वक्तृत्वकला प्रतियोगिता सम्पन्न
भञ्ज्याङ समाचारदाता (दमौली)

प्राज्ञिक विद्यार्थी परिषद नेपाल, व्यास नगर एकाईले शनिबार दमौलीमा विद्यार्थीहरु बीच वक्तृत्वकला प्रतियोगिता गरेको छ । एकाईले ‘अनेकतामा एकता, नेपाली संस्कृतिको विशेषता’ विषयमा अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको हो। व्यास नगरपालिकाका १२ वटा विद्यालयका २१ जना विद्यार्थी सहभागि रहेको प्रतियोगितामा सत्यवती माध्यमिक विद्यालयका गौरव सापकोटा प्रथम भएका छन् ।
यस्तै, शुक्ला माध्यमिक विद्यालयका अनुष थापा द्धितीय, महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयका हरी कडेल तृतीय भएका छन् । प्रतियोगितामा सत्यवती माध्यमिक विद्यालयकी सन्ध्या अधिकारीले सान्त्वना स्थान हाँसिल गरेकी छन् भने दमौली मोडेल एकेडेमीकी देविता पाण्डेले विशेष पुरस्का प्राप्त गरेको बताइएको छ ।
प्राज्ञिक विद्यार्थी परिषद् तनहुँका संयोजक प्रकाश खड्काको संयोजनमा आयोजित प्रतियोगितामा डा. रघुनाथ न्यौपाने, निर्णायकद्वाय राम प्रसाद पौडेल र चक्रबहादुर अधिकारी, नगर अध्यक्ष तेजप्रसाद लामिछाने, गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष पुष्पराज खतिवडा, महर्षि वेदव्यास संस्कृत माविका प्रधानाध्यापक तोयारजा निरौला लगायतले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा मद्दत पुग्ने भन्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।










