पृथ्वीराजमार्ग विस्तार योजना : सडक मापदण्डमा पर्ने घर टहरा नहटाउनेलाई बन्दीपुरले सुविधाबाट बन्चित गर्ने

तनहुँ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक खण्डलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । आँवुखैरेनी–जामुने खण्डलाई पूर्वीखण्ड र जामुने–पोखरा खण्डलाई पश्चिम खण्डमा विभाजन गरी सडक विस्तारको कामलाई तीव्रता दिइरहेको छ ।
सडक विस्तारको कामलाई तीब्रता दिइएपनि राजमार्गको अन्तर्गत गर्ने बजार क्षेत्रमा सडकसिमा अतिक्रमण गरी घर तथा भौतिक पूर्वधार बनाई बसेका केही व्यक्तिले मुआवज बुझेपनि घर टहरा नहटाइदिंदा सडक विस्तारमा समस्या आइरहेको छ ।
डुम्रे बजार क्षेत्रमा सडक मापदण्डमा पर्ने केही व्यक्तिले घर टहरा नहटापछि बन्दीपुर गाउँपालिकाले सेवा सुविधाबाट बन्चित गराउने निर्णय गरेको छ। गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले विहीबार एक विज्ञप्ति जारी गर्दै सडक मापदण्डमा पर्ने घर टहरा स्वत स्फुर्त रुपमा नहटाएमा यस्ता घर धनीहरुलाई वडा कार्यालय, गाउँपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा सुविधा उपलब्ध नगराईनुका साथै कानुन बमोजिम कारवाही गरिने चेतावनी दिएका छन् ।
बन्दीपुर गाउँपालिका अन्तर्गत पृथ्वी राजमार्गको सडक मापदण्ड भित्र पर्ने घर टहरा हटाउने सम्बन्धी गाउँपालिका कार्यालयले यस अघि पनि पटक पटक सूचना प्रकाशित गर्दा पनि हालसम्म सबै घरटहरा नभत्काएको साथै हाल घर अगाडी सडक मापदण्डमा पर्ने गरी ट्रष्ट निर्माण समेत गरेको पाइएकाले सडक मापदण्ड भित्र निर्माण भएका घर टहरा र ट्रष्ट तत्काल हटाउन गाउँपालिकाका अध्यक्ष थापाले अनुरोध गरेका छन् ।
सडक मापदण्डमा परेका डुम्रे बजारका केही घर टहरा अझैसम्म पनि नहटाउँदा मुग्लिन–पोखरा सडक विस्तारमा अवरोध भएको भन्दै सडक विस्तार आयोजनाले ति घर टहरा हटाउने कार्यमा सहयोग गर्न गाउँपालिकालाई पटक पटक अनुरोध गर्दै आएको छ ।
यस्तै, राजमार्ग अन्तर्गत दमौली बजार क्षेत्रमा पनि केही व्यक्तिले मुआब्जा नबुझेको र मुआब्जा बुझेकाले पनि सडक क्षेत्राधिकार भित्रका घर टहरा हटाउन आनाकानी गर्दै आएकोले कामलाई अगाडि बढाउन समस्या पर्दै आएको योजनाले जनाएको छ ।
विद्युत प्रसारण लाइन विस्तारको काम तीव्र
नेपाल विद्युत् प्राधिकरणले पृथ्वी राजमार्गको क्षेत्रमा प्रसारण लाइन सुधारको कामलाई तीव्रता दिएको छ । राजमार्ग विस्तारमा विद्युतपोल र लाइन बाधक बन्दै आएपछि प्राधिकरणले प्रसारण लाइन विस्तारको कामलाई तीव्रता दिएको हो ।
सडक विस्तारको मुख्य बाधकका रूपमा रहेको बिद्युतका खम्बा सार्ने कामले गति लिएपछि सडक विस्तारमा सहज भएको पृथ्वी राजमार्ग विस्तार पश्चिम खण्डका आयोजना प्रमुख प्रमुख इञ्जिनियर राजेश पौडेलले बताए ।
सडक अन्तर्गतका संरचना हटाउने क्रममा तनहुँ वितरण केन्द्रले आफ्नो क्षेत्रका विद्युतका पोल धमाधम हटाएर नयाँ राख्ने काम गरिरहेको आयोजना प्रमुख पौडेलले बताए । पहिला सुस्तगतिमा खम्बा स्थानान्तरण हुँदा प्रभावित भएकामा हाल तीव्र रूपमा काम हुँदा तनहुँ क्षेत्रमा काम गर्न सहज भएको उनले बताए ।
पुरानो खम्बा हटाएर नयाँ संरचना बनाउने काम हालसम्म ६५ प्रतिशत सकिएको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख इञ्जिनियर विजयराज रेग्मीले जानकारी दिए । सदमुकाम दमौलीमा सडक सीमाभित्रका संरचना हटाउन प्रभावितका कारण ढिलाइ भएको उनले बताए ।
उनका अनुसार नयाँ खम्बा राख्ने तथा प्रसारण लाइन सुधारअन्तर्गत ९६ करोड रुपैयाँ लागतमा खम्बा सार्ने काम भइरहेको छ । ५२ करोड रुपैयाँ सडक विस्तार आयोजनाको र बाँकी रकम प्राधिकरणको लागतमा काम भइरहेको र पहिला ११ मिटर अग्लो खम्बा भएकामा हाल १३ मिटर अग्लो खम्बा राखिएको रेग्मीले बताए ।
तनहुँ वितरणअन्तर्गतको दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । आँबुखैरेनीदेखि गुणादीसम्म झन्कार जेभीले र थर्पुदेखि मनहरीसम्म विडारी कन्स्ट्रक्सनले विद्युत प्रशारण लाइनको काम गरिहेको छ । एसियाली विकास बैंकको आर्थिक सहयोगमा मुग्लिन–पोखरा सडक सुधार तथा विस्तार योजना अन्तर्गत नेपालका दुई ठूला सहर–काठमाडौँ र पोखरा जोड्ने मुख्य सडक पृथ्वी राजमार्गलाई चारलेनमा विस्तार गर्ने काम भइरहेको छ ।
वि.सं. २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारीसाधनको चाप बढेसँगै एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा र पश्चिम खण्डको सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर गरी ५० हुनेछ भने सहरी क्षेत्रका बाक्लो बस्ती भएका स्थानमा दुईतर्फी २३÷२३ मिटर गरी ४६ मिटर चौडाइको सडक बन्नेछ । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४६ मिटरको सडक निर्माण गरिदैछ ।
दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ । सडकलाई विस्तार गरी सहरी क्षेत्रमा सर्भिसलेनसहित चार लेन र अन्यत्र चार लेनमा विस्तार गरिने सम्झौतामा उल्लेख छ ।










