सहकारीमा आवद्ध तनहुँका महिलाहरुले दसैंका लागि साढे दुइ करोडको खसीबोका बेचे
भञ्ज्याङ न्यूज

सहकारीमा आवद्ध भई गरिएको व्यवसायिक बाख्रापालनबाट कृषकहरुले राम्रो आम्दानी गर्न थालेका छन् । तनहुँको घिरिङ गाउँपालिकास्थित घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध धना थापाले यो दसैँमा मात्र खसी बेचेर एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरेकी छन्।
उनले दसैंका लागि चारवटा खसी बिक्री गरेकी छन् । बाख्रापालन मुख्य पेसा अङ्गालेकी थापाले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएकी छन्। उनले भनिन्, ‘खसी बेचेर दसैं मनाउने तयारीमा छु।’
भगवतीपुर सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध कमला आलेले पनि दसैँका बेला एक लाखभन्दा बढीको खसी बिक्री गरेकी छन् । गाउँबाटै खसी बिक्री हुँदा बजार खोज्दै हिँड्नुनपरेको उनले बताइन् । भिमादस्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध श्रीमाया आलेले वाषिर्क रुपमा १० लाख रुपैयाँ भन्दा बढीको खसीबोका बिक्री गर्छिन् ।
यी त केही उदाहरण मात्र हुन् । यस वर्षो दसैँमा खसीबोका बिक्री गरेर तनहुँका महिलाहरुले साढे दुइ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् । तनहुँमा महिलाले मात्र सञ्चालन गरेका सहकारीमार्फ यस वर्षो दसैँमा दुइ करोड ५३ लाख २० हजार ३२७ बराबरको खसीबोका बिक्री भएका छन् ।
यस्तै, गत भदौ २७ देखि असोज ९ गतेसम्मको अवधिमा यहाँका १० सहकारीमार्फ खसीबोका बिक्री भएको हो । सहकारीले नै बजारीकरण गरिदिएपछि बाख्रापालक कृषकलाई सहज भएको छ । खसीबोका किन्न व्यापारी गाउँसम्मै पुग्ने गरेका छन् ।
हेफर नेपालको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँले सञ्चालन गरेको ‘पशुवस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको संस्था सबलीकरण परियोजना’ अन्तर्गत १० सहकारीले कृषकले पालेका खसीबोका बिक्रीका लागि बजारीकरण गर्दै आएको हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत सन्त भट्टर्राईले बताए ।
यसअवधिमा तीन चरणमा गरी खसीबोका बिक्री भएको छ । भदौ २७ गते एक करोड १८ लाख ९० हजार ३२६ रुपैयाँ, भदौ २७ देखि असोज २ गतेसम्म ६१ लाख ७१ हजार १२८ रुपैयाँ र असोज ३ देखि ९ गतेसम्म ७२ लाख ५८ हजार ८७३ रुपैयाँ बराबरको खसीबोका बिक्री भएको छ ।
घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ३० लाख ५४ हजार २७१ रुपैयाँ, भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत ४४ लाख ९८ हजार ६५४ रुपैयाँ, माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत ३९ लाख आठ हजार ८२९ रुपैयाँ, अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमार्फत २० लाख १९ हजार ७२४ रुपैयाँ बराबरको खसीबोका बिक्री भएको छ ।
अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत २२ लाख ९२ हजार ६७६ रुपैयाँ, दिदीबहिनी कृषि सहकारी संस्थामार्फत चार लाख दुइ हजार ६७ रुपैयाँ, सप्तधारा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत २६ लाख ४० हजार ३५०, भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत २१ लाख ९१ हजार ८७५ रुपैयाँ, शुभदीप सामाजिक उद्यमी महिला सहकारीमार्फत २३ लाख २५ हजार ९८३ रुपैयाँ र आधारशिला सामाजिक उद्यमी महिला सहकारीमार्फ १९ लाख ८५ हजार ८९८ रुपैयाँ बराबरको खसीबोक्रा बिक्री भएको छ । यस अवधिमा ती सहकारीमार्फ एक हजार ७१४ खसीबोका बिक्री भएका छन्।
यस्तै, भिमाद नगरपालिका-९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष देवी मुक्तान आलेले दसैँ तिहारका बेला सहकारीले नै व्यापारी खोजेर खसीबोका बिक्री गर्दै आएको बताइन् । ‘सहकारीले नै बजारीकरणमा सहयोग गरिदिएपछि कृषकलाई पनि सहज भएको छ’, उनले भनिन्, ”यसले गर्दा कृषकले खसी बिक्री गरेर चार्डपर्व मनाउन पाएका छन् ।’
घिरिङ गाउँपालिका-२ भोरकोटस्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष शारदा आलेले सहकारीबाटै बजारीकरण गर्दा कृषकलाई बजारको समस्या नहुने बताइन् ।
भिमाद नगरपालिका-२ स्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष सीताकुमारी तिमिल्सिनाले खसीबोका बिक्रीका लागि विगत वर्षेखि नै बजारीकरणमा सहयोग पुर्याएको बताइन् । उनले भनिन्, ‘यसले कृषकलाई खसीबोका बिक्रीका लागि बजार खोज्नु हिँड्नुपरेको छैन, कृषकलाई सहज भएको छ ।’
सहकारीले बजारीकरणमा सहयोग पुर्याएपछि बाख्रापालक कृषक पनि खुसी भएका छन् । बाख्रापालनबाट घर्रखर्च चलाउँदै कृषकलाई गाउँघरमै खसी बिक्री गर्ने व्यवस्था भएपछि सहज पनि भएको छ । सहकारीमा चार हजार भन्दा वढी शेयर सदस्य आबद्ध छन् ।
घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थामा ६७०, भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमा ८५९, माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामा ६३५, अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमा ३४६ शेयर सदस्य छन् ।
अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामा ४२०, दिदीबहिनी कृषि सहकारी संस्थामा १८४, सप्तधारा सामाजिक उद्यमी महिला सहकारी संस्थामा ५३९, भागिरथी सामाजिक उद्यमी महिला सहकारीमा ३५२, शुभदीप सामाजिक उद्यमी महिला सहकारीमा २२७ र आधारशिला सामाजिक उद्यमी महिला सहकारीमा ४३० शेयर सदस्य आबद्ध छन् ।










