व्यास नगरपालिकाको ३२ प्रतिशत योजना सम्पन्न, छ किमी सडक कालोपत्र
मानुङकोटमा पूर्वाधार विकासका लागि २० लाख बजेट
- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको ब्यास नगरपालिकाले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ३२ प्रतिशत योजना सम्पन्न गरेको छ । सो अवधिमा उपभोक्ता समितिमार्फत् सञ्चालन गरिएका योजनामध्ये २८२ योजना सम्झौता भएको थियो । नगरपालिकाले चालू आर्थिक वर्षमा ८७० योजना उपभोक्ता समितिमार्फ् सञ्चालन गर्दैछ । कूल योजनामध्ये ६१ प्रतिशत योजनाको सम्झौता भइसकेको शहरी पूर्वाधार विकास उपशाखा प्रमुख डा राजु पौडेलले जानकारी दिए ।
ब्यास नगरपालिका-१ मा रहेको ६० योजनामध्ये ६८ प्रतिशत सम्झौता र ३६ प्रतिशत सम्पन्न भइसकेको नगरपालिकाले जनाएको छ । यसैगरी नगरपालिकाका अनुसार, ब्यास नगरपालिका-२ का २७ योजनामध्ये ७० प्रतिशत सम्झौता र ४८ प्रतिशत सम्पन्न, वडा नं ३ का ४५ योजनामध्ये ५५ प्रतिशत सम्झौता र २६ प्रतिशत सम्पन्न, वडा नं. ४ का ३८ योजनामध्ये ६८ प्रतिशत सम्झौता र ४७ प्रतिशत सम्पन्न, वडा नं. ५ का ६२ योजनामध्ये ५८ प्रतिशत सम्झौता र २२ प्रतिशत सम्पन्न, वडा नं ६ का ६८ योजनामध्ये ६२ प्रतिशत सम्झौता र २१ प्रतिशत सम्पन्न, वडा नं ७ का ६० योजनामध्ये ७६ प्रतिशत सम्झौता र ४० प्रतिशत सम्पन्न, वडा नं. ८ का ८१ योजनामध्ये ५० प्रतिशत सम्झौता र ४२ प्रतिशत सम्पन्न तथा वडा नं ९ का ८८ योजनामध्ये ६१ प्रतिशत सम्झौता र ३१ प्रतिशत सम्पन्न भएको छ ।
त्यस्तै नगरपालिका-१० का ७८ योजनामध्ये ७० प्रतिशत सम्झौता र ४२ प्रतिशत सम्पन्न, वडा नं ११ का ७४ योजनामध्ये ६६ प्रतिशत सम्झौता र ३२ प्रतिशत सम्पन्न, वडा नं १२ का ६६ योजनामध्ये ३७ प्रतिशत सम्झौता र १६ प्रतिशत सम्पन्न, वडा नं १३ का ५९ योजनामध्ये ७० प्रतिशत सम्झौता र ४८ प्रतिशत सम्पन्न, वडा नं १४ का ५० योजनामध्ये ६८ प्रतिशत सम्झौता र ३६ प्रतिशत सम्पन्न भएको छ ।
त्यस्तै ठेक्कामार्फत् सञ्चालन हुने योजनामध्ये १३ वटा सम्पन्न भएका छन् भने ३१ वटा सम्झौता भएर कार्यान्वयनको चरणमा छ । आर्थिक वर्ष ०७६/७७ का २५ र चालू आर्थिक वर्षका ३८ योजना यसै वर्ष सञ्चालन गरिएको छ । कोभिडका कारण गत वर्ष सम्पन्न हुन नसकेका योजनालाई नगरपालिकाले यस वर्ष स्थानान्तरण गरेको थियो ।
६ किमि सडक कालोपत्र
सो अवधिमा नगर क्षेत्रभित्र साढे पाँच किमि सडक कालोपत्र गरिएको छ भने साढे चार किमि नाला निर्माण सम्पन्न भएको छ । दमौली केशवटार मार्ग अन्तर्गत केशवटार बजारमा ६६७ मिटर सडक कालोपत्र र ६५० मिटर नाला, दमौली केशवटार मार्ग अर्न्तर्गत पोखरी भञ्ज्याङ बजारमा ८०१ मिटर सडक कालोपत्र र ६९१ मिटर नाला, क्यामिन मार्गमा ८६५ मिटर सडक कालोपत्र र ४२५ मिटर नाला, कलेस्ती मार्गमा ११८० मिटर सडक कालोपत्र र ११६० मिटर नाला, वडा कार्यालय पहुँच मार्ग ब्यास १० मा ७९० मिटर सडक कालोपत्र र ४८२ मिटर नाला निर्माण सम्पन्न भएको छ ।
त्यस्तै छिर्कन वडा कार्यालय मार्गमा ४०५ मिटर सडक कालोपत्र र ४१६ मिटर नाला, कमलबारी वडा कार्यालय मार्गमा ५५२ मिटर सडक कालोपत्र र ५४४ मिटर नाला, माहेन्द्री मार्गमा ३०० मिटर सडक कालोपत्र र २९७ मिटर नाला र तालघरे दुम्सीचौर मार्गमा ३८८ मिटर सडक कालोपत्र र २४६ मिटर नाला निर्माण सम्पन्न भएको छ ।
शहरी पूर्वाधार विकास उपशाखा अन्तर्गत मादी उपत्यका एकीकृत नदी विकास आयोजनाको अध्ययनका लागि गरिएको बोलपत्र आहृवान पश्चात् परामर्शदाता कम्पनीसँग सम्झौता गरी काम शुरु गरिएको डा पौडेलले जानकारी दिनुभयो । संघीय सरकारको विशेष अनुदानमार्फत् स्वीकृत रु तीन करोडमा देवीडाँडा चिसापानी लिफि्टङ खानेपानी आयोजना रु दुइ करोडको कमेरेपानी साँधखोला खानेपानी आयोजनाको बोलपत्र आहृवान गरिएको छ । “योजना संख्या धेरै, ठोस् काम देखिने ठूला योजना बनाउनुपर्ने, नगरसभामा आएका योजना कार्यान्वयन तर्फ भन्दा बोर्ड बैठकमार्फत् आउने योजनाको चाप बढी भएका कारण समस्या भएको छ,” डा पौडेलले भन्नुभयो, “स-साना योजना पनि सम्झौता गर्ने तर काम शुरु नगर्ने प्रवृत्ति उस्तै छ ।”
२५३ नक्शा पास
नगरपालिकाले चालू आर्थिक वर्षको पहिलो छ महिनामा २५३ वटा नक्शा पास भएको छ । भूमि व्यवस्थापन तथा भवन इजाजत उपशाखाले यस अवधिमा १८५ प्रथम चरणको अस्थायी नक्शा पास र २२३ दोस्रो चरणको स्थायी नक्शा पास गरेको छ । अन्तिम चरणको नक्शा पास संख्या २८५ छ । त्यस्तै २५ घर कायम दर्ता, २२ घर कायम सम्पन्न, १८ साधारण स्वीकृति, ७० नामसारी, ६ सम्पत्ति मूल्याङ्कन र ९२ नक्शा नवीकरण भएका छन् ।
पूर्वाधार विकासमा रु २० लाख
ब्यास नगरपालिका-५ मानुङकोटको पूर्वाधार विकासका लागि गण्डकी प्रदेश सरकारले रु २० लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मानुङकोटमा पूर्वाधार निर्माणका लागि तत्कालका लागि रु २० लाख बजेट विनियोजन गरिएको बताए । केही समय अगाडि मानुङकोटको भ्रमण गर्दै मन्त्री गुरुङले मानुङकोटलाई प्रदेश सरकारको उत्कृष्ट गन्तव्यको रुपमा सूचीकृत गर्दै बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले मानुङकोटको विकासका लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै मानुङकोटको गुरुयोजना बनेपछि आगामी आर्थिक वर्षको बजेट भाषणबाटै मानुङको लागि थप बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री गुरुङले भने, ‘अहिले विनियोजन भएको बजेटमा के गर्न सकिन्छ, त्यसतर्फ नगरपालिका र वडाले ध्यान दिनुपर्छ, आगामी वर्ष पनि बजेट विनियोजन गर्न सकारात्मक छु ।’ ब्यास नगरपालिकाले पनि केही समय अगाडि कार्यपालिकाको बैठकबाट मानुङमा पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारसँग साझेदारी गर्ने निर्णय गर्दै सहयोगका अनुरोध गरिएको थियो । ब्यास नगरपालिकाका प्रवक्ता एवं ब्यास नगरपालिका-५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले मानुङको विकासका लागि प्रदेश सरकारबाट चासो व्यक्त भएकामा खुशी व्यक्त गरे ।
केही समय अगाडि हजारौं पर्यटक मानुङकोट पुग्ने गरेकामा उक्त संख्या घटेपनि मानुङकोटमा अझै पर्यटकको आवतजावत भइरहेको छ । सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङमा देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । मानुङकोटबाट पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । मानहुँकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को डयाम निर्माणस्थल एवं मनोरम दृश्य देख्न सकिन्छ । यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँ प्रष्ट देख्न सकिन्छ । रासस










