निरन्तरको झरीका कारण तनहुँ र स्याङ्जा जोड्ने सडक अवरुद्ध

केही दिनदेखि परेको वर्षाका कारण पहिरो जाँदा दुई जिल्ला जोड्ने सडक अवरुद्ध भएको छ । निरन्तरको झरीका कारण ठाउँ–ठाउँमा पहिरो गएपछि तनहुँ र स्याङ्जा जोड्ने सडक अवरुद्ध भएको हो । तनहुँको शुक्लागण्डकी दुलेगौँडा ढोरबाराही मोटर मार्गको जुडीफाँट–चिसापानी सडकखण्डको एक दर्जन ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा स्थानीयवासी मर्कामा परेका छन् ।

पहिराले सडक अवरुद्ध भएपछि चिसापानी आसपासबाट चल्ने सवारी भानुमति उक्लेर भिमाद हुँदै यात्रा गर्न बाध्य भएको हरिनास गाउँपालिकाका उपाध्यक्ष झनमाया पराजुलीले बताउनुभयो । “सडक अवरुद्ध हुँदा दुई जिल्लाको जनजीवन प्रभावित भएको छ, निर्माण हुँदा गरेको सडकको धेरै ठाउँमा पहिरा खसेको छ”, उहाँले भन्नुभयो ।

गत असारको सुरुमै यो सडकखण्डमा दर्जनभन्दा बढी स्थानमा पहिरो गएको थियो । झण्डै एक हप्तापछि पहिरा हटाएर सडकमा सवारी चल्न मिल्ने बनाइएको थियो । अहिले लगातार परेको अविरल वर्षाले सडक अवरुद्ध भएको पराजुलीले जानकारी दिनुभयो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० जुडीफाँटदेखि स्याङ्जाको हरिनास गाउँपालिकाको केन्द्र चित्रेभञ्ज्याङ जोड्ने यो सडक कालोपत्रेका लागि स्तरोन्नतिको काम भइरहेको छ । प्रदेश सरकारको लगानीमा क्याङ्दी खोलामा ४० मिटर लामो पक्की पुल र १६ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । रु ३२ करोड ६५ लाख ४७ हजार १४९ मा पुल र सडकको काम गोल्डेनगुड बानियाँ जेभीले गरिरहेको छ ।

पटक–पटक पहिरोले सडकमा क्षति पुग्दा निर्माण कम्पनीले करोडौँको नोक्सानी बेहोर्नुपरेको छ । असारमा मात्रै निर्माण कम्पनीले रु एक करोडको क्षति भोगेको आयोजनाका व्यवस्थापक सन्तोष खड्काले जानकारी दिनुभयो । अहिले सडकमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो झरेर बाटो पुरिएको छ ।

उहाँका अनुसार चार ठाउँमा ग्याबिन जाली र चार किलोमिटर ग्राभेल बगाएको छ । “यसपालि पनि कम्पनीलाई रु एक करोडको हाराहारीमा क्षति भएको छ, क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “विवरण सङ्कलन सकेपछि छिट्टै सडक खुलाएर सवारी चल्न मिल्ने बनाउँछौ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker