सर्वाधिक पुरस्कार राशीको १७औं भानु कप फूटबल प्रतियोगिताको तयारी अन्तिमचरणमा

भानु । तनहुँको भानु नगरपालिकास्थित भन्सारमा आयोजित १७औं भानुकप फुटबल प्रतियोगिताको तयारी अन्तिमचरणमा पुगेको आयोजनकले जनाएको छ। क्लबले शनिबार भानुकपको तयारीका विषयमा जानकारी गराउँदै साउन १९ गतेदेखि भानु नगरपालिका–१ भन्सार स्थित खेलमैदानमा आयोजनाको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको संयोजक बिष्णु अधिकारीले बताए ।
भनुलाई राष्ट्रिय रुपमा चिनाउने उद्देश्यले प्रतियोगिता गरिएको खेल संयोजक भरत बानियाँले बताए । भानुकप २०५९ सालदेखि सञ्चालन गर्दै आइएको भएपनि कोरोना भाइर संक्रमण जोखिमका कारण केही समय रोकिएको र अहिले अवस्था सहज भएपछि प्रतियोगितालाई निरन्तरता दिइएको भन्सार युवा क्लबका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताए ।
खुल्ला नकआउट फुटबल प्रतियोगिता भएकाले विभिन्न ठाउँबाट खेलाडीले सहभागिता जनाएका छन् । खेलाडीलाई आकर्षण गर्न प्रत्येक वर्ष पुरस्कारको राशी पनि वृद्धि गराउँदै लगिएको आर्थिक संयोजक सोम तामाङले बताए ।
साहित्यिक धरोहर आदिकवि भानुभक्त आचार्यलाई विश्व माझ चिनाउन पनि यो प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए । खेलाडी उत्पादन गर्न पनि यस्ता प्रतियोगिताले सहयोग पु¥याउने बताउँदै उनले भने, ‘सुबिधा सम्पन्न खेलमैदान नभएकाले त्यसको विषयमा पनि सोच्नुपर्ने समय आएको छ । भानुभक्त राष्ट्रको गहना भएकाले यसको विकासमा पनि राज्यले चासो लिनुपर्ने हुन्छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका उपाध्यक्ष डिपि अधिकारीले खेलकुदले शारीरिक एवं मानसिक विकासमा समेत सहयोग पुग्ने र राष्ट्रिय खेलाडि उत्पादनमा सहयोग पुग्ने भएकाले क्लबले यस्ता प्रतियोगिता समय समयमा सञ्चालन गर्नुपर्ने र सरोकारवाला निकायले पनि साथ सहयोग दिनुपर्ने बताए ।
भन्सार युवा परिवार, सालबिस्ने र भिमसेन युवा क्लबको संयुक्त आयोजनामा फुटबल प्रतियोगिता गर्दै आइएको छ । प्रतियोगितामा प्रथम हुनेले २ लाख ५० हजार २११ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै द्धित्तीयले एक लाख २५ हजर २११ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र र सेमीफाईनलमा पुग्ने २ टिमलाइ २५ हजार २११ रुपैयाँको साथमा र प्रमाणपत्र, उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार २११ ट्रफी, मेडल, प्रमाणपत्र, उत्कृष्ट गोल रक्षकलाई नगद रु ५ हजार २ सय ११ ट्रफी, मेडल, प्रमाणपत्र, सर्बाधिक गोलकर्तालाई नगद ५ हजार २११ र ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने प्रचार प्रसार समितिका राजेश कार्कीले बताए । उनका अनुसार अनुशासित टिमलाई उचित पुरस्कार साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचको घोषणा गरिने छ भने प्रतियोगितामा २४ टिमको सहभागिता रहने छ ।
यस्तै, छेलो तर्फ प्रथम पुरस्कार ६ हजार २११ र प्रमाणपत्र र बाघचाल तर्फ प्रथम पुरस्कार ६ हजार २११, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
१७औं भानुकप फुटबल प्रतियोगिताको पूर्वसन्ध्यालाई लिएर भन्सारमा शनिबार आयोजित मैत्रीपूर्ण फुटबलमा नेपाल पत्रकार महासंघ तनहुँ विजयी भएको छ । मैत्रीपूर्ण फुटबलमा महासंघ तनहुँले आयोजक भन्सार युवा परिवारलाई ४–३ गोलले पराजित गरेको हो ।
२११औं भानु जयन्तीका अवसरमा यही साउन १९ गतेबाट हुने १७औं भानुकप फुटबल प्रतियोगितालाई लिएर आयोजक र पत्रकार बीच मैत्रीपूर्ण फुटबल गरिएको थियो ।