भिमादका घरघरमै पुगेर गाईभैंसीलाई खोरेतविरुद्धको खोप

भिमाद : पशु स्वास्थ्य संरक्षण तथा गाईभैँसीमा देखिने खोरेत रोगको जोखिम न्यूनीकरण गर्न भिमाद नगरपालिकाले घरघरमै पुगेर पशुलाई खोप लगाउने सेवा सुरु गरेको छ । नगरपालिकाले पशु स्वास्थ्य प्राविधिकलाई किसानका घरगोठमै परिचालन गरी गाईभैँसीलाई खोरेतविरुद्धको खोप लगाउने व्यवस्था मिलाएको हो ।
खोरेत गाई, भैँसीलगायत खुर भएका पशुमा लाग्ने संक्रामक रोग हो । रोग फैलिएमा पशुमा उच्च ज्वरो आउने, मुख तथा खुट्टामा घाउ हुने, खान नसक्ने र दूध उत्पादन घट्ने समस्या देखिन सक्छ । संक्रमण तीव्र रूपमा फैलिन सक्ने भएकाले समयमै खोप लगाउनु पशु स्वास्थ्य संरक्षणका लागि महत्वपूर्ण मनिएकाले नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको हो ।
नगरपालिकाले किसानलाई पशु स्वास्थ्य सेवाको पहुँचमा सहजता ल्याउने उद्देश्यले प्राविधिक जनशक्ति परिचालन गरेको जनाएको छ । घरमै प्राविधिक पुगेर खोप लगाउने भएपछि किसानले पशु लिएर पशु सेवा केन्द्रसम्म पुग्नुपर्ने बाध्यता हटेको छ ।
खोरेतविरुद्धको खोपले पशुलाई रोगबाट जोगाउन तथा संक्रमण फैलिन नदिन महत्वपूर्ण भूमिका खेल्ने भएकाले नगरपालिकाले खोप अभियानलाई प्रभावकारी बनाउन जोड दिएको छ । विशेषगरी व्यावसायिक रूपमा गाईभैँसी पालन गर्ने किसानका लागि पशुमा रोगको संक्रमण हुँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने भएकाले नियमित खोपलाई प्राथमिकतामा राखिएको नगरपालिकाको पशु शाखाले जनाएको छ ।
पशुमा रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नुअघि नै आवश्यक सावधानी अपनाउनु प्रभावकारी हुने भएकाले नगरपालिकाले खोप सेवालाई घरदैलोमै पु¥याइएको छ। पशु स्वास्थ्य प्राविधिकको प्रत्यक्ष निगरानीमा खोप लगाउने र आवश्यक स्वास्थ्यसम्बन्धी परामर्शसमेत दिने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
खोरेत नियन्त्रणका लागि खोपसँगै पशु गोठको सरसफाइ, संक्रमित पशुलाई अन्य पशुबाट अलग राख्ने, बाहिरबाट ल्याइएका पशुको स्वास्थ्य परीक्षण गर्ने तथा रोगको लक्षण देखिएमा तत्काल सम्बन्धित पशु प्राविधिकलाई जानकारी गराउनेजस्ता उपाय पनि आवश्यक हुन्छन् ।
नगरपालिकाको घरदैलो पशु स्वास्थ्य सेवाले किसानलाई सहजता प्रदान गर्नुका साथै पशुमा लाग्ने संक्रामक रोग नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। पशुधनको स्वास्थ्य सुरक्षित रहँदा दूध तथा मासु उत्पादनमा हुने क्षति कम गर्न र किसानको आम्दानी संरक्षण गर्नसमेत यस अभियानले योगदान पु¥याउने देखिन्छ ।










