छाब्दी खोलाले पुल भत्काउँदा कृषक चिन्तित्, सदरमुकामसंगको सिधा सम्पर्क टुट्यो, पुलको व्यवस्था गरिदिन माग
नारायण खड्का (तनहुँ)
गत मंगलबारदेखि परेको अविरल झरीसंगै तनहुँको छाब्दीखोलामा आएको बाढीले बुद्धसिंह मोटर मार्गको पुल भत्काएपछि तनहुँका तीनवटा पालिकाका बासिन्दाको सदरमुकामसंगको सिधा सम्पर्क टुटेको छ । बाढीले पुल भत्काएपछि प्रभावित क्षेत्रका बासिन्दाले हाम्रो विकास २० वर्षपछाडी फर्किएको बताउन थालेका छन् ।
अविरल झरीसंगै आएको बाढीले व्यास नगरपालिकाको वडा नं. १ र १३ जोड्ने छाब्दी खोलामा वि.सं. २०६० सालमा सडक विभागले करिब २२ लाख रुपैयाँको लागतमा निर्माण गरेको पुल विहीबार बिहान भत्काएको बुद्धसिंह मोटर मार्ग उपभोक्ता समितिका संस्थापक अध्यक्ष यामबहादुर आलेले बताए ।
‘बाढीले पुल भत्काएपछि तनहुँको व्यास नगरपालिकाको वडा नं. १३, १४, देवघाट र बन्दिपुर गाउँपालिकाका केही वडाका बासिन्दाले सास्ती झेल्नु परेको छ’, उनले भने, ‘बाढीले पुल भत्काएपछि तत्काल वैकल्पिक व्यवस्था गरिदिन स्थानीयले स्थानीय, प्रदेश तथा संघीय सरकारसंग आग्रह गरेका छौं । तत्काल वैकल्पिक व्यवस्था हुन नसके कृषकको उपज बजारीकरण नहुनु तथा गरिखाने ग्रामीण क्षेत्रका बासिन्दालाई कोरोना कहरले मात्र होइन बाढीपहिरोबाट समेत थप पीडित बन्नेछन् ।’

तनहुँको कर्णालीका रुपमा परिचित दक्षिणी भेगका कोटा, बैदी, छिपछिपे लगायतका ग्रामीण क्षेत्रलाई जोड्ने एक मात्र पुल बाढीले भत्काएपछि मानिसहरुको आवातजावत रोकिएको छ । पुल भत्किएपछि प्रभावित क्षेत्रका कृषकले उत्पादन गरेको कृषि उपज बजारीकरणमा समेत समस्या आउन थालेको व्यास-१ भादगाउँका बेलबहादुर रानाभाटले बताए ।
मुख्य मोटरमार्गको पुल भत्किएको र खोलामा बाढी आइरहेको हुँदा अन्य वैकल्पिक मार्ग समेत नभएको अवस्थामा कृषि उपजको बजारीकरण, सदरमुकाम लगायतका क्षेत्रमा आउजाउँ तथा विरामी भइहालेमा स्वास्थ्य संस्था जान समेत नसक्ने अवस्था आइलागेको व्यास-१३ का कृषक राजन सापकोटाले बताए ।
पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रुपमा निर्माण गरिएको दमौली-घुमाउने घाट जोड्ने बुद्धिसिंग मोटर मार्ग र यस मार्ग हुँदै तनहुँको देवघाट, बन्दिपुर र व्यास नगरपालिकाका ग्रामीण क्षेत्रमा सडक सञ्जाल विस्तार गरिएको छ । बाढीले पुल भत्काएपछि अहिले सवारी साधान सञ्चालन भएका छैनन् भने हजारौ मानिसको सदरमुकामसंगको सिधा सर्म्पर्क टुटेको छ ।

वर्षासंगै आएको बाढीपहिरोले तनहुँमा धनजनको ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । बाढीपहिरोले ठूलोमात्रमा भौतिक र कृषि क्षेत्रमा क्षति पुगेको छ । तनहुँको बन्दिपुर गाउँपालिका क्षेत्र बाढीपहिरोबाट बढि प्रभावित हुन पुगेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।
वर्षासंगै आएको बाढीपहिरोले बन्दिपुर गाउँपालिका दुइ दिनदेखि विद्युत, टेलिफोन सेवा पूर्णरुपमा बन्द भएको छ । पहिरोले सडकहरु भत्किदा गाउँपालिका प्राकृतिक रुपमै लडकाउनको अवस्थामा पुगेको र सडक खुलाउन तथा बाढीपहिरोबाट पीडितलाई राहतको व्यवस्थापनमा गाउँपालिका जुटेको उनले बताए ।
यस्तै, तनहुँमा बाढीपहिरोले पुर्याएको क्षतिको विवरण संकलन गर्न गण्डकी प्रदेश सरकारले टोली खटाएको छ । बाढीले पुल भत्किएपछि तत्काल बेलिब्रिज निर्माण गरी यातायात सञ्चालन तथा नागरिकको दैनिकी सहज बनाउन जिल्लाका सांसद, सरोकारवाला निकाय लागि परेका छन् ।










