व्यास नगरपालिकाले मनायो २९औं स्थापना दिवस
भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिकाले २९औँ स्थापना दिवस मनाइएको छ । स्थापना दिवसका अवसरमा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले व्यास नगरपालिकाले धार्मिक पर्यटन सहित पुर्वाधार विकास गरी आम्दानी बढाउनुपर्ने बताए । देश विकासका प्रमुख आधार कृषि । जलस्रोत र पर्यटन भएको बताउदै भण्डारीले व्यासमा धार्मिक पर्यटनको महत्वपूर्ण सम्भावना भएको चर्चा गरे । कार्यक्रममा राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले बर्तमान केपी ओली नेतृत्वको सरकारले देशलाई प्रतिगमनतिर लगेको आरोप लगाउँदै सरकारले संविधान मिचेर काम गरेको बताए ।
व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यहरु डोबाटे विक, सरीता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, पूर्व नगरप्रमुखहरु ध्रुव वाग्ले, ताराप्रसाद श्रेष्ठ, भानु नगरपालिकाका प्रमुख उदयराज गौली, नेकपाका नेताहरु पिएल श्रेष्ठ, नेकपाका नेता एवं व्यास नगरपालिकाका नगरप्रमुखका प्रत्यासी शंकरनारायण श्रेष्ठ, जनता समाज समाजवादी पार्टी तनहुँका नेता अमर भण्डारी, राप्रपाका केन्द्रीय सदस्य राजेन्द्र अधिकारी, व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशी, बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत वराल लगायतले व्यास नगरपालिकाका विषयमा आ-आफ्ना विचार व्यक्त गरेका थिए।
स्थापना कालदेखि हालसम्मको गतिविधि समेटेर तयार गरिएको ‘व्यास नगर दर्पण’ विमोचन
कार्यक्रममा व्यास नगरपालिकाले स्थापना कालदेखि हालसम्मको गतिविधि समेटेर प्रकाशन गरेको व्यास नगर दर्पण पुस्तकको पूर्वमन्त्री भण्डारीले विमोचन गरेका थिए । नगरपालिकाले आगामी दिनमा चाल्ने कदम एवं योजनाहरुलाई युवा पुस्ता र उत्तराधिकारी जनप्रतिनिधिहरुले आत्मासाथ गर्ने प्रक्रिया स्थापित होस भन्ने मान्यताले उक्त पुस्तक प्रकाशन गरिएको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।
नगरपालिकाले विविधतायुक्त गाउँ सहर समृद्ध मेरो व्यास नगरलाई मूर्त रुप दिन नगरपालिकाभित्रका कृषि क्षेत्रका सम्भावाना, पर्यटन क्षेत्रका सम्भावना, शिक्षा क्षेत्रको सम्भावना र अन्य स्वास्थ्य औधोगिक बातावरणीय क्षेत्रमा उल्लेख्य प्रगतिका लक्ष्यहरु लिएर अघि बढ्ने प्रयास गरेको नगरप्रमुख न्यौपानेको भनाई छ ।
नगर स्थापनाको ऐतिहासिक पक्ष, विगत र बर्तमानका विभिन्न महत्वपूर्ण पक्षहरुलाई उजागर गरी विकास निर्माणका मुख्य गतिविधि, प्रशासनिक एवं भौतिक क्रियाकलापलाई व्यास नगर दर्पणमा समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम सिग्देलले जानकारी दिए । उनले नगरपालिकाले जनताको मागमा आधारित योजना तर्जुमा र सञ्चालन गरेको बताए ।
नगरपालिकाको दीर्घकालिन सोच र विकासको लक्ष्यलाई केन्द्रिकृत गरी मादी नदी एकीकृत बहुउद्देश्यीय परियोजना, ताल निर्माण, नारेश्वर तालको निर्माण, एकीकृत जग्गा विकास कार्यक्रम, मानहुँकोट, तनहुँसुर एतिहासिक पर्यटकीय कार्यक्रम, सहिदपार्क कालिका जंगलपार्क, व्यासको १०८ फिटको मूर्ति निर्माण जस्ता कार्यक्रमलाई आर्थिक तथा समृद्धिको आधारशीलाको रुपमा मानेको छ ।
कार्यक्रममा साहित्यकार गौकुमारी न्यौपानेद्वारा लिखित कविता संग्रह ”स्मृति माला” लोकापर्ण गरिएको थियो । यसैबीच सो कार्यक्रममा नगरपालिकाको भौतिक पूर्वाधार विकासको लागि योगदान पुर्याउने प्रथम नगरप्रमुख ताराप्रसाद श्रेष्ठ, पूर्व प्रमुख ध्रुव वाग्ले, पूर्ववडाध्यक्षहरु रामचन्द्र बस्नेत, समुन्द्र गोदार, मोतीकुमार श्रेष्ठ, दामोदर खनाललाई सम्मान गरिएको थियो ।









![Photo of दाहालको प्रस्ताव कुण्ठा र कृत्रिम आरोपको संगालो : ओली [जवाफको पूर्ण पाठ]](https://bhanjyangnews.com/wp-content/uploads/2020/11/Nekapa-390x220.jpg)
