बन्दीपुर अस्पताल : ग्रामीण तहमा ‘स्मार्ट स्वास्थ्य सेवा’को सफल उदाहरण बन्दै

तनहुँ : तनहुँको ऐतिहासिक पर्यटकीय गाउँ बन्दीपुर, जहाँ पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवा पनि पर्यटक आकर्षणसरह विस्तार हुँदै गएको छ । अब बन्दीपुरवासीका लागि अस्पताल पुग्न समयको बाध्यता छैन । बिहानको चिया अघि वा बेलुकी घर फर्किएपछि पनि स्वास्थ्य सेवा लिन सकिने वातावरण बनेको छ ।

बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पतालले स्वास्थ्य सेवा प्रणालीलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यले गत वैशाख १ गतेदेखि सञ्चालनमा ल्याएको “विस्तारित ओपीडी सेवा” अहिले स्थानीय बासिन्दाको दैनिकीमै मिसिएको छ । विद्यालय जाने विद्यार्थीदेखि बिहानै काममा निस्किने मजदुरसम्म, बेलुकी पसल बन्द गरेपछि अस्पताल धाउने व्यापारीदेखि बिहान घरधन्दा सकेर स्वास्थ्य परीक्षणमा आउने गृहिणीसम्म सबैले आफू अनुकूलको समयमा उपचार पाउने वातावरण पाएका छन् ।

असोजमा २ हजार बढि सेवाग्राही

अस्पतालको तथ्यांकअनुसार असोज महिनामा जम्मा २ हजार १८५ जना सेवाग्राहीले ओपीडी सेवा लिएका छन् । तीमध्ये ९३० जना (४२.५६%) ले नियमित कार्यालय समय (बिहान १० देखि दिउँसो २ बजेसम्म)मा सेवा लिएका हुन् भने १ हजार २५५ जना (५७.४४%) ले अतिरिक्त समयमा सेवा लिएका छन् । यो तथ्यांकले स्पष्ट देखाउँछm बन्दीपुरमा नियमितभन्दा अतिरिक्त समयमै बढी नागरिकले स्वास्थ्य सेवा लिने गरेका छन् । यसको अर्थ, स्वास्थ्य सेवा अब दैनिकी र पेशाको तालमेलमा ढालिएको छ ।

हरेक दिन बिहान ७ देखि बेलुकी ८ बजेसम्म सेवा

अस्पतालले सार्वजनिक बिदा र शनिबारसमेत हरेक दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म ओपीडी सेवा सञ्चालन गर्छ । यस अवधिमा नियमित टिकट लिएर कोही बिहानै उपचारका लागि आउँछन् भने कोही बेलुकी खेतबारीबाट फर्किएपछि अस्पताल धाउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरीले बताए ।

डा. गिरी भन्छन्, “हामीले सेवा समय विस्तार गरेपछि गाउँकै बासिन्दाले बिहान–बेलुकी जस्तोसुकै समयमा सेवा पाउने वातावरण बनेको छ । असोजमा धेरै सार्वजनिक बिदा भएकाले नियमित समयभन्दा बढी सेवाग्राही अतिरिक्त समयमा आएका हुन् ।”

सेवाग्राहीको सहजतालाई प्राथमिकता

बन्दीपुर अस्पतालको विस्तारित सेवा ग्रामीण समुदायका लागि राहत सरह बनेको छ । बिहान ७ बजेदेखि नै ओपीडी खुल्दा काममा जाने मजदुर र विद्यार्थी वर्गका लागि सहजता भएको छ । त्यस्तै, बेलुकी ८ बजेसम्म सेवा निरन्तर रहेकाले दिनभर व्यापार गर्ने व्यवसायी र गृहिणी वर्गले पनि स्वास्थ्य परीक्षणका लागि समय निकाल्न सक्ने भएका छन् ।

स्वास्थ्य सेवाको नयाँ अभ्यास

पहिले कार्यालय समयमै पुग्न नसक्नेले उपचार ढिलो गर्नुपर्ने वा सानो समस्याले ठूलो रूप लिने स्थिति हुने गथ्र्यो । तर अहिले बन्दीपुरमा त्यो समस्या छैन । अस्तालका डा. गिरीले भने, “अस्पताल खुल्ने समय बढेसँगै सेवाग्राही सन्तुष्टि उल्लेखनीय रूपमा बढेको छ ।”

बन्दीपुर अस्पतालको यो अभ्यास ग्रामीण तहमा ‘स्मार्ट स्वास्थ्य सेवा’ को सफल उदाहरण बन्दै गएको छ । जनताको स्वास्थ्य पहुँच विस्तार गर्ने अभियानमा यो कदमले गाउँपालिकालाई नयाँ पहिचान दिलाएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा बताउँछन् ।

उनले भने, “गाउँपालिकाले सर्वसाधारणको आधारभूत आवश्यकतालाई पहिचान गरी सेवा प्रवाहलाई सहज बनाउँदै लगेको छ । यही अन्तर्गत अहिले बन्दीपुर अस्पतालले सेवालाई सहज बनाएको छ भने वडावडाका स्वास्थ्य संस्थाहरुमा पनि सेवा विस्तार गर्दै लगिएको छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker