पर्यटक लोभ्याउँदै धितालको नौमती बाजा पार्क
हरि बाँस्तोला/गण्डकी

अस्तामको नौमती बाजा भनेपछि पोखरा र आसपासका क्षेत्रमा हुरुक्कै हुने गर्दछन् । विवाह, व्रतबन्ध लगायतका विभिन्न चाडबाडमा अधिकांशको पहिलो रोजाइ अस्तामको बाजा नै हुने गरेको छ । नेपालीको मौलिक पहिचान जस्तै बनेको नौमती बाजाका लागि ख्याति कमाएको कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ धितालस्थित पोखरीडाँडामा निर्माण गरी सञ्चालनमा आएको नौमती बाजा पार्कका कारण यतिखेर थप चासो र चर्चामा रहेको छ । खुल्ला आकाशमुनि सार्वजनिक जग्गामा निर्माण गरिएको नौमती बाजा पार्कमा सुमधुर स्वरमा शुभसन्देश दिने नरसिङ्गा, नौमती बाजाको प्रमुख आकर्षाका रूपमा बजाइने सहनाई जोडी, दमाहा, सानो दमाहा, झ्याली, टयाम्को, ढोलक, बाजा प्रदर्शन गरिएको छ ।
सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र टयाम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एकापसमा जुधाएर बजाइन्छ । नौजना वाद्यवादक कलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो टोलीलाई नौमती बाजा भनिएको हो । विशेषगरी आलुमिनियम, तामा, पित्तललगायतका धातु, काठ र घरपालुवा जनावरको छाला प्रयोग गरेर बाजा निर्माण गरिन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्थानीय जनसहभागिताको आर्थिक एवं माछापुच्छ्र्रे गाउँपालिकाको प्राविधिक सहयोगमा निर्माण गरिएको सो पार्क २०७६ साल असार महिनादेखि सञ्चालनमा आएको नौमती बाजा पार्क निर्माण समितिका अध्यक्ष इन्जिनियर सुनिल दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालीन प्रतिनिधिसभा सदस्य स्व रवीन्द्र अधिकारीको विशेष पहलमा रु १६ लाखको लागतमा निर्माण सम्पन्न गरिएको सो पार्क निर्माणका लागि मन्त्रालयबाट रु १५ लाख र एक लाख मूल्य बराबरको स्थानीय जनसहभागिता परिचालन गरिएको हो ।
नौमती बाजा पार्क सञ्चालनमा आएसँगै यस क्षेत्रमा दैनिक १०० देखि ५०० जनासम्म आन्तरिक एवं बाहृय पर्यटकले अवलोकन गर्ने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पर्यटकको आवगमनसँगै आसपासको व्यापार व्यवसायमा समेत सहयोग पुगेको छ ।” पार्कमा प्रदर्शित बाजाको तालसहित अन्नपूर्ण, माछापुच्छ्रे हिमशृंखलासहित रमणीय गाउँ ल्वाङ, रिभानसहितको दृश्यावलोकन गर्न सकिने सो क्षेत्रमा परम्परागत पानीका कुवा, कुटानी-पिसानीका सामग्री ढिकी, जाँतो, पानी घट्ट, काश्यप ऋषिको मूर्तिसहितका विभिन्न संरचना निर्माण गरी प्रदर्शन गर्ने तयारी समितिले गरिरहेको उहाँको भनाइ छ ।
सो स्थानमा रहेको साँदी पोखरी रु दुइ लाखको लागतमा संरक्षण गरिएको छ । समुद्री सतहबाट लगभग एक हजार ५०० मिटरको उचाइमा रहेको सो पोखरी संरक्षण गरेसँगै वर्षाको पानी संकलन हुने गरेको छ । उक्त पोखरीको पानी बर्सातको समयमा स्थानीय बासिन्दाले सिँचाइका लागि उपयोग गर्दै आएका छन् । सो क्षेत्रमा धम्पुस लिफि्टङमार्फत धितालमा खानेपानीको व्यवस्थासहित उक्त पार्क र पोखरीमा पानीको व्यवस्थापन गर्ने तयारी भइरहेको बताउँदै दाहालले भन्नुभयो, “सम्पूर्ण योजना सम्पन्न गर्न करिब रु चार करोड खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको छ ।” बाजा पार्कको आँगनमा रहेको साँदी पोखरामा माछापुच्छ्रे हिमालको प्रतिबिम्वको दृश्यले जो कोहीलाई पनि मनमुग्ध बनाउने गरेको पार्क अवलोकनका लागि पुग्नुभएका पोखरा-१७ विरौटाका भेषराज बरालको भनाइ छ ।
जनप्रिय बहुमुखी क्याम्पसका सहायक क्यम्पस प्रमुख एवं जिल्ला बचत संघ कास्कीका अध्यक्षसमेत रहनुभएका बरालका अनुसार मौलिक बाजा संरक्षणका साथै प्रदर्शन गरेर यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उक्त क्षेत्रको अस्ताममा सञ्चालित अन्नपूर्ण इको भिलेजका सञ्चालक विश्व अधिकारीका अनुसार होटेलमा आउने पर्यटकका लागि बिहानको घुमफिर पार्क पर्ने गरेको छ । होटेलमा बास बसेका अधिकांश पर्यटकलाई बाजा पार्कमा जान प्रेरित गर्दै आएको उहाँको भनाइ छ । पार्कको नजिकै बाँसको लिङ्गे पिङ स्थापना गरिएको छ । पिङमा मच्चिँदै आँखाको अघि देखिने हिमशृंखला सहितको हरियाली, खोलानाला एवं रमणीय गाउँबस्तीको दृश्यबाट पर्यटकले छुट्टै आनन्द लिने गरेको पार्क निर्माण समितिका उपाध्यक्ष रीता गुरुङले राससलाई जानकारी दिनुभयो । पोखराको हेम्जास्थित मिलनचोकबाट धम्पुस सडकखण्डमा लगभग आठ किलोमिटर दूरीमा रहेको सो पार्कमा प्रवेशका लागि टिकटको व्यवस्था नहुँदा कहाँबाट र कति संख्यामा पर्यटक आए भन्ने तथ्याङ्क छैन । रासस










