बन्दिपुर गाउँपालिका : कृषि, स्वास्थ्य र पर्यटन पूर्वाधार विकास कार्यक्रम प्रथामिकतामा

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

बन्दिपुर गाउँपालिकाले आगामि आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा कृषि र पर्यटन पूर्वाधार विकास कार्याक्रमलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले बजेटमा चर्चित पर्यटकीय स्थल मिनी ग्रेट वाल र सिसाको भ्यु टावर प्रत्येकलाई डेढ करोड विनियोजन गरेको छ ।

यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले पर्यटकीय पूर्वाधार विकासमा प्राथमिकता दिने उल्लेख गरेका थिए । गाउँपालिकाले डुम्रे बन्दीपुर जाने सडकको स्तरोन्नतिका लागि २ करोड १३ लाख रुपैयाँ विनियोजन गरेको छ । अन्य पर्यटकलक्षित योजनामा पनि गाउँपालिकाले बजेट विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए ।

पर्यटन पूर्वाधार निर्माणका लागि मणिमुकुन्देश्वरी पर्खालको निर्माण कार्यलाई निरन्तरता दिंदै मिनी ग्रेटवाललाई पर्यटकीय हवको रुपमा विकास गर्न १ करोड ५० लाख र टुडिखेलमा शिशाको भ्यूटावर निर्माण गर्न १ करोड ५० लाख, जनप्रतिनिधि पार्कलाई १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको सुवेदीले बताए ।

यस्तै, गाउँपालिकाले आगामि आर्थिक वर्ष २०७८/०७९ का लागि ५१ करोड ३४ लाख एक हजार पाँच सयको अनुमानित बजेट सार्वजनिक गरेको छ । नवौं गाउँसभामा उपाध्यक्ष करुणा गुरुङले आगामि वर्षका लागि उक्त र्सार्वजनिक गरेकी हुन्। गाउँपालिकाले संघ सरकारमार्फत वित्तीय समानिकरण अनुदान बापत ९ करोड ४ लाख, सशर्त अनुदान बापत १८ करोड ७५ लाख, विशेष अनुदानबापत २ करोड ४९ लाख, राजश्व बाँडफाँड बापत ६ करोड ५४ लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष गुरुङले बताइन ।

गण्डकी प्रदेश सरकारमार्फ वित्तीय समानीकरण अनुदान बापत १ करोड ५ लाख ३१ हजार, राजश्व बाँडफाँड बापत ८९ लाख ३२ हजार, विशेष अनुदान बापत ५० लाख, समपुरक अनुदान बापत ५० लाख प्राप्त हुने अनुमान गरेको छ ।

गाउँपालिकाले कोरोना संक्रमणको महामारी रोकथाम तथा नियन्त्रण र उपचारका लागि २० लाख, बन्दिपुर अस्पताल तथा आधारभूत स्वास्थ्य केन्द्रहरुमा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका लागि औषधी खरिद गर्न ३३ लाख बजेट विनियोजन गरेको छ ।

कृषिमा श्रम तथा लागत न्यूनिकरण गर्दै यान्त्रिकरण मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि मेसिनरी तथा औजार वितरण गर्न बजेट विनियोजन गरेको छ । कृषि यान्त्रको प्रयोग गर्न कठिनाई हुने क्षेत्र, साना किसानलाई लक्षित गरी एक हल गोरु : एक थान हलो कार्यक्रमका लागि बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए ।

कृषिमा युवाहरुको आकर्षण बढाउन, व्यवसायिक कृषकलाई प्रोत्साहन गर्न गाउँपालिका उत्कृष्ट कृषक पुरस्कार स्थापना गर्ने भएको छ । सहकारीमा आवद्ध किसानहरुलाई सहकारीमार्फत प्रति लिटर दूध उत्पादनमा एक रुपैयाँ अनुदान दिन रकम विनियोजन गरिएको छ । गाउँपालिकाभित्रका कृषि उत्पादन संकलन गर्न डुम्रे बजारस्थित साना सहकारीबाट हस्तान्तरित भवनमा कृषि उपज संकलन केन्द्र स्थापना गर्न ६० लाख विनियोजन गरिएको अध्यक्ष थापाले बताए । कृषि उपजको समुचित भण्डारणका लागि चिस्यान केन्द्र स्थापना गर्न ८३ लाख विनियोजन गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker