लमजुङको भुजुङमा ‘एक घर, एक धारा’

पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको भुजुङमा ३ सय ४५ वटा धारा निर्माण गरिएका छन् । गाउँका ३ सय १६ घरधुरी साथै ४ वटा सामुदायिक भवन, २ वटा विद्यालय, गुम्बा, वडा कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय र सार्वजनिक ठाउँमा एउटा धारा निर्माण गरिएका छन् ।

यसबाट १ हजार ९ सय ९५ जना नागरिकले प्रत्यक्ष लाभ लिएका भुजुङ थोख्ले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डीलबहादुर गुरुङले बताए ।

कादुरी एग्रिकल्चरल एड एसोसियसन ब्रिटिस गोर्खाज नेपाल पोखराको आर्थिक सहयोग र गाउँलेको श्रमदानबाट गाउँका घरघरमै धारा निर्माण गरिएको हो । कादुरीका प्रबन्धक मनबहादुर थापाका अनुसार कूल १ करोड २६ लाख २४ हजार १ सय ७४ रुपैयाँ ७२ पैसामा भुजुङ थोख्ले खानेपानी योजनामा निर्माण गरिएको हो । यसमा कादुरी एग्रीकल्चरल एड् एसोसिएसन पोखराको १ करोड ५ लाख ३ हजार ६ सय ७५ रुपैयाँ ७२ पैसा लगानी छ । गाउँलेले २१ लख २० हजार ५ सय रुपैयाँ बराबरको श्रमदान गरेका भुजुङ थोख्ले खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव बोदबहादुर गुरुङले बताए ।

नजिकै ४ कमागाउँको ३० घरमा पनि घरघरै धारा निर्माण गरिएका छन् । कमागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष बिरबहादुर गुरुङका अनुसार कमागाउँ प्रावि, स्वास्थ्य ईकाई, प्रगति आमा समूह भवन र लालीगुराँस युवा क्लव भवनमा समेत गरी ३४ वटा खानेपानी धारा निर्माण गरिएका छन् । कूल ४८ लाख ८८ हजार ६ सय ७२ रुपैयाँ लागतमा खानेपानी संरचना निर्माण भएकोमा कादुरीले ४१ लाख २७ हजार ७ सय २२ रुपैयाँ लगानी गरेको छ । उपभोक्ताले ७ लाख ६० हजार ९ सय ५० रुपैयाँ बराबरको श्रमदान गरेका आमा समूहकी सल्लाहकार पूर्णकुमारी गुरुङले बताइन् ।

भुजुङ थोख्ले खानेपानी योजनाको मंगलबार उद्घाटन गर्दै कादुरी एग्रीकल्चरल एड् एसोसिएसन ब्रिटिस गोर्खाज नेपालका निर्देशक रिटार्यड कर्नेल एन्ड्रु मिल्सले गाउाका घरघरै निर्माण भएको धारामा स्वच्छ खानेपानी बगेको देख्दा खुसी लागेको बताए । कादुरीले यस क्षेत्रमा निर्माण गरेको सवैभन्दा ठूलो योजना नै भुजुङको खानेपानी योजना रहेको र यसलाई गाउँलेले भरपुर सदुपयोग गर्नेमा आफू आशाबादी रहेको उनले बताए । उनले गाउँको कला र संस्कृति साथै गाउँलेको स्वागतले आफू निकै प्रफुल्लित भएको प्रतिक्रिया दिए ।

क्व्होलासोथार गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङले पछिल्लो समय विकास गाउँगाउँमा आएको भन्दै विकासमा सवैको एकमत र सबै एकजुट हुन आवश्यक रहेको बताइन् । भुजुङ घर रहेका उपाध्यक्ष गुरुङले कादुरीको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै खानेपानीबाट भुजुङका वासिन्दामात्रै नभइ अस्थायी रूपमा भुजुङ बस्ने कर्मचारी र भुजुङ आउने पर्यटकलाई समेत फाइदा पुग्ने बताइन् ।

उद्घाटन कार्यक्रममा कादुरीका प्राविधिक निर्देशक नारायण गुरुङ, खानेपानी विभाग प्रमुख ईन्जिनियर वीपिनदीप दर्लामी, सिनियर प्रोजेक्ट म्यानेजर ईन्जिनियर मिश्रकुमार चौधरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख राजेशप्रसाद गुप्ता, वडाअध्यक्ष नारायण गुरुङ, गोरखा वेलफेर ट्रष्ट पोखराका प्रोजेक्ट सर्भेयर डिजाइनर रामचन्द्र गुरुङ, गजेन्द्र गुरुङलगायतले खानेपानीको दीगो व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

खानेपानीको ट्यांकी निर्माणका लागि आवश्यक जग्गादाताहरु पुनरी गुरुङ, खिमबहादुर गुरुङ, नन्दबहादुर गुरुङ, प्रेमकाशी गुरुङ र हस्तबहादुर गुरुङलाई कादुरी एग्रिकल्चरल एड् एसोसिएसन ब्रिटिस गोर्खाज नेपालका निर्देशक रिटार्यड कर्नेल एन्ड्रु मिल्स र प्राविधिक निर्देशक डा. नारायण गुरुङले सम्मान गरे । खानेपानी योजनाका निवेदक मिलबहादुर गुरुङले गाउँमा यसअघि पनि खानेपानीको धाराहरु रहेकोमा पुरानो भएपछि पानी अपुग भएकाले नयाँ योजना निर्माण गरिएको बताए । वडाध्यक्ष नारायाण गुरुङले पुरानो धारामा खानेपानी नबग्दा नागरिकलाई पानीको दुःख भएको र हाल घरघरमै पानी आउँदा गाउँलेको दैनिकी सहज बनेको बताए ।

यसअघि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा गाउँमा खानेपानी योजना निर्माण गरेकोमा उक्त योजना जीर्ण बनेपछि कादुरीले खानेपानी योजनामा सहयोग गरेको हो । नयाँ खानेपानी योजनाले विद्यार्थी, गृहिणी साथै गाउँमा आउने पाहुनालाई सहज भएको स्थानीयले बताएका छन् । पर्यटकीय गाउँ भुजुङका ३२ घरमा होमस्टे सञ्चालनमा छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker