“समृद्धिका लागि सरकारी र निजी क्षेत्रको सहकार्य आवश्यक”
भञ्ज्याङ समाचारदाता/दमौली
तनहुँका पालिका प्रमुखहरुले समृद्धिका लागि सरकारी र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका छन् । तनहुँ उद्योग वाणिज्य संघले शनिबार दमौलीमा आयोजना गरेको स्थानीय सरकारसँग निजी क्षेत्रको सम्भावना र सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पालिका प्रमुखहरुले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्न सकेमात्र समृद्धि हाँसिल गर्न सकिने बताएका छन् ।
हालै सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जिल्ला समन्वय समिति तथा नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुलाई स्वागत एवं सम्मान गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष आनन्दराज मुल्मीले विकास निर्माण तथा उद्योग व्यवसायका क्षेत्रमा सरकारी र निजी क्षेत्रको सहकार्य खाँचो रहेको बताए ।
उनले सरकारी स्तरबाट निजी क्षेत्रको व्यवसायीहरुसंग सहकार्य गरी विकास निर्माण तथा कुनै पनि व्यवसायिक क्षेत्रका कार्यक्रम अगाडि बढाउनुपर्ने र यसका लागि निजी क्षेत्र तयारी अवस्थामा रहेको चर्चा गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले निजी क्षेत्रको विकासको एउटा खम्बा भएकाले स्थानीय तहले निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्न आग्रह गरे । उनले कुनै पनि क्षेत्रको व्यवसायीकरण गर्न निजी क्षेत्रको खाँचो हुने हुँदा यस कार्यमा स्थानीय सरकार सहजिकरणका लागि तयार हुनुपर्ने बताए ।
यस्तै, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निजी क्षेत्रसँग सहकार्य गरी गाउँपालिकाका पर्यटकीय स्थलको विकास गर्न तयार रहेको बताए । विकासको एउटा खम्बा निजी क्षेत्र भएको उल्लेख गर्दै उनले वस्तु आयात गरी विक्री गर्नुभन्दा उद्योगधन्दा स्थापना गर्नेतर्फ ध्यान दिन उनले आग्रह गरे ।
‘आयतलाई भन्दा स्थानीय स्तरमा उत्पादित वस्तुको व्यवसायिकरण गर्न तथा प्रवर्द्धनमा निजी क्षेत्रले प्राथमिकता दिनुपर्छ’, उनले भने, ‘घरेलु तथा लघु उद्यमको विकासका लागि सबै पालिकाले ध्यान दिनुपर्छ । गाउँगाउँ र टोलटोलमा रहेका आमा समुहलाई उद्यमी समुहमा परिवर्तन गरी आयआर्यजन तर्फ जोड्नुनै अहिलेको आवश्यकता हो ।’
ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले उद्योग वाणिज्य संघले ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर उद्योग सञ्चालन गर्नेतर्फध्यान दिन आग्रह गर्दै त्यसका लागि सहकार्य गर्न आफूहरु तयार रहेको बताए ।
कार्यक्रममा भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले निजी क्षेत्र र स्थानीय सरकारको सहकार्यबाट विकास सम्भव रहेको चर्चा गरे ।
तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, महिला उद्यमी सभापति शकुन्तला आले लगायतले निजी क्षेत्र र स्थानीय तहबीच सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताएका थिए ।
यस्तै, क्यान्सर पीडित व्यवसायी वरुण भट्टराइको उपचारका लागि तनहुँ उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ । तनहुँ उद्योग वाणिज्य संघ विमलनगर इकाईमा आबद्ध भट्टराइको उपचारमा सहयोग पुर्याउन संघले एक लाख २५ हजार सहयोग गरेको हो ।
उक्त रकम संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले शनिबार इकाई सभापति मार्फत् हस्तान्तरण गरेका छन् । व्यवसायीलाई दुख परेका बेला केही राहत होस् भन्नका लागि सहयोग गरिएको श्रेष्ठले बताए ।
संघले स्थापना गरेको भलाई कोष मार्फत उक्त रकम सहयोग गरिएको हो । भलाई कोष मार्फत संघले विरामी भएका व्यवसायी र मृत्यु भएका व्यवसायीका परिवारलाई सहयोग गर्दै आएको छ ।










