व्यासको ४०औं नगर सभाबाट चार ऐन पारित, रु १ करोड ८० लाख बजेट घट्यो
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले बुधबार ४०औं नगरसभा सम्पन्न गरेको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानको अध्यक्षतामा आयोजित नगरसभाबाट चार ऐन पारित गरिएको छ । नगर सभाबाट व्यास नगर आर्थिक ऐन-२०८०, विनियोजन ऐन-२०८०, शिक्षा ऐन-२०७५ र न्यायीक समिति सञ्चालन (कार्यविधि) ऐन-२०७४ मा संशोधन प्रस्ताव पारित गरिएको हो ।
३९औं नगर सभाबाट पारित नीति कार्यक्रम अनुसार सम्पन्न भएका कार्यहरु र विविध पक्षहरुको नगर प्रमुखबाट प्रस्तुत १४ बुदे समिक्षात्मक प्रतिवेदन संशोधन सहित पारित गरिएको थियो ।
यस्तै, ३९औं नगर सभाबाट आ.ब २०८०/८१ का लागि पारित रु. १ अरब ६८ करोड ९१ लाख २७ हजारको आय व्यय बजेट कार्यक्रममा रु. १ करोड ९६ लाख थप शिर्षकमा आय हुने र रु ३ करोड ७६ लाख विभिन्न शिर्षकमा आय कम हुन भन्दै कुल बजेटमा रु. १ करोड ८० लाख घटी हुन गई रु. १ अरब ६७ करोड ११ लाख २७ हजारको संशोधित बजेट उप-प्रमुख इन्दिरा दरैले सभामा प्रस्तुत गरेकी थिइन्।
नगरसभामा आर्थिक विकास समितिका संयोज रमेश हड्खले, लेखा समिति संयोजक काशिराम श्रेष्ठ, पूर्वाधार विकास समिति सदस्य यज्ञ प्रसाद पौडेल, कृषि प्रबर्द्धन समिति सदस्य विष्णु कुमार श्रेष्ठ (हिमाल), सुशासन समिति सदस्य इश्वर पौडेल, विधायन समिति संयोजक खेमराज पोख्रेल, वन वातावरण समिति संयोजक रनसिं नेपाली, सामाजिक विकास समिति संयोजक काजिमान श्रेष्ठ, जग्गा विकास आयोजना प्रमुख रबिन्द्रलाल मुल, योजना तथा पूर्वाधार शाखा प्रमुख डा. राजु पौडेल, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले सम्बन्धित समिति र शाखाका प्रगति समिक्षा प्रतिवेदन पेश गरेका थिए ।

सभामा प्रस्तुत विभिन्न प्रस्ताव एवं प्रतिवेदन उपर नगर सभाका सदस्यहरु दल बहादुर दुरा, दुर्गा बहादुर आले, विज्ञान कैनी, विनु श्रेष्ठ, सुरेश वाग्ले, दधिराज घिमिरे, खिर माया वि.क, सन्तोष जि.सी, गोकुल राना, यज्ञ शर्मा, सरोज भण्डारी, हर्क बहादुर कार्की, सुन्दर वाग्ले, राम प्रसाद मिश्र, ढाल प्रसाद घिमिरे, हरिश्चन्द्र पन्थ, मणिजंग बस्नेत, सरस्वति वि.क र कमला वि.क समेत २२ जनाले आ-आफ्नो सुझाब राखेका थिए ।
यस्तै, सभामा सदस्यहरुले उठाएका विभिन्न विषयहरुलाई समेटी नगरसभाबाट पारित गर्नुपर्ने विविध प्रस्तावहरु पेश गर्न गठित प्रस्ताव समितिको संयोजक नगरपालिका प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष जीवन गुरुङबाट पेश गरिएको १५ बुँदे प्रस्ताव संशोधन सहित पारित गरिएको छ ।
पारित प्रस्तावहरुमा व्यास-३ स्थित भतेरी जग्गा अध्रि्रहण गरी हरित पार्क निर्माण गर्ने, व्यास-५ चिन्तुटारमा औधोगिक ग्राम निर्माण गर्ने, नगर भित्रका सम्पन्न सडक, पूल, खानेपानी, सार्वजनिक संरचनाहरुको संरक्षण गर्ने, कृषिका विविध क्षेत्र तोक्ने, पर्यटन प्रबर्द्धन, विश्व वैंकको सहयोगको पराशर मार्गको ५२ करोड माथिको टेण्डर गर्न स्वीकृति प्रदान गर्ने, हरेक शहिद दिवसका दिन खुल्ला अल्ट्रा म्याराथन वा महिला हाफ म्याराथन मध्ये कुनै एक मात्र आयोजना गर्ने, नगरपालिकाका सडकहरुको लगत कट्टा गर्ने, जिल्लामा पुनः नापीको माग गर्ने लगायतका प्रस्तावहरु समावेश गरिएको छ । नगर सभामा उठेका विभिन्न विषयहरुमा प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, उप-प्रमुख इन्दिरा दरै, नगर प्रमुख वैकुण्ठ न्यौपानेले सहजिकरण गरेका थिए ।










