“बाँदर आंतकबाट पीडित कृषक खेतीपाती लगाउन छाड्दै”

भञ्ज्याङन्यूज

बाँदर आंतकबाट पीडित तनहुँका अधिकांश कृषकले खेती लगाउन छाडेका छन् । दुःख गरेर खेत जोत्यो, बाली लगायो र फल खाने बेला नहुँदै बाँदरका हुल खेतबारीमा पसेर बाली नष्ट गरिदिँदा कृषकले खेतबारी बाँझै छाड्न थालेका छन् ।

बाँदर आतंकले करिव तीन वर्षदेखि खेतबारी बाँझो छाडेको बन्दीपुर गाउँपालिका-१ नाहालास्थित उपल्लोफाँटका कृषक कृष्णप्रसाद सापकोटा बताउँछन् । ‘आफुले सकि नसकि खेत जोत्यो, अन्नबाली लगायो तर फल भित्र्याउन भने पाइदैन’, उनले भने । यस क्षेत्रमा मकैको उत्पादन राम्रो हुन्छ तर मकै छरे देखिनै बाँदरका हुल आएर छरेको मकैको बिउ समेत टिपेर खाइदिने गरेको उनले सुनाए ।

‘झिसमिसे उज्यालो भएसँगै खेतबारीमा खटिएर अन्नबाली लगायो । जब फल लाग्न थाल्छ, बाँदरका बथानले लुच्छाचुडी गरेर नष्ट गरिदिन्छन्’, उनले भने, ‘लगाएको खेती जोगाउनका लागि बिहानदेखि साँझसम्म खेतबारी कुरेर बस्नुपर्ने बाँध्यता हाम्रो छ । यति गर्दा पनि बाली जोगाउनै सकिदैन ।’

बाँदरबाट आतंकित कृषकहरुले गत जेठ १३ गते बाँदर आतंक नियन्त्रण संघर्ष समिति समेत गठन गरेका छन् । समितिले स्थानीय, प्रदेश र संघ सरकारलाई विभिन्न माध्यमबाट बाँदर नियन्त्रण गरी अन्नबाली जोगादिन भन्दै ध्यानाकर्षण समेत गराएका छन् । तर, उनीहरुको समस्यको समाधान भने अहिलेसम्म हुन सकेको छैन ।

बाँदर आतंककै कारण ८ वर्ष अगाडि बन्दीपुर-१ रिमाल्निका कृषक सुकबहादुर शाहीले आत्महत्या समेत गर्नुपरेको संघर्ष समितिको भनाइ छ । समितिले ३ वटै तहका सरकारलाई बुझाएको ध्यानाकर्षण पत्रमा समेत बाँदर आतंकका कारण कृषकले आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरेका छन्। समितिका अध्यक्ष सापकोटाले भने, ‘अहिले त्यो परिवारले खेती गर्न छाड्यो । उनीहरुको ५/६ रोपनी जग्गा बाँझो छ ।’

बन्दीपुरमा मात्रै नभई देशकै कृषकहरु बाँदरको समस्याबाट पीडित छन् । बाँदरका कारण खेतीपातीसँगै मानवीय क्षति समेत भएको अवस्था छ । संसदको जम्बो टोली बाँदर नियन्त्रणको विषयलाई लिएर विदेश भ्रमण जाने समाचार आएकोप्रति संघर्ष समितिले गम्भीर ध्यानाकर्षण भएको भन्दै माघ ११ गते कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

समितिले बाँदर आतंकबाट पीडित किसानहरुलाई संगठित गर्दै तनहुँ, गोरखा, स्याङ्जा, कास्कीका पीडित कृषकहरुले सम्बन्धित पालिका र जिल्ला प्रशासन कार्यालय मार्फ प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र पठाएका थिए ।

यस्तै, बाँदर आतंकका कारण अधिकांश कृषकले खेतीपाती गर्नै छाडी बर्साई सरेको नाहालाका कृषक बासु पन्त बताउँछन्। ‘२० वर्षअगाडि यो ठाउँ हराभरा थियो। सिजनमा तरकारी, अन्नबाली, धान सबैले लगाउथे’, उनले भने, ‘तर अहिले त्यो अवस्था रहेन। बाँदरकै डरले अधिकांश बारी बाँझो छन् । केही लगाइएका बाली पनि बाँदरले नष्ट परिदिन्छन्।’

यस क्षेत्रमा करिव ७० प्रतिशतले मकै खेतीमा ह्रास आएको उनले बताए । उनले भने, ‘हामीले बाँदर नियन्त्रण गरिदिनका लागि पटक-पटक सरकारलाई गुहारेका छौं तर सरकारले खासै चासो दिएको पाइएन ।’

सरकारले कुनैपनि हालतमा बाँदर नियन्त्रण गरिदिने, बाँदरले पुर्‍याएको क्षतिको राहत उपलब्ध गराउने र बाँदर आतंकका कारण बाँझो रहेका खेतबारीको मुअब्जा दिने मागसहित सरकारको ध्यानाकर्षा गराउँदै आएको समितिले जनाएको छ ।

बन्दीपुर गाउँपालिकाले गत साउनमा बाँदर धपाउन बन्दुक वितरण गरेको थियो । पहिलो पटक बन्दुक पड्काउँदा बाँदर भागेपनि पछि भने बन्दुक पड्काउँदा टेर्न छाडेको कृषकको गुनासो छ ।

यस्तै, बाँदर आतंकबाट पीडित बनेको देवघाट गाउँपालिका अनेक विकल्पको खोजीमा छ । कृषकहरुलाई बाँदर नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रमदेखि बाँदरले नखाने र क्षति नपुर्‍याउने खेती लगाउन प्रेरित गर्न थालेको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker