लिगलिगकोटमा झण्डा फरर…

शाहवंशको सुरुवात भएको जिल्ला हो गोरखा । गोरखनाथ, गोरखकाली र मनकामनासमेत गोरखामा ऐतिहासिक धार्मिकस्थल छ । नेपालको भूगोलमा तिब्बती सीमादेखि तर्राईको जिल्लासँग जोडिएको जिल्ला पनि गोरखा हो । उत्तरी भेग अर्थात सिर्दिबासदेखि माथिका दुर्गम भूगोल जसलाइ हिमालपारीको गोरखा भन्ने गरिन्छ । त्यहाँ रहेका मनास्लु, हिमालचुली, नाधी चुली, बौद्ध हिमालहरुले आन्तरिक एवं वाहृय पर्यटकहरुलाई आकर्षण गराएको छ ।
द्रव्य शाह दौडेर राजा भएको ऐतिहासिक स्थल लिगलिगकोटमा देशकै सबैभन्दा ठूलो नेपालको राष्ट्रिय झण्डा फरफराउन थालेको छ । अहिले सम्मकै अग्लो मानीने ४० फिट अग्लो राष्ट्रिय झण्डा लिगलिगकोटमा राखेपछि पर्यटकको चहल पहल बढेको छ । पालुङटार नगरपालिकाको ऐतिहासिक लिगलिगकोटको थुम्कामा झण्डा फररर भएपछि ऐतिहासिक खोज अनुसंन्धान गर्ने पर्यटकहरु पुग्ने गरेका छन् । लिगलगिकोटमा राखिएको झण्डाले सबै नेपालीमा राष्ट्रियताको भावना जागृत गराएको छ । गण्डकी प्रदेश सरकारले गोरखाका पर्यटकीय गन्तव्यहरुमा गोरखा दरवार र गोरखा संग्राहलय, मनकामना मन्दिर, श्रीनाथकोट मण्डली, अजिरकोट, गोरखाकालिका, बारपाक, लाप्राक, मनास्लु हिमाल, मनास्लु संरक्षण क्षेत्र, लार्केपास, छेकम्पार र लिगलिगकोट समेतलाई पर्यटकीय गन्तब्य बनाएको छ ।
लिगलिगकोट ऐतिहासिक दृष्टिकोणले त महत्वपूर्ण छँदैछ । प्राकृतिकरुपमा पनि अति नै मनोरम छ । लिगलिगकोटको चुलीमा पुगेपछि देखिने दृश्य अत्यन्तै मनमोहक छ। लिगलिगकोटको चुलीबाट चारैतिरको मनोरम दृश्य हेर्न सकिन्छ । यहाँबाट देखिने चेपे नदी, लमजुङ र तनहुँको दृश्यले पर्यटकहरुको मनै लोभ्याउछ । चेपेनदी ऐतिहासिक मानिन्छ । जहा पृथ्वीनारायण शाहले वि.स. १७९६ मा लमजुङका राजा रिपुमर्दन शाहसंग चेपेघाटमा सन्धि गरेका थिए । चेपेनदीमानै नरहरि शाह र द्रब्य शाहको झगडा मिलाउन यशोव्रह शाहको रानीले दशधारा दुध चेपेनदीमा बगाई दुबै दाजु भाइलाई चेपेनदी वारपार नगर्नु भनि सिमा तोकिएको नदी पनि हो । राष्ट्रिय एकताको पहिचानको उदगमस्थलको रुपमा विकास गराउन र पर्यटकहरुलाई आकर्षण गराउन लिगलिगकोटमा ठूलो राष्ट्रिय झण्डा राखिएको हो । पर्यटन विकासको पूर्वाधारहरु तयार गदै लिगलिगकोट पुग्ने पर्यटकका लागि लिगलिग दौड सुरु हुने मर्स्याङदी र चेपे दोभान, ऐतिहासिक कालु पाण्डेको जन्मस्थल, कोटगढी, प्रसिद्ध धार्मिक स्थल अन्नपूर्ण मन्दिर, तालपोखरी, तातोपानी भुलभुले खार, थानीमाई मन्दिर पर्यटन पदमार्ग बनाउने योजना नगरपालिकाको छ ।
लिगलिगकोट समुन्द्री सतहबाट करिब १ हजार ४३७ मिटर उचाइमा रहेको छ । लिगलिगकोट नेपाल एकिकरणको सुरुवातकर्ता मानिएका द्रव्य शाहको दरवार रहेको स्थान हो । लिगलिगकोट पुग्ने पर्यटकले अहिले दरवार नभए पनि दरवारको भग्नावशेष देख्न सक्दछन् । पर्यटकहरुले कोट आसपासमा भत्किएर भग्नावशेष रुपमा रहेका करिब आधा दर्जन घर, कालिका, भूमेलगायतका स-साना देवीदेवताका मन्दिर पनि लिगलिगकोटमा छन् । संसारमा सबैभन्दा पहिले प्रजातन्त्रको अभ्यास पनि लिगलिगकोटमै भएको थियो । अमेरिकामा सन् १७७९ मा मात्रै प्रजातन्त्रको अभ्यास भएको थियो । लिगलिगमा १५४६ मै लोकतन्त्रको अभ्यास भएको थियो । यतिमात्र नभइ गणतन्त्रको पहिलो अभ्यास पनि लिगलिगमै भएको थियो।
लिगलिग दौडमा पहिलो हुने राजा हुन पाउँथ्यो र दौडमा जुनसुकै भाषा, धर्म, जातजातिका भए पनि भाग लिन पाउँथे । वि.स. १६१५ मा द्रव्य शाह दौड जितेर राजा भएका थिए । त्यतिबेला राजा छनोट गर्दा हाम्रालाइ भन्दा पनि राम्रालाइ छनोट गरिन्थ्यो। लिगलिगकोटबाटै शाह वंशको स्थापना भएको हो । द्रव्य शाहदेखि २३ जना शाह वंशीय राजाहरुले नेपालमा शासन गरे । त्यसैले लिगलिगलाइ शाह वंशको सुरुवात बिन्दु पनि भनिन्छ । लिगलिगकोट दरबार क्षेत्रका ढुङ्गा ५ सय वर्ष अगाडि कटिङ गरिएको थियो । हाल यिनै ढुङगालाइ मिलाएर दरबारको जगको आकार बनाइएको छ ।
यशोब्रहृम शाहले पोंजोको घले राजालाइ मर्स्याङ्दी किनारमा मारेपछि घलेका सन्तान कोही भाइ गोरखा, कोही भाइ नेपाल अर्थात काठमाडौं तर्फ भागी गए । गोर्खा गएकाहरुले लिगलिगकोट, गोरखा उपल्लोकोट, बारपाक र स्यार्तानमा रजाइँ गरी बसे । लिगलिगकोटका घलेहरु बडादसैंका दिन चेपे र मर्स्याङ्दीको संगम चेपेघाटमा भेला भइ चाड मानी टीका लगाइ भोज भत्यारा खान्थे । त्यसपछि सबै एकैचोटि दगुरेर जसले सबैभन्दा पहिले कोटमा पुग्न सक्यो त्यसैलाई सबैले टीका लगाएर त्यस वर्षको राजा मान्थे । यसरी लिगलिगमा वर्षैपिच्छे राजा फेरिने प्रचचलन थियो । वि.सं. १६०४ को असोजमा विजयादशमीका दिन पहिलोपटक १९ वर्षका दलसुर घले मगरले लिगलिग दौड प्रतियोगिता जितेर राजा भएका थिए । लिगलिगे दौडमा चेपे र मर्स्याङदी नदीको दोभानबाट लिगलिगकोट सम्मको १३.५ कि.मी दूरी पर्दछ । प्रतियोगिताको उपाधि विजेताले श्रीपेच र पगरीको साथमा नगद पनि पुरस्कार प्राप्त गर्दछन । भने एक रात लिगलिगको राजा बनाइन्छ र वर्ष दिनसम्म अवैतनिक दूत बनाइने प्रचलन छ ।
प्राचीन समयमा गोरखा विभिन्न राजवंशद्वारा शासित भएको थियो । राजा यक्ष मल्ल पछि, तत्कालिन गोरखा राज्य राजा मुकुन्द सेनको कब्जामा पुग्यो । शक्तिशाली राजा मुकुन्द सेनले उपत्यकामा तीन प्रमुख हमलाको प्रयास गरेका थिए तर सफल हुन सकेनन् । बिसं १६०३ मा मुकुन्द सेनको मृत्यु पश्चात उनको छोरा पिताले विजय प्राप्त गरेको विशाल भूमि शासन गर्नमा असमर्थ भए । त्यसपछि विभिन्न राज्यका मुखियाहरुले आफूलाई राजा घोषणा गरी राजकाज चलाउन थाले । यसरी मुकुन्द सेनको राज्य टुक्रिएर गोरखा क्षेत्रमा नै लिगलिग, माझकोट, सिरानचोक, अजिरकोट, बार्पाक आदि राज्यमा विभाजित भयो । यसरी विभाजित राज्यहरु मध्ये लिगलिगकोटमा दौडबाट राजा छान्ने नयाँ परम्पराको थालनी भयो ।
लिगलिगकोटको नाम स्थानीय मगर भाषामा सुन्दर र मनमोहक दृश्यावलोकनलाइ प्रयोग गरिने शब्द लिङलिङ र युद्धसामग्री राखिने स्थान तथा अग्लो स्थानमा रहेको किल्लाको लागि प्रयोग हुने शब्द कोट मिलेर बनेको लिङलिङकोटबाट अपभ्रंश भएर बनेको नाम हो । मगरभाषामा लिङलिङ भन्नाले स्निग्ध, सफा, कञ्चन, खुल्ला प्राकृतिक दृश्य भन्ने बुझिन्छ । लिगलिगमा लामो समयसम्म घले मगरहरुको शासन रहेका थिए । यस दरबारबाट हेर्दा अहिले पनि चारै क्षीतिजका प्राकृतिक छटाहरु खुला, देखिने भएकाले लिङलिङबाट नै लिगलिग रहन गएको तर्क गरिन्छ । लिगलिगकोट पहिले मगर राज्य रहेको थियो । यो राज्यमा बढी चलनचल्तीमा मगरभाषा थियो। खस राजाहरुले गोरखा राज्य कब्जा गरेपछि मगरभाषाको सट्टा खसभाषा प्रयोगमा आउन थालेको हो ।
गोरखाको ऐतिहासिक, धारि्मक र सास्कृतिक महत्व बोकेको लिगलिगकोटमा घुमफिर गर्नको लागि पर्यटकको रोजाइ पर्न थालेको छ । लिगलिगकोटमा आजभोली आन्तरिक एवं वाहृय पर्यटकहरु, शैक्षिक भ्रमण र पिकनिकका लागि विद्याथीहरु जाने क्रम बढन थालेको छ । लिगलिगकोटमा पुग्ने पर्यटकको लागि सहयोगी टुर गाइडको रुपमा स्थानीय मानिसहरुले सहयोग गर्दै आएका छन । लिगलिगकोटको डाँडाबाट सेता टिलिक्क टल्कने बौद्ध हिमाल, मनास्लु, हिमालचुली, गणेश हिमाल लगायतका दर्जन बढि हिम श्रृंखलाहरुको अवलोकन गर्न सकिन्छ। हिमालहरुले पर्यटकहरुको मन लोभ्याउने गरेको छ । लिगलिगकोटमा अन्तराष्ट्रिय स्तरको म्युजियम पनि बन्ने भएको छ । म्युजियममा बाइसे, चौबिसे राजा रजौटा देखि नेपाल एकिकरणका बेलामा प्रयोग गरिएका पोशाकहरु, त्यस समयमा प्रयोग गरिएका हातहतियारहरु, तत्कालिन समयका बारेमा लेखिएका इतिहास जस्ता सामाग्री राखिने छ । लिगलिगकोटलाई लक्षित गरेर चेपेघाट, लिगलिगकोट, भुसुन्ने फाँट हुदै गोरखा दरबार सम्म पदमार्ग निर्माण हुन लागेको छ ।
लिगलिगकोट पुग्ने पर्यटकहरुले आफ्नो भ्रमण समय बढाउन सके अजिरकोटमा पर्ने भच्चेकको तम्कीगाउँ पुग्नै पर्दछ । पर्यटकको लागि अजिरकोट पर्यटन मात्र होइन धार्मिक र सांस्कृतिक गन्तब्य हो । अजिरकोटबाट मनास्लु, हिमालचुली, बौद्धनाथ हिमाल एवं नागबेली आकारमा चेपे र दरौंदी खोलाको मनमोहक दृश्य देख्न सकिन्छ । २०७२ बैसाख १२ पछि खण्डहरझैं बनेको अजिरकोट गाउँ जुर्मुराउन निकै समय लाग्यो । भूकम्पपछि कादुरी नाम गैरसरकारी संस्थाको आर्थिक सहयोगमा टिनले बारिएका एकैशैलीका करिब ५० भन्दा बढी घर निर्माण भएको छ । गाउँमा भएका घरमध्ये १० घर मिलेर होमस्टे सञ्चालन गरिएको छ । अधिकांश तामाङ समुदायको बस्ती रहेको नम्की गोरखाको भच्चेक बजारदेखि करिब ३० मिनेटको पैदल दुरीमा पर्दछ । होमस्टेमा पुगेका पर्यटकहरुले तामाङ समुदायको संस्कृति झल्कने सेलोसँगै न्यानो आतिथ्यता पाउने गर्दछन । होमस्टेमा आन्तरिक पर्यटकले खान बस्न एक रातको ७ सय रुपैयाँ र बाहृय पर्यटकहरुले एक हजार रुपैयाँ तिर्नु पर्दछ । नम्कीमा पुगेका पर्यटकहरुले चिया बगैंचा, अलैंचीबारी दूधपोखरी, नागेँ पोखरी लगायतका आकर्षक ठाउँको अवलोकन गर्न सक्दछन् ।
होमस्टेमा पर्यटकहरुलाइ अर्गानिक खाना खुवाउन स्थानीय उत्पादनलाइ प्राथमिकता दिने गरिएको छ । स्थानीय जातका कुखुरा, खसीबोका, कोदाको रोटी, टिमुर हालेको चिया, मकै भटमास, गुन्द्रुकको अचार, स्थानीय स्तरमा उत्पादन गरिएको कोदोको रक्सी आदि खानाका परिकार पर्यटकहरुको रुचि अनुसार दिने गरिन्छ । नम्की गाउँमा जान पक्की सडक सुविधा भने छैन तर यातायातका साधनको भने सुविधा छ। गोरखा सदरमुकामबाट करिब ४८ किमिको दुरीमा पर्छ नम्की । सदरमुकाम नपुग्दै १२ किलोबाट तपाइ छोप्राक चित्रेपोखरी चिप्लेटी हुँदै भच्चेक बजारसम्म पुग्न सकिन्छ । नम्की जानका लागि दैनिक काठमाडौंबाट बिहान ६.३० बजे र गोरखाबाट द्रव्य शाह मार्ग भएर फरक फरक समयमा ३ वटा बस छुटने गर्दछन । अहिले लुङटेल भञ्ज्याङदेखि नयाँगाउँसम्मको सडक पनि पक्की बन्दैछ । भच्चेकबजार अजिरकोट गाउँपालिकाको केन्द्र हो ।
भच्चेक पुगेपछि सिरानचोक पुग्नै पर्ने अर्को गाउँ हो । सिरानचोक कोट गोरखा राज्यलाइ चौबिसे राज्यको आक्रमणबाट बचाउने ऐतिहासिक कोट हो । चौबिसे राज्यले १८१२ र १८३८ सालमा गोरखा राज्यलाइ आक्रमण गर्दा सिरानचोक कोटले बचाएको थियो। १८३८ मा चौबिसे राज्यले आक्रमण गर्दा अमसरसिंह थापा नेतृत्वको सेनाले लमजुङका फौजलाइ परास्त गरेको थियो । लमजुङको सेनाको नेतृत्व गरेका भक्ती थापालाइ अमरसिंह थापाको समुहले सिरानचोकमा कब्जा लिएपछि उनि गोरखाको सेनामा भर्ति भएका थिए । अमरसिंह थापाको जन्म सिरानचोकमै भएको हो । थालाजुङ, छोप्राक, श्रीनाथकोट, जौवारी र गाखुँको सिरमा रहेको सिरानचोक कोटमा जेठो, माइलो र कान्छो गरी तिनवटा कोट रहेका छन् ।
कोटमा दशैं घर, टुडीखेल, सीतापधेँरो लगायतका ऐतिहासीक तथा धार्मिक सम्पदाहरु छन् । गुरासे जंगलको बिचमा रहेको कोटमा श्रीथान मण्डलीको मन्दिर पनि छ । जुन मन्दिर पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्नुभन्दा अघि स्थापना भएको मानिन्छ । म मन्दिरमा मंसिरको न्वागी मेला र बालाचतुर्दशीको दिन मेला लाग्ने गर्दछ । सिरानचोक कोटमा श्रृङगी ऋषिले तपस्या गरेको मानिन्छ। सिरानचोक कोटबाट मनास्लु, माछापुछ्रे, अन्नपुर्ण, फिस्टेल, गणेश लगायतका हिमश्रृंखला पनि देख्न सकिन्छ । सिरानचोक कोटको जंगलमा मृग, कालिज, खरायो, चितुवा लगायतका जंगली जनावर पनि देख्न सकिन्छ ।
गोरखाको माथिल्लो बेल्ट बारपाक मनास्लु पदमार्ग भएर सिरन्डाँडाँ नारदपोखरी रुविनालार भञ्ज्याङ्ग व्याक ल्हो सिर्दिवास हुदै स्यारभोट र तुम्ताङ भोटको मनास्लु पुग्न पनि सकिन्छ । प्रकृतिको सुन्दर छटाहरुले भरिपूर्ण ती गाउँ ठाउँको आ-आफ्नै विशेषता छ । तीर्थाटन पर्यटकीय गन्तव्यको रुपमा प्रसिद्ध चेपे नदीको शिरमा रहेको दूधपोखरी लमजुङ र गोरखा जिल्लाको सिमा क्षेत्रमा पर्दछ । मनास्लु र हिमालचुली हिमालको काखैमा रहेको दुधपोखरी धार्मिक पर्यटकियस्थल हो। विशेषगरी जनैपूर्णिमाको अवसरमा दुधपोखरी कुण्डमा नुहाउन पुग्नेहरुको भीड नै लाग्ने गर्दछ । जनैपूर्णिमाको दिन दुधपोखरीमा नुहाए वर्षैदेखिको रोगव्याधी निको हुने, बोली नआउनेहरु बोल्न थाल्ने, र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । लमजुङको दूधपोखरी गाउँपालिकामा पर्ने दूधपोखरी कुण्ड समुद्री तहदेखि ४ हजार ३ सय मिटरको उचाइमा पर्दछ ।
दुधपोखरी जादा बाटोमा पर्याप्त खानेकुरा र खानेपानीको व्यवस्था तीर्थयात्री आफैँले गर्नुपर्छ । दूधपोखरीको यात्रामा सुरक्षित बासको पनि त्यतिकै समस्या छ । बास बस्नका लागि जंगलका ओढार तथा भेडीगोठको सहारा लिनुपर्दछ । दूधपोखरी पुग्न ४-५ घण्टाको दूरी बाँकी रहँदा ठाउँठाउँमा भेडीगोठहरु देख्न सकिन्छ । तीर्थयात्रीहरुका लागि त्यहाँका गोठालाहरुले दिल खोलेरै सहयोग गर्छन् । गोठमा दूधका विभिन्न परिकारहरु पाइन्छन् । उकालो यात्राको थकाइले लखतरान परेका बेला त्रिपालले छाएको साँघुरो गोठमा आगो ताप्दै थकाइ मार्न पाउँदा र दूधका परिकारले भोको पेट भर्न पाउँदा तीर्थयात्रीहरु स्वर्गकै आनन्दी महसुस गर्छन् ।
लिगलिगकोट कसरी पुग्ने-
लिगलिगकोट पुग्न विभिन्न बाटाहरु रहेका छन् । तनहुँ जिल्लाको डुम्रेबाट तुरतुरे हुदै पालुङटारबाट लिगलिगकोटसम्म पुग्न सकिन्छ । त्यस्तै लमजुङको बेसीसहरतिरबाट राइनास नगरपलिकाको धमिलिकुवा हुदै पनि यहाँ पुग्न सकिन्छ भने बेसीशहरबाट तुरतुरे आएर पनि यहाँसम्म पुग्न सकिन्छ । गोरखा सदरमुकामबाट छेपेटार-खोप्लाङ-लुइँटेल-बडडाँडा हुँदै पनि जान सकिन्छ। जुनसुकै ठाउँबाट आएपनि गाडीबाट ओर्लिएको २० मिनेटमा लिगलिगकोट क्षेत्र पुग्न सकिन्छ । विशेगरी पिकनिक आउनेहरुको मागलाई ध्यानमा राखी समितिले खोल्ली गाउँबाट लिगलिगकोटको गेटसम्म गाडी पुग्ने व्यवस्था गरिएको छ ।