बढ्दो दुर्घटना रोक्न तनहुँमा सडक सचेतना अभियान, प्रहरीद्वारा विशेष निगरानी र चेकिङ सुरु

दमौली : पछिल्लो समय तनहुँमा सवारी दुर्घटनाका घटना बढ्न थालेपछि दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विशेष सडक सचेतना अभियान सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा मुख्य सडक मार्गहरूमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेका हुन् ।
विशेषगरी बिहानको समयमा सवारी दुर्घटनाका घटना तीव्र रूपमा बढ्न थालेपछि चालक, सहचालक तथा यात्रुलाई लक्षित गरी अभियान सुरु गरिएको प्रहरीले जनाएको छ । अभियान अन्तर्गत सुरक्षित यात्रा, सवारी साधनको गति नियन्त्रण, लेन अनुशासनको पालना, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने लगायतका विषयमा सचेतना प्रदान गरिएको छ ।
प्रहरीले दुर्घटना न्यूनीकरणका लागि बिहानको समयमा विशेष निगरानी तथा चेकिङलाई समेत कडाइ गरेको जनाएको छ। सडकमा नियम उल्लंघन गर्ने तथा जोखिमपूर्ण ढंगले सवारी चलाउने चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिने बताइएको छ ।
जिल्लामा सवारी दुर्घटनाको अवस्था चिन्ताजनक बन्दै गएको तथ्याङ्कले देखाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार जेठ २२ गते बिहान ६ बजेदेखि जेठ २३ गते बिहान ६ बजेसम्मको २४ घण्टाको अवधिमा मात्रै जिल्लाका विभिन्न स्थानमा तीन वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा चार जना घाइते भएका र घाइतेमध्ये एक जनाको अवस्था गम्भीर, एक जना मध्यम र दुई जना सामान्य रहेको प्रहरीले जनाएको छ ।
अभियान तथा जिल्लाको समग्र सडक सुरक्षाबारे जानकारी दिँदै प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले चालकको लापरबाही र तीव्र गति दुर्घटनाको मुख्य कारण रहेको बताए ।
उनका अनुसार पछिल्लो समय विशेषगरी बिहानपख अत्यधिक दुर्घटनाका घटना भइरहेको पाइएकाले तीव्र गति, लेन अनुशासनको अवहेलना तथा थकानका कारण दुर्घटना बढेको देखिएको छ । æदुर्घटना न्यूनीकरण गर्न प्राविधिक तयारी मात्र पर्याप्त हुँदैन, चालक र यात्रु स्वयं पनि सचेत हुन आवश्यक छÆ, प्रहरी नायव उपरीक्षक घिमिरेले भने, æयस अभियानले नागरिकमा सडक अनुशासनको भावना विकास गर्न सहयोग पुग्ने विश्वास लिएका छौँ ।Æ
प्रहरीले अभियानलाई जिल्लाका सबै मुख्य राजमार्ग तथा सहायक सडकसम्म विस्तार गरिने जनाएको छ । साथै ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई कडा कारबाही गरिने चेतावनी समेत दिएको छ ।










