लाइन्स क्लवद्वारा देवघाटलाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग
आशिक राना/देवघाट

तनहुँको देवघाट गाउँपालिकाको स्वास्थ शाखालाई लाइन्स क्लब इन्टरनेशनल ड्रीष्टिक ३२५बि२ नेपाल एरिया ३ ले एक थान आक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापालाई क्लवका नेपाल ड्रीष्टिक गभर्नर रामप्रसाद भट्टले सो अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका छन् ।
गाउँपालिका अध्यक्ष थापाले कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउन मेसिन उपलब्ध गराएकोमा क्लवलाई धन्यवाद व्यक्त गरे । अध्यक्ष थापाले देवघाट गाउँपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि प्रचारप्रसार, माईकिङ्ग र विभिन्न स्थानमा ब्यानर र देवघाट प्रवेश नाकाहरुमा कर्डाई गरी आफ्नो पालिका बासीलाई सुरक्षित राख्नको लागि निरन्तर अगाडी बढेको बताए ।
क्लवका गभर्नर भट्टले देवघाट एक पर्यटकीय, धार्मिकधामसंगै बृद्धहरु बढी बस्ने क्षेत्र भएकाले कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा सहजता ल्याउने उद्देश्यले चितवन र नवलपुर क्षेत्रका लाइन्स क्लबहरु तथा देश बिदेशमा रहनु हुने लाइन्सका परिवार सदस्यहरु बाट सहयोग जुटाइ सो अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको बताए ।
साथै लाइन्स क्लबले बुटवल, बिरगंज, हेटौंडा लगाएत अन्य ठाउँहरुमा स्वास्थ्य सामाग्री, स्वास्थ्य उपकरण, आइसोलेशन वार्ड, बिरामीहरुलाई खाना खुवाउने तथा रक्तदान कार्यक्रम समेत गरेको भट्टले जानकारी गराए ।
उक्त कार्यक्रममा देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरे, देवघाट गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रदीप बुढाथोकी, कोभिड संयोजक सिर्द्धार्थलाल चुके, बालगोपाल चुके, देवघाट लियो क्लब अफ चौतारीका अध्यक्ष आत्माराम पाण्डेले कोभिड संक्रमण नियन्त्रणका लागि सबै जिम्मेवार भएर लाग्नुपर्ने बताए ।










