होली मेलामा झडप हुँदा दुईको मृत्यु, केही युवाको हताहती
रासस

मृतकको शव परीक्षण हुँदै, प्रहरी टोली घटनास्थलमा
होली पूर्णिमाका अवसरमा लागेको मेलामा दोहोरो झडपपछि दुई युवाको मृत्युका विषयमा अनुसन्धान गर्न प्रहरी प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको घटनाका विषयमा अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थलतर्फ लागेको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार घटना भएलगत्तै मगरको कमाण्डमा ११ जनाको टोली बुर्तिबाङ प्रस्थान गरेको हो । आइतबार दिउँसो दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको थियो । हिजो राति नै गलकोटबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेको थियो । झडपपछि निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र सोही ठाउँका ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको छ ।
मृतकको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्यचौकीमा हिजो राति नै ल्याइएको हवारीले बताउनुभयो । उनीहरुको भिरबाट ५०० मिटर तल खसेको अवस्थामा शव भेटिएको थियो । अन्य केही भएको भन्दै बेपत्ताको खोजी भइरहेको छ । मृतक कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्यसमेत हुनुहुन्थ्यो । स्थानीयवासीका अनुसार दिउँसो मदिरा खाएर होली मनाउन जम्मा भएका युवाहरूको बीचमा भनाभन हुँदा झडप भएको थियो ।
होली मेलामा झडप हुँदा दुईको मृत्यु, केही युवाको हताहती भएको आशङ्का
बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताउनुभयो।
गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु र केही युवा घाइते भएको हुनसक्ने खत्रीले आशङ्का गर्नुभयो । मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँबर र ३४ वर्षका दिपक दमाइ रहेका छन् । उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिनुभयो । घटनास्थल मानव बस्तीभन्दा केही टाढा रहेको र त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको विवरण आउन समय लागेको हो ।