भानुमा स्वास्थ्य प्रणाली अध्ययनको प्रतिवेदन प्रस्तुत, पाँचवर्षीय फोहर व्यवस्थापन योजना हस्तान्तरण

भानु : तनहुँको भानु नगरपालिकाको स्वास्थ्य प्रणाली व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, केन्द्रीय जनस्वास्थ्य विभाग, महाराजगञ्जमा स्नातक तह (बीपीएच) तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले सञ्चालन गरेको अध्ययनअन्तर्गत नगरस्तरीय अन्तिम प्रतिवेदन प्रस्तुत गरिएको हो ।
नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख उमा गोतामे, स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराई, विभिन्न शाखाका प्रमुख, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
समीर थापाले सहजिकरण गरेको कार्यक्रममा अध्ययनको उद्देश्यबारे सुवास पोख्रेलले जानकारी गराएका थिए। अध्ययनमा संलग्न विद्यार्थीहरूले नगर स्वास्थ्य प्रणाली व्यवस्थापन सम्बन्धी अध्ययनका मुख्य निष्कर्ष तथा नगरभित्रको स्वास्थ्य सेवाको वर्तमान अवस्थाबारे प्रस्तुति दिएका थिए । प्रस्तुत प्रतिवेदनमा नगरपालिकाअन्तर्गत सञ्चालित स्वास्थ्य सेवाको अवस्था, उपलब्धि, चुनौती तथा सुधारका सम्भावित क्षेत्रहरूको विश्लेषण गरिएको छ ।
यस्तै, स्वास्थ्य संस्थाबाट उत्पादन हुने स्वास्थ्य सेवाजन्य फोहरको प्रभावकारी व्यवस्थापनका लागि आगामी पाँच वर्षलाई लक्षित गरी तयार गरिएको नगर स्वास्थ्य सेवाजन्य फोहर व्यवस्थापन पञ्चवर्षीय योजना नगर प्रमुख त्रिपाठीलाई हस्तान्तरण गरिएको छ ।
नगरपालिकाले उक्त अध्ययन र कार्ययोजनाले स्वास्थ्य सेवाको गुणस्तर सुधार, वातावरणीय सरसफाइ प्रवद्र्धन तथा स्वास्थ्य सेवाजन्य फोहरको दिगो र व्यवस्थित व्यवस्थापनमा नीति निर्माण तथा कार्यान्वयनका लागि उपयोगी आधार प्रदान गर्ने अपेक्षा गरेको छ ।










