भानुको चोक मावि रामपुरटारको ९१औँ वार्षिकोत्सव सम्पन्न

भानु : तनहुँको भानु नगरपालिका–१०, रामपुरटारस्थित श्री चोक माध्यमिक विद्यालयको ९१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कंडेलको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहको भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठी उद्घाटन गरेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख उमा गोतामे, नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल, सामाजिक विकास समितिका संयोजक तथा वडा नं. १० का वडाध्यक्ष हरिहर उप्रेती, शिक्षकहरु केशव कोइराला, गजेन्द्र लौडारी, सहायक प्रधानाध्यापक मोहन केसी लगायतले आ–आफ्ना विचार व्यक्त गरेको कार्यक्रममा प्रधानाध्यापक अमृत नेपालीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वार्षिकोत्सव समारोहमा विद्यार्थीहरूको आकर्षक पिटी प्रदर्शन र म्युजिकल परेड प्रदर्शन गरेका थिए भने, स्थानीय अभिभावक, नेपाल शिक्षक महासंघ भानुका अध्यक्ष, विभिन्न पेशागत संगठनका प्रतिनिधि, छिमेकी विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, शिक्षाप्रेमी, समाजसेवी र जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कक्षा ० देखि १२ सम्म सञ्चालन भइरहेको यस विद्यालयमा हाल २१३ जना विद्यार्थी अध्ययनरत छन् भने २४ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको बताइएको छ । विद्यालयमा पक्की भवन, पर्याप्त फर्निचर, विज्ञान प्रयोगशाला, पुस्तकालय, आईसीटी ल्याबलगायत आधुनिक शैक्षिक पूर्वाधार उपलब्ध रहेको विद्यालय प्रशासनले जनाएको छ । ३० जनाभन्दा बढी नयाँ विद्यार्थी भर्ना भएपछि नगरपालिकाको नीतिअनुसार एक जना सहयोगी कार्यकर्ता पनि थप गरिएको छ ।
विद्यालयको शैक्षिक उपलब्धी, विशेषगरी एसईईसहित अन्य कक्षाहरूको नतिजा सन्तोषजनक रहेको र शिक्षकहरूबीचको टिम स्पिरिट तथा जिम्मेवारी बाँडफाँड प्रशंसनीय रहेको नगरशिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी गराए ।

शान्त, फराकिलो र सुविधायुक्त परिसर तथा अनुकूल भौगोलिक अवस्थाका कारण विद्यालयमा अझ बढी विद्यार्थी भर्ना हुन सक्ने सम्भावना रहे पनि अपेक्षाकृत भर्ना नबढ्नु चिन्ताको विषय बनेको सहभागीहरूले औँल्याएका छन् ।
कार्यक्रममा अभिभावक तथा अतिथिहरूले विद्यालयप्रति अभिभावकको विश्वास अभिवृद्धि गर्ने, सेवाक्षेत्रका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउने र उपलब्ध स्रोत–साधनको उच्चतम् उपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
उत्कृष्ट शिक्षक तथा कर्मचारी सम्मान सहित आयोजित वार्षिकोत्सव समारोह सरल र मितव्ययी रूपमा सम्पन्न गरिएको भन्दै विद्यालयको प्रयासको प्रशंसा गरिएको थियो ।

समारोहका क्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरूले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरेका छन् ।










