२७ जना विपन्न बालबालिकालाई पालनपोषण गर्दै भानुका ८५ वर्षीय अमरसिंह

भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिका-७ चन्दनीस्थित चण्डिका बालगृहमा २७ विपन्न बालबालिका छन् । गरिबीको रेखामुनी रहेका र विभिन्न समस्यामा परेका ती बालबालिकाले यहाँ आश्रय पाएका छन् ।

उक्त बालगृहमा दश वर्षदेखि विभिन्न ठाउँका बालबालिकाले आश्रय पाएका छन् । बालगृहको मासिक खर्च रु ७५ हजारभन्दा बढी छ । सरकारी निकाय वा संघसंस्थाले यो बालगृह सञ्चालन गरेको होइन ।

स्थानीय समाजसेवी ८५ वर्षीय गुरुङले यो बालगृह सञ्चालन गरिरहनुभएको छ । मासिकरुपमा आउने खर्चको व्यवस्थापन पनि स्वयं गुरुङले नै गर्दै आउनुभएको छ । चण्डिका आधारभूत विद्यालयका पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहनुभएका गुरुङले विपन्न बालबालिकालाई आश्रय दिन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई सामाजिक काम गर्न पहिलेदेखि रुची हो । गरिबीको रेखामुनि रहेका बालबालिकालाई पालनपोषण गरिरहेको छु । मलाई आत्मसन्तुष्टि छ ।”

अपाङ्गता भएका बालबालिकालाई पनि बालगृहमा राख्न प्रयास गरिए पनि केही प्राविधिक कारणले त्यो सफल हुन नसकेको उहाँको भनाइ छ । गुरुङका छोराछोरी विदेशमा हुनुहुन्छ । छोराछोरीले नै मासिकरुपमा पैसा पठाइदिने र सोही पैसाबाट बालगृहका बालबच्चाको पालनपोषण गर्न सहयोग पुगेको उहाँ बताउनुहन्छ। उहाँले भन्नुभयो, “कुनै सरकारी निकायको सहयोग छैन, मैले व्यक्तिगतरुपमा नै यसको व्यवस्थापन गरिरहेको छु ।”

गुरुङले बालगृह व्यवस्थापनका लागि आफ्ना नाममा रहेको थुप्रै जग्गा बेचिसक्नुभएको छ । “५०/६० मुर धान उत्पादन हुने जग्गाजमिन पनि बालबाालिकाका निमित्त बेचेँ, अब पाँच/छ रोपनी खेत बाँकी छ। त्यो पनि आवश्यक परे बालबालिकाको हितमा खर्च गर्न सक्छु,” उहाँले भन्नुभयो ।

८५ वर्षको उमेरसम्म पनि समाजसेवामा सक्रिय हुनुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “राम्रो काम गर्नका लागि उमेर बाधक नबन्दो रहेछ, राम्रैसँग खटिरहेको छु जस्तो लाग्छ ।” कृषि ज्ञान केन्द्र तनहुँको सहयोगमा बालगृह वरपर रहेको जग्गामा फलफूलका बिरुवा रोपण गरिएको छ ।

बालगृहको अवस्थाका बारेमा जानकारी पाएपछि बालबालिकालाई कृषिसँग जोड्नका लागि सुन्तला, कागती, एभोकाडो, आँप, लिचीका बिरुवा रोपिएको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार निकट भविष्यमा तरकारी खेतीका लागि पनि सहयोग गरिनेछ ।

उहाँले भन्नुभयो, “एउटा व्यक्तिको प्रयासले बालगृह सञ्चालन गर्नु सकारात्मक काम हो। असहाय बालबालिकाका लागि सबैको सहयोग आवश्यक छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker