बन्दीपुर अस्पतालमा रेबिज भ्याक्सिन सेवा पुनः सञ्चालन, विपन्नलाई निःशुल्क व्यवस्था

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाको बन्दीपुर अस्पतालमा लामो समयदेखि अभाव हुँदै आएको रेबिज भ्याक्सिन सेवा पुनः सञ्चालनमा आएको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयअनुसार रेबिज भ्याक्सिन सेवा पुनः उपलब्ध गराइएको हो ।
अस्पतालमा विगत लामो समयदेखि रेबिज भ्याक्सिन उपलब्ध नहुँदा सेवाग्राहीहरूलाई निकै असहजता हुँदै आएको अस्पतालका प्रमुख डा. अनिल गिरीले बताए । उनले भने, ‘यस सम्बन्धमा बन्दीपुर अस्पतालले पटक–पटक गाउँपालिका, जिल्ला तथा प्रदेशस्तरीय सरोकारवाला निकायहरूमा अनुरोध तथा पत्राचार गरे पनि समयमै भ्याक्सिन उपलब्ध हुन सकेको थिएन ।’
यसैबीच बन्दीपुर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले सम्बन्धित निकायबाट रेबिज भ्याक्सिन निःशुल्क प्राप्त भएको अवस्थामा निःशुल्क रूपमा र निःशुल्क रूपमा उपलब्ध नभएको अवस्थामा सेवा निरन्तरताका लागि लागत (न्यूनतम) शुल्क लिई रेबिज भ्याक्सिन सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रमुख डा. गिरीले बताए ।
उनका अनुसार रेबिज एक घातक रोग भएकाले उपचारमा ढिलाइ हुन नदिन सेवा निरन्तरता आवश्यक ठानेर उक्त निर्णय गरिएको हो । ‘निःशुल्क भ्याक्सिन समय–समयमा उपलब्ध नहुँदा सेवाग्राहीहरू निजी अस्पताल वा टाढाका स्वास्थ्य संस्थामा जान बाध्य थिए’ डा. गिरीले भने, ‘अब आपत्कालीन अवस्थामा पनि स्थानीय स्तरमै सेवा पाउने व्यवस्था गरिएको छ ।’
अस्पतालले रेबिज भ्याक्सिन सेवा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत नपर्ने स्पष्ट पारेको छ। तथापि, अस्पताललाई निःशुल्क रूपमा भ्याक्सिन प्राप्त हुँदा सेवाग्राहीलाई पनि निःशुल्क सेवा उपलब्ध गराइने व्यवस्था यथावत् रहने जनाइएको छ ।
यसैगरी आर्थिक अवस्था कमजोर रहेका अति विपन्न, विपन्न तथा कमजोर वर्गका सेवाग्राहीहरूलाई अस्पतालको सामाजिक सेवा इकाइको सिफारिसमा निःशुल्क सेवा प्रदान गरिँदै आएको अस्पतालले जनाएको छ । आर्थिक अभावकै कारण कोही पनि सेवाबाट वञ्चित नहुने व्यवस्था गरिएको डा. गिरीले बताए ।
रेबिज भ्याक्सिन नियमित रूपमा निःशुल्क उपलब्ध गराइदिनुहुन गाउँपालिका, जिल्ला, प्रदेश तथा ई.डी.सि.डी. काठमाडौंमा माग पठाइसकिएको र पठाइराखिएको अस्पतालले जनाएको छ। अस्पतालको दीर्घकालीन लक्ष्य रेबिज भ्याक्सिनको नियमित र दिगो आपूर्ति सुनिश्चित गर्नु रहेको बताइएको छ ।
चालु आवको पौष महिनामा मात्र ११ जना सेवाग्राहीहरूले रेबिज भ्याक्सिन सेवा लिइसकेको अस्पताल जनाएको छ । अस्पतालले कुनै संघ, संस्था, व्यक्ति, महानुभाव वा सहयोगीदाताहरू रेबिज भ्याक्सिन निःशुल्क उपलब्ध गराउन इच्छुक भएमा अस्पतालसँग सम्पर्क गरी सहयोग गरिदिन समेत अनुरोध गरेको छ ।










