शुक्लागण्डकीका प्रमुख प्रशासकीय अधिकृत नै खट्टिए बजार सरसफाईमा

राजकुमार आले (दुलेगौंडा)

सोमबार, दिनको करिब २ बजे । चर्को घाम एकनाशले लागेको थियो । पृथ्वीराजमार्गमा सवारी साधनको ओहोरदोहोर बाक्लो थियो । तर दुलेगौँडा बजारमा मानिसहरु पातलो संख्यामा देखिन्थे। सदाका दिनभन्दा सोमबार माहोल शान्त थियो । प्रत्येक सोमबार शुक्लागण्डकीका उद्योगी व्यवसायीहरुले पसल बन्द गर्ने गर्छन् । त्यसैको प्रभावले संधै व्यस्त हुने बजार सुनसान जस्तै थियो ।

तर, बजारको बीच, राजमार्गको छेवैमा शुक्लागण्डकी नगरपालिकाको जेसिबी चलिरहेको थियो । घर निर्माण गरेपछि राजमार्ग छेउ थुपारेर राखेको ढुङ्गा, माटो, बालुवाको कचेरोको थुप्रोलाई जेसिबीले सम्याउँदै थियो । जेसिबीको पछिपछि हातमा बेल्चा लिएर सम्याउँदै थिए शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, वडा नं. ४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठ र केही कर्मचारीहरु । उनीहरु सरसफाईका कर्मचारीहरु सरह नै समान रुपले सरसफाई कार्यमा निरन्तर खटिएका देखिन्थे ।

दैनिक व्यस्त रहने दुलेगौँडा बजारको छेउछाउमा फोहोरको थुप्रो थुप्रिन थालेपछि वडावासीलाई संस्कार सिकाउन नगरपालिका आफैले सरसफाई कार्य शुरु गरेको हो । घरको अगाडी फोहोरको थुप्रो हुँदा पनि घरधनी, व्यवसायी र टोलबासीहरुले सरसफाई नगरेपछि पहिलो चरणमा आफुहरु नै सरसफाईमा जुटेको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए । करोडौ रुपैयाँ खर्चिएर घर बनाउने तर घर बनाउँदा निस्केको फोहोर सडक छेउ थुपारेर राख्ने प्रवृत्ति देखिएकाले नगरवासीलाई यस विषयमा सचेत गराउन सरसरफाई गरिएको अधिकृत सुवेदीको भनाई छ ।

‘करोडौ रुपैयाँ खर्चिएर घर बनाउने, फोहोर सडक किनारमा फाल्नेलाई कारवाही गरिन्छ !’

उनले भने ‘घर करोडको बनाउने, तर दुइ हजार खर्च गरेर फोहोर फाल्नुपर्ने ठाउँमा नफाल्दा नगर फोहोर र दुर्गन्धित भयो । अहिले हामी आफैले सरसफाई गरेका छौँ, यसपछि पनि कसैले घर निर्माण गरेर फोहोरलाई अहिले झैँ बाहिर ल्याएर फाल्ने गर्छ भने कारबाही गर्ने योजना छ ।’ उनका अनुसार आफुले देखावटी रुपले नभई काम गर्ने प्रयोजनले नै सरसफाई कार्यमा सहभागी भएको बताए । राजमार्ग छेउछाउको सरसफाईका लागि नगरले छुट्टै बजेट नछुट्याएको उनको तर्क छ । अहिले उपलब्ध नगरपालिकाकै श्रोत र साधनहरु डोजर, जनशक्ति परिचालन गरेर सरसफाई गरिएको हो, थप अतिरिक्त खर्च होइन । उनले भने, ‘हामीले भएकै जनशक्तिलाई प्रयोग गरेको हौ ।’

समय तालिका मिलाएर फोहोर संकलन गाडी बजारमा पठाएपनि बजार एकदमै फोहोर भएकाले आफुहरु नै सरसफाईमा सक्रिय भएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए । उनले वडाको अनुरोधमा नगरपालिकाबाट जेसिबी र कर्मचारी उपलब्ध गराएको र बजार स्वच्छ हराभरा चाहानेहरु मिलेर सरसफाई गरिएको बताए ।

‘बजार फोहोर छ, घर अगाडी पार्किङको पनि व्यवस्था छैन, अब हामीले यो फोहोर उठाएर, सफा गरेर पार्किङको पनि व्यवस्था गर्ने सोचले यो कार्य गरेका हौ’, वडाध्यक्ष श्रेष्ठले भने, ‘बजार सरसफाई राख्ने जिम्मेवारी नगरपालिकाको मात्रै हो भनेर सोच्नु हुँदैन । आफुले फोहोर थुपारेर राख्ने, अनि नगरले फाल्छ, वा नगरपालिकाले फोहोर व्यवस्थापनको काम गरेन भन्नुभन्दा व्यक्ति आफैले पनि फोहोरको व्यवस्थापनमा जुटे राम्रो हुने थियो । आफु बसेको ठाउँ राम्रो र सफा राख्न टोल तथा वडावासीको पनि त कर्तव्य हो नि ।’

शुक्लागण्डकीले फोहोर व्यवस्थापनका लागि हालसम्म करिब डेढ करोड बजेट सकिसकेको छ । सरसफाई केन्द्र निर्माण, केन्द्र जाने बाटो, फोहोर संकलन गाडी खरिद गर्दा उक्त रकम खर्च भएको बताइएको छ । तर पनि फोहोर सेती नदीको किनार, खुल्ला चौर र खोल्सा खोल्सीमा फाल्दै आएको छ । पटक पटक फोहोर व्यवस्थापन हुन नसकेको कुरा उठ्दा नगरपालिकाका प्रमुख किसान गुरुङ, उपप्रमुख सविता रसाइली, वातावरण शाखा प्रमुख राजेन्द्र सोती लगायत जिम्मेवार व्यक्तिले छिट्टै काम कारबाही अगाडी बढाउने प्रतिवद्धता जनाउने गरेका छन् । तर, काम भने शुरु हुनै सकेको छैन ।

कर्मचारी तथा जनप्रतिनिधिहरु बेला मौकामा हातमा पञ्जा लगाएर, बेल्चा लिदै र फोहोर टिप्दै हिड्नुलाई स्थानीय केही नगरवासीले नाटकको रुपमा लिन थालेका छन् । जनप्रतिनिधिहरुलाई फोहोर व्यवस्थापनको दीर्घकालिन उपाय खोज्न नगरवासीको आग्रह छ । सरसफाई केन्द्र अहिलेसम्म किन संचालनमा आउन नसकेको हो ? नगरवासीले जिज्ञासा राख्दै आएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker