मुग्लिन-पोखरा सडकको मध्यखण्ड विस्तारको ठेक्का चिनियाँ कम्पनीले पाउँदै
मुग्लिन-पोखरा सडकखण्ड विस्तार आयोजना अन्तरगतको मध्यखण्डको ठेक्का चिनियाँ कम्पनीले पाउने भएको छ । आँबुखैरहनीदेखि दमौलीसम्मको करिब ४१ किलोमिटर सडक विस्तारको जिम्मा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाउने भएको हो ।
ठेक्का सम्झौताका लागि सडक विभाग अन्तरगतको आयोजना निर्देशनालय -एडीबी)ले ठेक्का स्वीकृति गर्ने आसयको सूचना प्रकासित गरिसकेको छ । अन्तिम चरणमा प्रतिस्पर्धामा रहेका १० कम्पनीमध्येबाट कम रकम कबोल गरेको आधारमा यो कम्पनी छनोटमा परेको उपआयोजना निर्देशक राकेश महर्जनले जानकारी दिए ।
दमौली-पोखरामा खण्डको ठेक्का समझौता गर्न छनोट भएको कम्पनीको विवरण एसियाली विकास बैंक (एडीबी)मा पठाइएपनि अझै ‘नो अब्जेक्सन’ प्राप्त नभएको आयोजनाले जनाएको छ। मुग्लिन आँबुखैरहनी खण्डको भने अहिले पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनेको काम चलिरहेको छ ।
यो आयोजना अन्तरगत मुग्लिनबाट पोखरासम्म पुग्न ४ लेनको सडक बन्ने छ । एसियाली विकास बैंकले यो सडकखण्ड विस्तारका लागि करिब २२ अर्ब ऋण दिएको छ । करिब ८० किलोमिटरको यो सडकलाई तीन प्याकेजमा विभाजन गरेर ठेक्का लगाउने तयारी छ ।
यो टेन्डरबाट छानिने कम्पनीले सडकसीमाभित्रको संरचना हटाउने, रुख कटान गर्ने, पोल सार्नेसहित सडक विस्तार गर्नेसम्मका काम जिम्मा पाउनेछ । यो खण्ड विस्तार गर्दा करिब ६ हजार रुख काट्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले देखाएको छ ।
बुटवल-नारायणगढ सडक खण्डमा पनि रुख काट्ने र पोल सार्ने लगायतका पूर्वतयारीका काम ठेक्काभित्रै समेट्दा सम्झौता भएको ९ महिनासम्म काम सुरु हुन सकेको छैन ।
आँबुखैरेनीदेखि मुग्लिनसम्मको करिब ८ किलोमिटरको खण्डको भने डिटेल इन्जिनियरिङ रिपोर्ट तयार गरिँदैछ, करिब ६ महिनामा यो काम सकिने अनुमान विभागको छ ।
यो सडक बन्ने क्षेत्रको भौगोलिक, वातावरणीय र पर्यावरणीय अवस्थाअनुसार सडकको डिजाइन गरिएको छ । करिब ३ वर्षअघि नै यो परियोजनाको विस्तृत डिजाइन भएको थियो ।
यस्तो बन्नेछ सडक
विस्तार भएपछि ‘मेडियन’ को दुईतर्फ ७-७ मिटरको सडक बन्नेछ । एउटा लेन ३.५ मिटरको हुनेछ ।
‘मिडियन’ मा गि्रनरी बेल्ट तयार गरेर रुख विरुवा र फूल रोपिनेछ । दयाँबायाँ नै साँढे २ मिटरको सोल्जर -अतिरिक्त पिच) गरिनेछ । यसले मुख्य लेनबाट बाहिरिनुपर्दा पनि सवारीलाई दुर्घटनाबाट बचाउँछ भने मुख्य लेनलाई पनि बलियो बनाइराख्छ ।
सडकलाई आधुनिक प्रविधिबाट निर्माण गर्ने योजना बनेको छ । सरकारले विश्व बैंकको सहयोगमा मुग्लिन-नारायणगढ सडक दुई लेनमा विस्तार गरेपछि विभागले एडीबीको सहयोगमा नै बुटवल-नारायणगढ सडकखण्ड पनि ४ लनेको बनाउन ठेक्का लगाइसकेको छ । मुख्य राजमार्ग फराकिलो पार्ने योजना अब पोखरासम्म पुग्न लागेको हो ।
यो सडकको आँबुखैरहनी क्षेत्रमा पर्ने मस्र्याङ्दी जलविद्युत आयोजना क्षेत्रको सडक भने नयाँ ढंगले विस्तार गरिँदैछ । पर्यावरणीय हिसाबले यो क्षेत्र संवेदनशील रहेको ठहर गर्दै आयोजनाको टलरेस सुरुङभन्दा मुनि पुल बनाएर आयोजना छल्ने गरी पारिपट्टबिाट अर्को दुई लेनको सडक बनाउन लागिएको छ । आयोजनाभन्दा पारिबाट बन्ने सडकका लागि अहिले डिटेल इन्जिनियरिङ भइरहेको निर्देशनालयले जनाएको छ ।
वारिपट्टकिो हालको सडक पनि डेडिकेटेड दुई लेन बनाइनेछ । हाल यो आयोजना क्षेत्रमा पनि डेडिकेटेड दुई लेनको सडक छैन । यो क्षेत्रका सडक स्तरीकरण मात्रै गरिनेछ । आयोजनालाई प्रभाव पर्ने गरी सडक विस्तार नहुने विभागले जनाएको छ ।
यो खण्डका मुख्य बस्ती र शहरी क्षेत्रमा पनि सर्भिस लेन राखिनेछ । सर्भिस लेन भन्नाले सार्वजनिक सवारीले यात्रु ओराल्न/उकाल्न प्रयोग गर्ने बस्ती क्षेत्रको सडक हो । जसले यात्रुलाई मात्रै सहज हुने नै छ, राजमार्ग क्षेत्रमा शहरी सौन्दर्य पनि बढ्नेछ ।
विस्तार हुने सडकमा सुरक्षा फिचर्स चेतावनी लाइट सिस्टम पनि जडान हुने एसियाली विकास बैंकले जानकारी दिएको छ । शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ तथा मोटरसाइकल प्रयोगकर्ताका लागि छुट्टै पूर्वाधार बनाइने बैंकले बताएको छ ।
मुग्लिनदेखि पोखरासम्मको सडक विस्तारको काम सन् २०२५ सम्म सक्ने लक्ष्य लिइएको छ । यो खण्डका लागि सरकारले करिब ५ अर्ब रकम आफ्नै स्रोतबाट पनि खर्च गर्नेछ ।
हाल काठमाडौं-पोखराको दूरी करिब २ सय किलोमिटर छ । यो खण्ड साँघुरो हुँदा दैनिक गुड्ने मालबाहक र तथा यात्रुबाहक सवारीलाई कठिनाइ छ ।
यो सडकमा दैनिक करिब ८ हजार सवारी गुड्ने गरेका छन् । यो सडक नेपालको पर्यटकीय चहलपहल धेरै हुनेमध्ये एक हो ।
सडक ४ लेनको भएपछि भारतबाट आउने पर्यटकलाई पनि पोखरा पुग्न निकै सहज हुनेछ ।
सडकखण्ड विस्तारपछि पोखराको महत्व झनै बढ्ने अपेक्षा छ । त्यहाँ पुग्ने आन्तरिक तथा विदेशी पर्यटकलाई सडक यात्रा सहज हुनेछ ।
साथै पोखरामा बन्न लागेको बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थललाई पनि यो सहयोगी हुने आयोजनाले जनाएको छ । यसले देशको यातायात सञ्जाल थप मजबुत र स्तरीय हुने सरकारको भनाइ छ ।
यो सडक विस्तारपछि नेपालको आर्थिक गतिविधि पनि बढ्ने दाबी एसियाली विकास बैंकको छ। यसले सडकको ट्राफिक क्षमता बढ्ने मात्रै नभई विश्वसनीय र सुरिक्षत सडकबाट पोखरा र काठमाडौंलाई जोड्ने बैंकले जनाउँदै आएको छ ।










