भदौ २३-२४ को घटनाबारे ओलीको स्पष्टीकरण : ‘गोली चलाउने आदेश मैले दिएको थिइनँ’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते भएको हिंसात्मक घटनाबारे फैलाइएको गलत प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै आफूले कहिल्यै पनि आफ्नै नागरिकमाथि गोली चलाउन आदेश नदिएको स्पष्ट पारेका छन् ।
ओलीले बुधबार फेसबुकमा जारी गरेको वक्तव्यमा संविधानले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउने अधिकार नदिएको उल्लेख गर्दै, ‘त्यस्तो आदेश मैले न त दिएको छु, न दिने सोच नै गर्न सक्छु,’ भनेका छन् । उक्त घटनापछि सरकारले तत्काल पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरेको जानकारी दिँदै ओलीले ज्यान गुमाएका १९ जनाप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै उनले भनले लेखेका छन्, ‘त्यो पीडा आजसम्म पनि मसँगै छ ।’
ओलीले घुसपैठको सम्भावनाका कारण सरकारले सुरुमा माइतीघर क्षेत्रमा प्रदर्शन रोक्ने निर्णय गरेको, तर शान्तिपूर्ण सभाका लागि अनुमति मागिएपछि प्रशासनले सहजै अनुमति दिएको भनेका छन् । माइतीघरमा सुरु भएको जेन–जी युवाहरूको प्रदर्शन शान्तिपूर्ण रूपमा चलेको र त्यहाँ न गोली चलेको, न लाठीचार्ज भएको ओलीको दाबी छ ।

तर करिब दिउँसो १२ बजेतिर केही घुसपैठकारी तत्वहरूले प्रदर्शनकारी युवाहरूलाई निषेधित क्षेत्रतर्फ उक्साएको र योजनाबद्ध रूपमा बालबालिका तथा स्कुल पोसाकमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद् भवनतर्फ लैजान खोजिएको ओलीको भनाइ छ । संसद् भवन अगाडि आगजनीको प्रयास र विष्फोटक पदार्थ प्रयोग भएपछि स्थिति ‘आन्दोलन’ नभई ‘राज्यविरुद्धको आक्रमण’ को रूपमा परिणत भएको उनले उल्लेख गरेका छन् ।
ओलीले संसद् भवनभित्र सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि कानुनअनुसार सुरक्षाकर्मीले बल प्रयोग गर्न बाध्य हुनु परेको भनेका छन् । ‘यदि सुरक्षाकर्मीले हतियार खोसिन दिएका भए वा संसद् भवन जलेको भए स्थिति झनै भयावह हुने थियो,’ उनले प्रश्न गरेका छन् ।
उनले भदौ २४ गते आफ्नो राजीनामापछि सिंहदरबार, राष्ट्रपति भवन र सर्वोच्च अदालतलगायतका संरचनामा भएको तोडफोड र आगजनीले अराजक समूहहरूको उद्देश्य स्पष्ट भएको पनि बताएका छन् ।
एमाले अध्यक्ष ओलीले सुरक्षाकर्मीहरूले सरकारको आदेशमा होइन, कानुनको शपथअनुसार काम गर्ने स्पष्ट पार्दै, माइतीघरको शान्तिपूर्ण प्रदर्शनमा कुनै बल प्रयोग नभएको र बानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म गोली नचलेको दोहोर्याएका छन् ।










