तनहुँमा आयुर्वेद उपचार सेवामा आकर्षण बढ्दै

दमौली : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले एक वर्षमा २६ हजार छ सय ८४ सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा उक्त सङ्ख्यामा सेवाग्राहीलाई सेवा प्रदान गरेको हो ।
आयुर्वेद सेवाप्रति जिल्लामा सर्वसाधारणको आकर्षण बढ्दै गएको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । कार्यालयले आव २०७९/८० मा भन्दा गत आवमा सात हजार चार सय ६७ बढीले सेवा लिएको कार्यालयका आयुर्वेद चिकित्सक डा नारायण श्रेष्ठले बताउनुभयो ।
बहिरङ्ग (ओपिडी) नौ हजार दुई सय ७१, ज्येष्ठ नागरिक सेवा एक हजार छ सय २४, योग आठ हजार तीन सय ४३, पञ्चकर्म तथा पूर्वकर्म पाँच हजार पाँच सय १३, स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ दुग्धवद्र्धक सेवा दुई सय ८१, क्षार सूत्र १७, प्रयोगशाला सात सय ६३ र फिजियोथेरापी आठ सय ७२ जनाले लिएको उहाँले जानकारी दिनुभयो ।
जिल्लाका चार ठाउँमा नागरिक आरोग्य केन्द्र विस्तार भएको छ । डा श्रेष्ठका अनुसार बन्दीपुर गाउँपालिका–१ मा डुम्रे, घिरिङ गाउँपालिका–५ मा घिरिङ, देवघाट गाउँपालिका–५ मा देवघाट र आँबुखैरेनी गाउँपालिका–१ मा आँबुखैरेनी नागरिक आरोग्य सेवाकेन्द्र सञ्चालनमा आएका छन् ।
जिल्लाका तीन पालिकामा अझै पनि आयुर्वेद स्वास्थ्य सेवा पु¥याउन नसकिएको उहाँको भनाइ छ । “दश पालिकामध्ये देवघाट, आँबुखैरेनी र घिरिङ गाउँपालिकामा आयुर्वेद स्वास्थ्य संस्था पुगेको छैन । ती पालिकामा नागरिक आरोग्य सेवा सञ्चालनमा ल्याएका छौँ”, उहाँले भन्नुभयो ।
केन्द्रले पतञ्जली योग समितिसँग समन्वयगरी कार्यालयको योगहलमा स्वस्थ जीवन कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्लाका स्थानीय तह तथा सरोकार भएकासँग निरन्तर समन्वय र सहकार्य गर्दै आयुर्वेदिक उपचार प्रणालीको प्रवर्द्धन गरिरहेको डा श्रेष्ठले बताउनुभयो । कार्यालयका लागि सात जनाको स्वीकृत दरबन्दी रहेकामा हाल पाँच जना कार्यरत छन् । उहाँका अनुसार केन्द्रमा ढाड दुख्ने समस्या भएका बिरामीलाई लक्षितगरी थेरापी मेसिन सञ्चालन गरिएको छ ।
गण्डकी प्रदेश सरकारको सहयोगमा कार्यालयले थेरापी मेसिन खरिद गरेर सञ्चालनमा ल्याएपछि ढाड दुख्ने समस्या भएका बिरामीको सङ्ख्या बढेको केन्द्रका डा श्रेष्ठले उल्लेख गर्नुभयो । “आयुर्वेद उपचारमा उपयोगी पञ्चकर्म, फिजियोथेरापी तथा क्षारसुत्रका साथै रोग अनुसार दैनिक योग पनि सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “आयुर्वेदिक स्वास्थ्य सेवाप्रति सर्वसाधारणको आकर्षण बढेसँगै कर्मचारीको सीप, उत्साह र जाँगरमा वृद्धि हुँदै गएको छ ।”
विसं २०५२ मा स्थापित आयुर्वेद स्वास्थ्य केन्द्रले रोग निदानात्मक, उपचारात्मक, स्वास्थ्य प्रवर्द्धनात्मक, रोग रोकथाम र स्वास्थ्य परामर्शका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । प्रदेश निर्देशनालयले आयुर्वेद संस्थाको अनुसन्धानगरी दरबन्दी थप गर्नुपर्ने, चारपाङ्ग्रे सवारीसाधनको व्यवस्था गर्नुपर्ने, औषधि खरिद गर्न बजेट वृद्धि गर्नुपर्नेमा डा श्रेष्ठले जोड दिनुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker