नियमविपरीत जमिन उत्खनन् गर्दै क्रसर उद्योग, मुकदर्शक बने नियमक निकाय
पटक पटक नियमविपरितका गतिविधि भएपनि सरोकारवाला निकाय मौन बसेको स्थानीयको आरोप
- राजकुमार आले (दुलेगौंडा)
खैरेनीटार भीमाद मोटरमार्गमा दिनहुँ सयौं गाडी गुड्छन् । उक्त मार्ग भीमाद हुदैं नवलपुरसम्म जोडिएको छ । पहाडलाई तराइसंग सिधा जोड्ने सहायक मार्गको रुपमा यस सडकलाई लिइन्छ । खैरेनीटार भीमाद मोटरमार्ग अन्तर्गत शुक्लागण्डकी वडा नं. ७, दोभान नजिकै एक्लोवर र चिहानडाँडा भन्ने बस्ति छ । यी बस्ति शिवशिक्ति क्रसर उद्योग संचालन भएको स्थानको माथिल्लो ढिस्कोमा बसेको छ । माथिल्लो ढिस्कोमा मानवबस्ति र राजमार्ग छ । तर तल क्रसर उद्योगले अवैधानिक रुपमा जमिन उत्खनन् गरी सुरुङ जस्तो बनाएको छ । जसका कारण राजमार्ग र मानवबस्ति जोखिममा परेको छ ।
भीमाद नगरपालिका-६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले सञ्चालन गरेको उक्त क्रसर उद्योग अहिले उनका भतिजा धर्मराज जोशीले व्यवस्थापन पक्ष हेर्दै आएका छन् । जनप्रतिनिधिबाटै पटक पटक नियमविपरितका गतिविधि भइरहेको र सरोकारवाला निकाय पनि मौन रहेको स्थानीयको गुनासो छ ।
गत र्बष पनि उद्योगले सोही स्थानमा अवैधानिक रुपमा ढुङ्गा, गिटी बालुवाको उत्खनन् गरेको थियो । स्थानीको चर्को दबबापछि जिल्ला अनुगमन समितिले कारबाही स्वरुप जरिवाना गराएको थियो । आगामीदिन उक्त स्थानमा जथाभावी उत्खनन् गर्न रोक लगाउँदै अनुगमन समितिले चिन्ह समेत राखेको थियो । राजमार्गतर्फको भित्तालाई चेपेर खन्निएको हुँदा छेउको भाग ढिस्कोको रुपमा बाँकी थियो । जमिनको बीच भागबाट कुनासम्म खनिसकेको हुँदा छेउको ढिस्को खन्नलाई समस्या नरहेको भन्दै नगरपालिकाले नियम अनुसार राजश्व तिर्ने गरी प्राविधिक मार्फत नापजाँच गरी खन्न अनुमति दिएको थियो । तर उद्योगले त्यहि मौकामा नगरले तोकेको भन्दा बढी माल उत्खनन् गरेको बताइएको छ । शुक्रबार विहान करिब ३ बजेदेखि नै धमाधम नियमविपरीत माल झिकेको स्थानीयहरु बताउँछन् । प्राविधिकहरुले ३३ मिटर लम्बाई, ७ मिटर उचाई र ३.५ मिटर चौडाइमा चिन्ह लगाएर खन्नका लागि अनुमति दिइएको ढुङ्गा गिटी बालुवा उत्खनन् समितिका संयोजक कुल बहादुर भुजेलले बताए ।
नगरले नापेर दिएको भन्दा धेरै परिणाम र गहिरो खाल्डो खनेको अवस्था आफुले भेटेको वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले बताए । स्थानीयबाट खबर पाउन साथ आफु त्यहाँ पुग्दा एउटा स्काभेटर र दुइ वटा ट्रिपरले माल झिक्दै र पाँगो माटोले पुर्दै गरेको पनि आफुले प्रत्यक्ष देखेको उनको भनाई छ ।
उनले भने, ‘म विहान एक्लै आएँ, यहाँ आउँदा काम भइरहेको थियो । नापेर दिएको भन्दा धेरै गहिरो खाल्डो खनी माल झिक्ने र पाँगो माटोले खाल्डो पुर्ने गरेको रहेछ । दुइ वटा टि्रपरले ल्याएको माटो उता हाल्न दिइन, पाखामा खन्याउन भने । अहिले पनि त्यो माटो त्यहि छ । त्यसपछि स्काभेटर र टि्रपर भाग्यो । घट्नाबारे मेयर, उपमेयरदेखि प्रशासनसम्म सबैलाई जानकारी गराएको र आफु एक्लै भएकाले पनि नियन्त्रणमा लिन सकिन । प्रतिबन्ध लगाइएको क्षेत्रमा बर्षेनी अवैध रुपमा उत्खनन् गर्ने प्रवृत्ति उद्योगको दादागिरी भएको छ । गलत काम गर्नेलाई कडा कारबाही हुनुपर्छ ।’
स्थानीय वासीले भने उद्योगी, प्रशासन र जनप्रतिनिधीहरुकै मिलोमतोमा उत्खनन् भइरहेको आशंका गरेका छन् । एकातिर जनप्रतिनिधीले रोके जस्तो गर्ने र अर्कोतिर प्रहरी प्रशासनले हस्तक्षेप गरेजस्तो देखिने तर रातारात माल चोरी हुने गरेकाले सरोकारवालाहरुकै मिलोमतो भएको स्थानीय जीवन सागर बताउँछन् । उनले भने, ‘रातारात माल चोरी हुने घट्ना पटक पटक भइरहेको छ, हामीले त जनप्रतिनिधि र प्रशासनलाई गुहार्ने हो, अनि जनप्रतिनिधिले रोके झैं गर्ने, प्रहरीले हस्तक्षेप गरेजस्तो गर्ने तर रातरात माल चोरी हुने गरेको छ ।’
त्यस्तै अर्का स्थानीय युवा विमल केसीले गत वर्ष कारबाही गरी उत्खनन् गर्न रोकेको ठाउँमा फेरी नगरपालिकाले कुन हिसाबले अनुमति दिएको हो आफुहरुलाई जवाफ चाहिने बताए । उनले भने, ‘राजमार्ग र बस्ती नै जोखिममा पर्ने गरी उत्खनन् गर्दा पनि सम्बन्धित निकाय मौन छ । नगरपालिकले नै कारबाही गरी पहिला रोकेको ठाउँमा फेरि के हिसाबले उत्खनन् गर्न दिइयो – हामीलाई फिल्डमै जवाफ चाँहिन्छ । राजमार्ग र वस्ती नै जोखिममा परेको छ, तर स्थानीय सरकार मौन छ ।’
यता शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले विधिको पालना सबैले गर्नुपर्ने बताए । नीति, नियम र विधि भन्दा माथि गएर कसैले काम गर्छ भने उसलाई राज्यको अन्य सेवासुविधाबाट समेत बञ्चित गराउनु पर्ने उनको भनाइ छ । एक माना खाउ भनेर दिएको छ, नौ माना छुट्टै निकाल्न खोज्छ, यस्तो तरिकाले हुन्छ – नीति विधि सबैले मान्नुपर्छ, चाहे जनप्रतिनिधि होस् चाहे नागरिक होस् । उनले भने ‘कसैले आफुलाई सर्वोपरी ठान्छ भने जरिवाना मात्र गरेर हुँदैन राज्यले दिने सुविधाबाट समेत बञ्चित गराउनुपर्छ भन्ने मेरो मान्यता हो ।’
जमिन उत्खनन्को विषयमा अध्ययन गर्न प्राविधिक टोली खटाइ सकेको बताउँदै मेयर गुरुङले विधिभन्दा बाहिर छ भने कारबाहीको भागिदार हुनुपर्ने पर्छ भन्दै नगरपालिकाबाट हुने अनुगमनको पाटो कमजोर भएको स्वीकार्दै आजैदेखि अनुगमन कार्यलाई कडा बनाउन अनुगमन समितिलाई आग्रह समेत गरे ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले अवैध जमिन उत्खनन्का विषयमा आफुहरुलाई कुनै जानकारी नभएको बताए । उनले जानकारी हुनासाथ कारबाही गरिहाल्ने बताउँदै आफुले अनुमति दिएको ठाउँमा स्थानीय पालिकाले अनुगमन प्रभावकारी बनाउनु पर्ने उनको भनाई थियो । प्रमुख वाग्लेले यस विषयमा तत्काल बुझ्न लगाउने बताए ।
त्यस्तै उपमेयर सविता रसाइलीले बुधबार अनुगमनमा जाँदा नियमसंगत नै काम भइरहेकोमा शुक्रबार विहान उद्योगले नियमविपरीत काम गरेको पाइएको स्वीकारिन् । ‘अस्ति -बुधबार)जाँदा मापदण्ड अनुसार नै काम भइरहेको थियो’, उनले भनिन्, ‘शुक्रबार अन्धाधुन्दा काम भएछ, यसबारे जिल्लामा पनि खबर गरेका छौं, दोहोरो छलफलबाट कारबाहीको प्रक्रिया अगाडी बढाउँछौँ ।’
अनुगमन समिति संयोजक समेत रहेकी उपप्रमुख रसाइलीलाई हामीले अनुगमन प्रभावकारी हुन नसकेको गुनासो छ नि भन्ने प्रश्न गर्दा उनले भनिन्, ‘निर्वाचित ६५ जना जनप्रतिनिधिबाट नगरका ७० हजार नागरिकले गर्ने कमिकमजोरीको निग्रानी गर्न सक्ने/नसक्ने सबैले बुझिदिनु पर्छ । अनुगमन समिति भन्दा ठुलो र शक्तिशाली अनुगमन टोली स्वयं स्थानीय नागरिक भएकाले आफ्नो जिम्मेवारी र दायित्व बहन गरिदिनुपर्छ ।’
यता, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले तत्काललाई काम रोकिएको तर प्राविधिक भने आइतबारमात्रै पठाइने बताए । अहिलेलाई काम गर्न रोकेका छौं । उनले भने ‘शुक्रबार जानलाई घाटको सम्झौता गर्न धेरै थियो । राजश्व प्रमुख जान भ्याउनु भएन, एकजना प्राविधिक मात्र जानुभन्दा समिति नै गएर नापजाँच गर्ने कुरा भयो, आइतबार जान्छौ, हामीले दिएको भन्दा धेरै उत्खनन् भएको रहेछ भने कारबाही गर्र्छौ ।’
शुक्लागण्डकीमा क्रसर उद्योगहरुको दादागिरी पटक पटक प्रदर्शन भइरहेको छ । मापदण्ड तथा बीना इजाजत क्रसर उद्योग संचालन गर्ने, जमिन उत्खनन् गर्ने जस्ता गतिविधि भइरहे पनि प्रहरी प्रशासन लगायत सम्बन्धित सरोकारवाला निकायहरु मुकदर्शक बनेको स्थानीय वासिन्दा बताउँछन् । केही गरी कारबाही भइहाले पनि उत्खनन् गरेको बस्तुभन्दा कम रकम जरिवाना लगाउने गरिदा झनै उत्खनन्जन्य घट्नाहरु पटक पटक दोहोरी रहेको पाइन्छ ।










