ष पहिले गएको थिएँ । ध्यानबाट फर्केर आएपछि म मा के परिवर्तन आए भन्न त सक्दिन । तर, अनुभुतिजन्य स्तरमै केही परिवर्तन आएको महसुस गर्छु ।
पाँच बर्षपछि म पुनः विपास्यना ध्यान गएँ । नियमित अभ्यास नगरेको म यो पाली पनि नयाँ जस्तै भइसकेको थिएँ ।
पाँचौ दिनमा “अब सक्दिन कि” जस्तो लाग्यो । रातभर तारा हेर्दै रोएर रात कटाएँ अनि बाहाना बनाएर निस्किएँ ।
“हाम्रो कर्मको साँचो पुरस्कार प्राप्त वस्तुमा होइन, त्यसले हामीलाई बनाउने व्यक्तित्वमा निहित हुन्छ ।”
–विपास्यनाका दौरान नेपथ्यबाट यो आवाजले झस्काइरह्यो । मन एकाग्र पार्न अलि सफल हुन्छु कि भनेर गएको म झनै बिचलित भएँ जस्तो लाग्यो अनि फर्किएँ । त्यो समयलाई भरपुर सदुपयोग गर्नुको साटो मलाई प्रत्येक मिनेट नै कहिले बित्ला जस्तो हुनपुग्यो, अनि लाग्यो, यसरी तड्पिएर त के ध्यानमा बस्नु ।
ध्यानमा बस्दा मलाई लाग्यो– “ओहो, यो संसारमा सबैभन्दा कठिन कार्य भनेकै ध्यानमा बस्नु पो रहेछ ।”
“जिन्दगीको कठिन कुरा” भनेर मैले निकाल्ने निचोड मेरो समयक्रम अनुसार परिवर्तन हुन्छ। पढ्न बसेको एक घन्टामा मैले पाँच पटक मोबाइल चलाएछु आज ।
अहिले यो लेख्दैगर्दा मलाई लाग्दैछ– “पढ्नु पो सबैभन्दा कठिन कार्य रहेछ ।”
बाल्यअवस्थामा,
दशैमा घर गएको बेला दिदी र आमासंगै म खेतमा धान बोक्न गएँ । दिदी आमाले आफुले बोकेको भन्दा निकै हलुका भारी मलाइ बोकाइदिनु भो । मेरो बोकेर उठ्न लाग्दा यति गरुङ्गो लाग्यो कि म उठ्नै सकिन । अनि, यति ठूलो भारी मलाइ बोकाउने भन्दै रोईदिएँ ।
त्यो समय मलाई “भारी बोक्नु चाहिँ सबैभन्दा कठिन कार्य रहेछ” भन्ने लागेथो ।
के कठिन, के हलुका ।
आफुले गर्न नपर्ने कामहरु सधैं हलुका अनि आफूले गर्ने कामहरु सधैं कठिन लाग्ने रहेछ मलाई । सायद, हामीलाई ।
अर्थात्, यो त हामीले आफ्नो सहजता अनुसार बनाएको कार्य त रहेछ नि है । हेर्दा सामान्य नै छ तर यो वाक्य । यसले बोक्ने सत्य कति गहिरो रहेछ । अहिले लाग्छ, म मा एउटै कुराको कमि रहेछ !
धैर्यता ।
जुन बेला जे गर्न पर्ने त्यो चाहिँ नगर्ने अनि पछि पछुताउने ! पढ्ने समयमा खेल्न मन लाग्ने अनि खेल्ने समयमा पढ्न पाए हुने झैँ लाग्ने । स्वयंले गल्ती गरेर त्यसको नतिजा भोगेपछी मात्र पाठ सिक्ने । आफैंले गरेको गल्तीबाट मात्र पाठ सिक्न त यो छोटो जिन्दगीमा कहाँ सम्भव होला र है ।
…
“ध्यानमा अरु कोही बसिदियोस्, त्याग अरु कसैले गरिदियोस् तर बुद्धत्व चाहिँ तपाइँलाई प्राप्त होस्”– यो कहिल्यै सम्म्भव छैन । “बुद्धत्व प्राप्त गर्नु, दुःखबाट छुट्कारा पाउनु, हरेक प्रक्रियालाई समतामा रहेर निरक्षण गर्न सक्ने गुण बिकास गर्नु कसैले एकाधिकारयुक्त अधिकार होइन”– विपास्यनाको “आनापाना” दौरान नेपथ्यबाट गुरु श्याम गोइन्काले भनेको आवाज आश्रम छोड्नुअघी दर्जनौंपटक मनमा त आयो, तर, सकिन ।
विपास्यना बिचैमा छोडेपनी अहिले म नियमित रुपमा विपास्यना ध्यान अभ्यास गरिरहेको छु । अहिले पनि मलाई ध्यान बस्दा यहि नै सबैभन्दा कठिन कार्य अनि लगत्तै पढ्न बस्दा यहि नै सबैभन्दा कठिन कार्य रहेछ भन्ने नै लाग्छ ।
…
“तिमी नभएको भए, सायद, कहिल्यै अस्तित्वमा समेत नआउने कुरालाइ दृश्यमा लैजान प्रयत्न गरिराख”– आफ्नो जिन्दगीको सबैभन्दा मन पर्ने भनाइ सुनाउँदै अत्यात्ममा गहिरो रुचि राख्ने एक साथीले एकपटक सोधिन्–
“ह्वाउ इज द वेदर इन्साइड यु साथी !”
यो आशयको प्रश्न त आफुले पनि हजारौंपटक सोधियो होला । मलाई पनि हजारौंपटक सोधे होलान् । तर, यसरी कहिल्यै कसैले सोधेका थिएनन् ।
दिनहुँ ध्यान गर्ने, आफूलाई दैनिक आइपर्ने कुराहरूलाई समताको नजरले हेर्ने उनले अत्धात्मबारे जसरी मलाई बुझाउने प्रयत्न गरिन्– म अवाक् परेँ ।
यसरी पनि कुराहरू बुझ्न– बुझाउन सकिन्छ भनेर मलाई पहिलोपटक कसैले प्रभावित पार्यो । प्रत्येक पटक ध्यानमा बस्दा रोएरै टुंगिने गरेको आफ्नो यथार्थ बताउँँदा उनले भनिन्– “यो गिलासमा किन आधी मात्र पानी भयो” भनेर पनि कोइ रोइरहेको छ भने त्यो जायज हो । आँसु आएको बेला जबर्जस्ती रोक्नु पो गलत हो त, बग्न दिनु त स्वभाविक प्रक्रिया हो नि साथी ।
कहिलेकाहीँ हाम्रा आँखा आँसुले भिज्नैपर्छ ताकी संसारलाइ अझ सफा दृष्टिले हेर्न सकियोस् ।
…
अहिलेसम्म यो लेख पढेर यहाँसम्म पुग्नुभएको तपाइँलाई सोधम् ?
ह्वाउ इज द वेदर इन्साइड यु साथी?
भित्र पानी परिरहेको बेला जबर्जस्ति पानी छोपेर घाम भएजस्तो देखाउँँछु भनेर त सम्भव कहाँ होला र है ।
…
“सबै सिद्धान्तहरू जान, सबै सीपहरूमा निपुण बन। तर, जब कुनै मानव आत्मालाई स्पर्श गर्छौ, तब केवल अर्को मानव आत्मा बनेर पुग ।” स्वास्थ्य शिविरमा आँखा अगाडी दर्जनौं बिरामी थिए ।
“स्माइल, आउ बस। अब तिम्रो पालो” मैले आठ बर्षे बच्चालाई हात समाएर राखेँ ! जातले मगर उसले “यो कताको मान्छेले मेरो नाम कसरी था पायो” भनेर यसरी चकित परेर साथीहरुलाई हेरिरह्यो आश्चर्यमिश्रत भावमा !
केही मिनेट “म त जादुगर हो नि” भनेर गफ लगाएपछि अन्ततः नपत्याउने अवस्था आएपछि मैले सत्य ओकलेँ– “तिमीले समाइरहेको कागजमा तिम्रो नाम प्रष्ट देखिएको थियो” त्यहि देखेर भनेको ! नत्र त कसरी सक्नु नि !
आफूसंग आएका बिरामीलाई नाम सहित नाता लगाएर बोलाएको त कयौंपटक सुनिरहेकै छु ! तर, त्यसरी बोलाउनुको हार्दिकता कति सुन्दर हुन्छ भन्ने कुरा मैले एक सहकर्मी साथीको ब्यवहारबाट देखेँ ! आफूसङ आएका प्रत्येकको ओपिडी कार्डमा नाम हेर्दै नाता जोडेर बोलिसकेपछी “के भएर आउनु भएको नि” भनेर सोध्ने उहाँको शैलीलाई ओपिडीमा आएकाहरुलाइ बस्न पनि नपाइ “के भएर आउनुभएको” भनेर बढो हतार भएझैँ सोध्ने म स्वयंको शैली सम्झिँए !
पछि बिरामी हेरिसकेपछी “सधैं यसैगरी हेर्नुहुन्छ तपाइँ बिरामी” भनेर सोद्धा उहाँले माथिको भनाइ सुनाउँदै नाम सहित बोलाउँँदाको हार्दिकताबारे आफूले यी बर्षहरुमा भोगेको अनुभवबारे जसरी भन्नुभो– बढो सुन्दर लाग्यो !
उहाँको भनाइबाट सिकेरै हो– मैले रुबि भ्यालीका ती बिकट बिद्यालयका हजार बढी विद्यार्थीहरु प्रत्येकलाई नामले नै बोलाएँ ।
मलाई यसको प्रभाव सुन्दर लाग्यो । अहिले यो लेख्दै गर्दा लागिरहेछ– एक चिकित्सकमा समता मिसियो भने झनै कति सुन्दर हुनेरहेछ ।
(लेखक भिमाद प्राथमिक स्वास्थ्य केन्द्र तनहुँका, प्रमुख हुन्)










