लमजुङको मध्यनेपालमा विषादीको मनपरी प्रयोगमाथि नगरपालिकाको कडाई

मध्यनेपाल : खेतबारीमा उत्पादन बढाउने नाममा रासायनिक विषादीको जथाभावी प्रयोग बढ्दै गएपछि लमजुङको मध्यनेपाल नगरपालिकाले विषादीको कारोबारदेखि प्रयोगसम्म कडाइ गर्ने चेतावनी दिएको छ । नगरपालिकाले प्रतिबन्धित, सूचीकृत नभएका तथा दर्ता नगरिएका विषादीको ओसारपसार, ढुवानी, बिक्रीवितरण र प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको हो ।
नगरपालिकाको कृषि शाखाले सार्वजनिक सूचना जारी गर्दै विषादीको अनधिकृत तथा असुरक्षित प्रयोगले किसानको स्वास्थ्यमा मात्र नभई उपभोक्ता, पशुपन्छी, मौरी, माटो, लाभदायक जीव तथा वातावरणमै गम्भीर असर पार्न सक्ने जनाएको छ । विषादीको तत्कालीन प्रभावभन्दा दीर्घकालीन असर अझ गम्भीर हुनसक्ने भन्दै नगरपालिकाले यसको प्रयोगमा सावधानी अपनाउन आग्रह गरेको छ ।
नगरपालिकाले अब विषादी प्रयोग गर्ने किसान मात्र होइन, विषादी बेच्ने व्यवसायी, आपूर्तिकर्ता, फर्म तथा अनुमति लिएर कारोबार गरिरहेका पक्षसमेत निगरानीको दायरामा आउने स्पष्ट पारेको छ। अनुमति नलिई विषादीको कारोबार वा प्रयोग गरेको पाइए कारबाही गरिने र अनुमति प्राप्त पक्षले समेत तोकिएको मापदण्डविपरीत असुरक्षित तथा असन्तुलित ढंगले विषादी प्रयोग गरे कानुनी कारबाही हुने नगरपालिकाले जनाएको छ ।
विषादीको कारोबार र प्रयोगलाई सामान्य कृषि गतिविधिका रूपमा मात्र नलिई कानुनले नियमन गरेको विषयका रूपमा अघि बढाउने नगरपालिकाको चेतावनी छ। जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६, जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ तथा गण्डकी प्रदेश जीवनाशक विषादी व्यवस्थापन ऐन, २०८१ लगायत प्रचलित कानुनअनुसार कारबाही गरिने नगरपालिकाले जनाएको छ ।
‘बाली जोगाउने’ नाममा स्वास्थ्य जोखिम
कृषिमा रोग तथा किराको प्रकोप नियन्त्रण गर्न विषादी प्रयोग आवश्यक पर्ने अवस्था भए पनि मात्रा, समय, विधि र विषादीको छनोटमा सावधानी नअपनाउँदा त्यसको असर खेतबारीभन्दा धेरै टाढासम्म पुग्न सक्छ । विषादीको अवशेष खाद्यवस्तुमा रहन सक्ने, माटोमा रहेका उपयोगी जीव प्रभावित हुन सक्ने तथा पानी र वातावरणमा समेत असर पर्न सक्ने भएकाले यसको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने नगरपालिकाको भनाइ छ ।
विशेषगरी कृषि उत्पादनमा तत्काल परिणाम देखाउने उद्देश्यले आवश्यकता भन्दा बढी विषादी प्रयोग गर्ने प्रवृत्तिले किसान स्वयंलाई जोखिममा पार्न सक्ने देखिन्छ । विषादी छर्कदा आवश्यक सुरक्षा सामग्री प्रयोग नगर्ने, हावाको दिशाको ख्याल नगर्ने, तोकिएको मात्रा नमान्ने तथा छर्किएको बालीमा सुरक्षित अवधि पूरा नहुँदै उत्पादन बजारमा पठाउनेजस्ता गतिविधिले उपभोक्ताको स्वास्थ्यमा समेत असर पार्न सक्छ ।
नगरपालिकाले यस्ता गतिविधि रोक्न किसानलाई रासायनिक विषादीको निर्भरता घटाएर जैविक, वनस्पतिक तथा घरेलु व्यवस्थापन विधि अपनाउन आग्रह गरेको छ । बालीमा लाग्ने रोग, किरा, झारपात तथा अन्य शत्रुजीव नियन्त्रणका लागि सुरक्षित र वातावरणमैत्री उपायलाई प्राथमिकता दिन भनिएको छ ।
गलत प्रयोगले क्षति भए क्षतिपूर्ति
मध्यनेपाल नगरपालिकाले विषादीको गलत प्रयोगबाट अरू व्यक्ति वा पक्षलाई क्षति पुगेमा त्यसको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने चेतावनी दिएको छ । विषादी प्रयोगका कारण मानिस, पशुपन्छी, मौरी, कृषि उत्पादन वा वातावरणमा क्षति पुगेमा कानुनी कारबाहीसँगै क्षतिपूर्ति समेत व्यहोर्नुपर्ने नगरपालिकाले जनाएको छ । यसले विषादी बिक्री गर्ने व्यवसायी तथा प्रयोग गर्ने किसान दुवैलाई आफ्नो जिम्मेवारीप्रति सचेत बनाउन खोजेको देखिन्छ। विशेषगरी दर्ता नभएका वा प्रतिबन्धित विषादी बजारमा कसरी पुगिरहेका छन् भन्ने विषयमा समेत अनुगमन आवश्यक देखिएको छ ।
नगरपालिकाले सूचना जारी गरेर मात्र जिम्मेवारी पूरा नहुने भएकाले अब बजार अनुगमन, विषादी पसलको निरीक्षण, बिक्री अभिलेखको जाँच तथा खेतबारीमा प्रयोगको अवस्थासम्म निगरानी गर्नुपर्ने आवश्यकता देखिन्छ । किसानलाई सुरक्षित प्रयोगबारे व्यवहारिक जानकारी नदिई केवल कारबाहीको चेतावनीले मात्र समस्या समाधान नहुने भएकाले कृषि प्राविधिकमार्फत नियमित सचेतना र परामर्श पनि आवश्यक छ ।
वडा कार्यालयलाई पनि अनुगमनको जिम्मा
नगर प्रमुख रमेशकुमार पाण्डेद्वारा जारी सूचनामार्फत नगरपालिकाका सबै वडा कार्यालयलाई सूचना प्रचारप्रसारसँगै आवश्यक अनुगमन तथा निरीक्षण गर्न निर्देशन दिइएको छ । वडा तहसम्मै विषादीको प्रयोग र कारोबारको अवस्थाबारे निगरानी बढाउने नगरपालिकाको तयारी छ ।
कृषि उत्पादन बढाउने नाममा रासायनिक विषादीको प्रयोग अनियन्त्रित हुँदै गए त्यसको असर किसानको स्वास्थ्य, उपभोक्ताको खाद्य सुरक्षा र कृषि प्रणालीको दीर्घकालीन स्थायित्वमा पर्न सक्छ । त्यसैले नगरपालिकाको चेतावनी कार्यान्वयनको मुख्य परीक्षा अब प्रतिबन्धित विषादीको बिक्री रोक्न, दर्ता नभएका विषादी बजारबाट हटाउन र असुरक्षित प्रयोगमाथि वास्तविक कारबाही गर्न सक्ने क्षमतामा हुनेछ ।
कानुनमा व्यवस्था भए पनि कार्यान्वयन कमजोर रहे विषादी नियन्त्रणको सूचना कागजमै सीमित हुने जोखिम रहन्छ । त्यसैले किसानलाई सुरक्षित विकल्प उपलब्ध गराउने, विषादी विक्रेतालाई नियमन गर्ने र नियम उल्लंघन गर्नेलाई कानुनअनुसार कारबाही गर्ने तीनवटै पक्षलाई एकसाथ अघि बढाउनुपर्ने देखिन्छ ।
मध्यनेपाल नगरपालिकाले विषादी प्रयोगलाई केवल किसानको व्यक्तिगत निर्णय नभई मानव स्वास्थ्य, खाद्य सुरक्षा र वातावरणसँग जोडिएको सार्वजनिक सरोकारको विषयका रूपमा अघि सारेको छ । अब नगरपालिकाको चेतावनी व्यवहारमा कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्नेमा स्थानीय किसान, उपभोक्ता र कृषि व्यवसायीको चासो रहनेछ ।










