‘भानु साहित्य उद्यान’को पूर्वाधार निर्माणका लागि २४ करोड बजेट विनियोजन

नेपाली भाषाका अनुवादक आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई अन्तरराष्ट्रिय प्राज्ञिक तथा साहित्यिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले अघि बढाइएको राष्ट्रिय गौरवको आयोजना ‘भानु साहित्य उद्यान’को पूर्वाधार निर्माणकार्य अगाडि बढेको छ ।

सरकारको प्राथमिकतामा रहेको यस बहुप्रतिक्षित आयोजनाअन्तर्गत भानु नगरपालिका–४ रम्घा डाँडाको करिब ५०० रोपनी क्षेत्रफलमा उद्यान निर्माण थालिएको छ । पहिलो चरणमा विनियोजित बजेटबाट निर्माण प्रक्रिया अघि बढाइएको छ । उद्यानभित्र अत्याधुनिक ‘भानु भवन’, आदिकविको पूर्णकदको सालिक, सप्तधाम, साहित्य ग्राम, प्रज्ञा भवन तथा प्रविधिमैत्री टिकट काउन्टरलगायत बहुआयामिक पूर्वाधार निर्माण गरिने गुरुयोजनाअनुसार निर्माणकार्य भइरहेको छ ।

निर्माणकार्यलाई व्यवस्थित, वातावरणमैत्री र द्रुत रूपमा अघि बढाउन सहरी विकास तथा भवन निर्माण विभागले प्रारम्भिक वातावरणीय अध्ययन (आइइई) प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुर्याएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।

“यो उद्यान भौतिक संरचनामा मात्र सीमित नरही विश्वभरका नेपाली भाषा–साहित्यका अनुसन्धानकर्ता र अनुरागीका लागि सांस्कृतिक तथा प्राज्ञिक केन्द्र बन्नेछ”, उहाँले भन्नुभयो, “आदिकविको जन्मभूमिलाई विश्वमाझ चिनाउने यो हाम्रो गौरवको परियोजना हो । यसले नेपाली भाषा र साहित्यलाई विश्वव्यापी रूपमा जोड्ने साझा प्राज्ञिक केन्द्रको रूप रहनेछ । त्यसका लागि नगरपालिकाले आवश्यक समन्वय र नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ ।”

भानु नगरपालिकाका उपप्रमुख उमा गोतामेले आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारले रु २४ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो । “सहरी विकास तथा भवन निर्माण विभागमार्फत राष्ट्रिय गौरवको यस आयोजनाका लागि आगामी आवमा रु २४ करोड विनियोजन गरिएको छ”, उहाँले भन्नुभयो, “यस बजेटबाट बहुवर्षीय योजनाअनुसार पूर्वाधार निर्माण अघि बढाइनेछ ।”

गुरुयोजनाअनुसार उद्यानभित्र सातै प्रदेशका प्रमुख धार्मिक तथा सांस्कृतिक सम्पदाका नमूना र नेपाली साहित्यका मुर्धन्य स्रष्टाका सालिकसमेत स्थापना गरिनेछ । आयोजना सम्पन्न भएपछि तनहुँको चुँदी रम्घा विश्वभरका नेपाली साहित्यप्रेमी र अनुसन्धानकर्ताको प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

भानु साहित्य उद्यान निर्माणको अवधारणा राष्ट्रपति रामचन्द्र पौडेलको विशेष पहल र परिकल्पनाअनुसार अघि बढाइएको हो । उहाँकै पहलमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरिएको यस उद्यानको गत वैशाख १४ गते राष्ट्रपति पौडेलबाट शिलान्यास गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker