व्यासका मेयर ज्यूलाई खुल्लापत्र : कहिलेसम्म रिस्तीबासी बत्तिमुनिको अध्यारोमा बस्ने ?

नवीनराज पौडेल

आदरणीय ब्यास नगरपालिका दमौलीका मेयर बैकुण्ठ न्यौपाने ज्यू ! जय नेपाल ।

भेटेरै कुरा गर्ने तीब्र चाहाना थियो तर मनको हुटहुटीले खुल्लापत्र लेख्न बाध्य पार्‍यो, मन दुखे माफ गर्नुहोला ।

तपाईको जितसंगै विजय जुलुस मनाउदा अत्यन्तै खुसी थिए र छु पनि । दोश्रो कार्यकालको लागि कडा प्रतिश्प्रधामा चुनाब जितेको दिनबाटै तपाई जनताको घर दैलोमा समस्या समाधान गर्दै हिडेको देख्दा ब्यास नगरपालिकाले सच्चा, परिश्रमी र कर्मनिष्ठ उम्मेदवार पाएको महशुस गरेको थिए ।

मेयर ज्यू ! जनता जनार्दन हुन । अघिलो योजना पूरा हुनुपर्छ भन्दै जनताले यसपालि अरू दललाई पर्छार्दै कुशल व्यक्तिको छनौट गरेका हन । एमाले सहितको बलियो स्वतन्त्र गठबन्धनलाई पराजित गर्दै यसपालि कांग्रेसको तर्फाट तपाईंले कडा टक्करमा विजय हुने चानचुने कुरा थिएन । अवसरवादी, आत्मघाती र कांग्रेस भित्रका भाईरसहरूलाई गतिलो थप्पड पनि थियो त्यो जित ।

पार्टीको हैसियतसंगै तपाईंको व्याक्तिगत पहिचान, लगनशीलता र कर्तव्यनिष्ठताले जनताले हजुरलाई चुनेका हुन भन्ने बुजेको छु मैले । तपाईं प्रति जनताको धेरै आशा अनि भरोसा छ । मलाई पुरा विश्वास छ तपाईं त्यो अग्नि परिक्षामा खरो उत्रनु हुनेछ । हिजोको ५ वर्षमा पुरा नभएका कार्ययोजनाले अबको ५ वर्षमा पूर्णता पाउनेछ ।

याद रहोस् मेयर ज्यू ! हजुरले बोलेका र गरेका बाचा हामीसँग सामाजिक संजालमा सुरक्षित छन । तपाईं पेशाले वकिल र प्राध्यापक हुनुहुन्छ । एउटा मध्यम परिवारबाट तनहुँको राजनीतिमा आउनु भएको हो भन्ने बुझेको छु । गरिबी, भोक, प्यास र बिपन्नतालाई नजिकैबाट नियाल्नु भएको छ ।

भोकानाङ्गा र दिनदुःखीको पीडालाई नजिकबाट बुझ्नु भएको छ । सबैलाई एक साथ समेटेर लैजान सक्ने हजुरमा क्षमता छ । जुन चाहना जनताले राखेका छन् । हाम्रो चाहना नेताले हामीलाई पैसाको मुठो बाडुन भन्ने कदापी होईन । हाम्रो शहर विकास र समृद्धिसँग जोडिएको, बाटो, शिक्षा स्वास्थ्य, बिजुली पानी हरेक घरले भोकचलन गर्न पाओस् । शान्ति सुरक्षाको महशुस गर्न पाईयोस । जातीय, धर्मिक, लैङ्गकि, सामाजिक मतभेद्को अन्त्य होस । हरेक धर्मको सम्मान होस सब मिलिजुली बस्न पाइयोस । हाम्रो नगरले विकासका पूर्वाधार चुम्न सकोस । जनताको चाहना यति हो भन्ने मैले राम्रोसंग बुझेको छु ।

केही महिनादेखि म मेरो पुख्र्यौली जन्मथलो स्याहार सुसार गर्दैछु त्यो हजुरले विकास गर्न बाचा गरेको र तपाईलाई रिपोलिङ हुँदा उत्साहजनक मतान्तर सहित जित निकाल्न सघाएको वडा हो ब्यास-८ रिस्ती, जुन बहालवाला राष्ट्रपति रामचन्द्र पौडेलज्युको समेत जन्मथलो हो ।

विकासको दृष्टीले अत्यन्तै नाजुक र पछि परेको सर्बबिदितै छ । नेपाली राजनीतिमा सधै शीर्ष भुमिकामा रहदा रामचन्द्र पौडेलले जिल्लाको सुदुर उत्तरमा पर्ने यो वडाको बृहत्तर हितमा काम नगर्नु भएको होईन । ठुला काम थालनी भए तर अधुरा रहे । देशमा बर्बर द्वन्द्व हुँदा हुनेखाने धेरै बर्साई सरे । कम जनसंख्या र भौगोलिक कठनाई विकास बाधक बन्यो । त्यै पनि उहाँको जोड बिशेष र स्मरणीय नै छ र थियो पनी । अब सकृय राजनीति त्यागेर सम्माननीय पदमा बसेपछि उहाँको दायित्व समेत बहन गर्ने अभिभारा तपाईमा आएको छ । तर तपाईले चुनाबमा घोषणा गरेका साना मसिना काम समेत नगर्दा र बेवास्ता गरिदा बत्ति मुनिको अध्यारो भएको छ रिस्ती ।

मेयरज्यु तनहुँ हुँदै जाने कालिका मार्गको काम थालनि भएको छ कालान्तरमा बन्दै जाला तर वडासम्म लमजुङबाट छोएको पहुचमार्ग पिच गर्न कस्ले रोक्यो ? जवाफ खोजेका छन जनताले । आजसम्म रिस्ती उपत्यकामा डक्टर वा एच ए सहितको स्वास्थ्य चौकि छैन सामान्य उपचार समेत गर्ने ठाउँ छैन के यो वडाका बासिन्दा नगरपालीका होईनन कि यिनीहरू अर्कै दर्जाका हुन ।

केहीदिन अघि वडा भवनमा सामान्य काम परेर छिरेको थिए वडामा बसेकै समय बेजोडको पानी पर्‍यो । वडा कार्यालयमा पानी चुहेको दृश्य देखेर म त मुकदर्शक थिए । वडाध्यक्ष स्वयं फेसबुक लाईभ गर्दै हुनुहुन्थ्यो । उहाँलाई बिचरा भन्ने बाहेक मसंग अरू कुनै शब्द थिएन । वडा भवन आजसम्म किन बनेन भनेर प्रश्न गर्ने त आटै आएन । यो सायद मेरो जीवनकै अबिस्मरणीय घटना होला । मेयर ज्यु ! तपाईको मेनफेस्टोमा यो बन्ने कुरा लेखिएको थिएन र ?

तपाईले विकास उन्मुख देश र भू-भागको सफल भ्रमण गरिसक्नु भएको छ । देश विकास र राष्ट्र राष्ट्रियतालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कार्ययोजनाको स्पष्ट खाका कोर्न सक्नु हुन्छ । कसरी विकासको चरमचुलीमा पुग्न सकिन्छ भन्ने राम्रो ज्ञान हजुरमा छ । हजुर कुशल अनि सक्षम हुनुहुन्छ भन्ने विश्वासका साथ जनताले हजुरलाई निर्वाचनमा विजयी गराएका छन् ।

हाम्रो वडाको नमुना र ऐतिहासीक बस्ती हो सहिद बस्ती पुलिमराङ । जुन ठाउँ धेरै भुपु सैनिक र अब्बल दर्जा र बिशिष्ट ब्यक्तित्वहरूलाई जन्माएको थलो हो । नेपाली लोकतान्त्रीक आन्दोलनको झिल्को कोरिएको सहिदको रगत सिन्चित भुगोल हो । यो गाउँ र ठाउँमा नपुग्ने सायदै होलान, पुगेपछि अत्यन्तै रमणीय छ ठाउँ तर के यो ठाउँका मानिस बर्खामा बिरामी हुदैनन हो ? कि हिउँदमा मात्र आवतजावत गर्छन ? मैले बुझिन उनिहरुले खोजेका केही छैनन । पिच बाटो पनि होईन उच्च स्तरीय ग्राभेल बाटो जहाँ हिउँद बर्खा सधै यातायातका साधन चलोस् । बिडम्बना पानी परे तलै बास बस्नुपर्ने तर बस्ने ठाउँ छैन अनि हिडेरै घर पुग्नुको बिकल्प छैन उनिहरूसंग । अब भन्नुस यो सामान्य समस्या हल कसले गर्ने ? कि स्थानीय सरकार हेरिरहने अरूले स्वाद फेरिरहने हो ? मेयर ज्यु प्रदेश र संघीय सरकारमा जान पनि त तपाईको पहल र दायित्व बढि हुन्छ होईन र ? संगै प्रदेश र संघका प्रतिनिधिलाई पनि यो प्रश्न सोधौला ।

मुटुभरी घरपरिवारको सम्झना, मन भरी देशको माया बोकेर आँसुको धारले मुख पुछ्दै दिनहुँ हजारौंको संख्यामा विदेशीने युवाको आशाको दियो बन्नपर्छ तपाईं । आफ्नै सन्तानबाट अपहेलित भएर घरबाट निकालिएका वृद्ध बावुआमाको भरोसाको खम्बा हुनुपर्दछ तपाई । अन्यायमा परेका चेलिबेटीको माइती बन्नपर्छ तपाईं । बेरोजगारीको पीडामा छटपटाइ रहेका युवाको बलियो आधारशिला हो तपाई । बर्सौदेखि पिछडिएका रोग, भोकसंग पैठ्यजोरी खेलिरहेका तनहुँका जनताका मेयर हुनुहुन्छ तपाई ।

त्यसैले आफ्नो प्रतिवद्धतामा कत्ति पनि बिचलित नभएर काम र कर्तव्य पुरा गर्दै जानु । हरेक समयमा जनतासंग हातमा-हात मिलाएर अगाडि बढनु । अबको ४ बर्षमा नेपालकै नमुना शहर भनि ब्यास नगरपालिकालाई चिनाउने काम गर्नु । विकसीत शहरको रुपमा देश विदेशमा चिनियोस् हाम्रो तनहुँ । राजनीतिलाई फोहोरी खेल भन्दै देश विकासको हातेमालोबाट पन्छिन खोज्ने युवाहरुलाई मुलधारमा लिएर राजनीति भित्र सबै खराब र गलत र अबसरबादी आचरण भएको ब्याक्ति मात्रै होइनन्, लौ है बैकुन्ठ जस्ता होनहार र कर्तब्यनिष्ठ ब्यक्ति पनि छन भनेर अलग छवि कायम गर्न सक्नु । अब आउने चुनाबमा भोट माग्न घर-घर जान नपरोस ।

जनताको इच्छा कांग्रेसलाई नै भोट हाल्न आतुर हुन । ब्यास नेपालकै नमुना शहर बनोस । अहिले मात्र होइन तनहुँबासीले आगामी सयौ बर्षसम्म बैकुयठ बैकुण्ठ भनुन । हजुरहरुले भने जस्तै रोजगारीको शहर बनोस दमौली । युवा व्यावसायिकको गन्तव्य बनोस दमौली । सफा स्वच्छ र हराभराको पहिचान बनोस दमौली । फूलैफूलको बगैंचा भनेर नेपालमा मात्र होईन विश्वसामु अलग पहिचनसहित चिनियोस हाम्रो तनहुँ । समृद्ध र राम्रो तनहुँ भन्दै बाँकी कार्यकाल सफलताको हार्दिक शुभकामना ।

उही तपाईको शुभचिन्तक
नवीनराज पौडेल
अध्यक्ष : रिस्ती विकास समाज
ब्यास नगरपालिका-८, रिस्ती, तनहुँ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker