मुग्लिन–पोखरा राजमार्गको आँबुखैरेनी–मुग्लिन खण्ड गोरखातर्फ लगिने

पोखरा : पृथ्वी राजमार्ग स्तरोन्नति योजना अन्तर्गत मुग्लिनदेखि आँबुखैरेनी खण्डलाई स्तरोन्नति प्रक्रिया सुरु गरिएको छ । यो खण्डमा चट्टान र पहाडका कारण गोरखातर्फ डाइभर्ट गरी नयाँ ट्र्याक खोल्न लागिएको हो ।

प्राविधिक डिजाइन अनुसार यो सडक तनहुँतर्फ ४ लेन र गोरखातर्फ २ लेनको हुनेछ । हालको सडकलाई विस्तार गर्दा भौगोलिक कठिनाइ हुने देखिएपछि गोरखातर्फ नयाँ ट्र्याक खोलेर सडक लैजान लागिएको हो ।

तनहुँ खण्डमा सडकको केन्द्र विन्दुबाट २५/२५ मिटर र गोरखा खण्डमा १५/१५ मिटर राइट अफ वे कायम गरिएको छ । नयाँ ट्र्याक खोल्नका लागि गोरखाको शहीद लखन गाउँपालिकामा प्रभावित क्षेत्रका नागरिकसँग छलफल गरिएको छ । मुग्लिन–पोखरा राजमार्गको आँबुखैरेनी–मुग्लिन खण्डको कुल लम्बाई ८.७४ किलोमिटर छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग मार्फत यो योजना कार्यान्वयन हुन लागेको हो । सडक निर्माणका क्रममा शहीद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका केही क्षेत्रहरू प्रत्यक्ष प्रभावित हुनेछन् । यो खण्डमा कुल १ सय ९९ घरधुरीका २ सय ५५ परिवार प्रत्यक्ष प्रभावित हुने रिपोर्ट छ ।

यस क्रममा केही सार्वजनिक संरचनाहरूमा समेत क्षति पुग्ने अनुमान गरिएको छ । आयोजनाका तर्फबाट सामाजिक परामर्शदाताहरूले सडक निर्माणबाट प्रभावित हुने घर, संरचना र निजी जग्गाको उचित क्षतिपूर्ति (मुआब्जा) दिइने प्रतिबद्धता जनाएका छन् ।

प्रभावित सार्वजनिक संरचनाहरूको पुनः निर्माण गरिने परामर्शदाताको प्रतिबद्धता छ । बैठकमा एसियाली विकास बैंकका परामर्शदाता सौमी घोष, सामाजिक परामर्शदाता रविन्द्र ढकाल, पालिका र वडाका जनप्रतिनिधि तथा प्रभावित नागरिकहरू उपस्थित थिए । अब जग्गा प्राप्ति र निर्माण प्रक्रियाले थप गति लिने वडाध्यक्ष दीपक पाण्डेले बताए।

पालिका अध्यक्ष रमेशबाबु थापाले विकासपुर्वका सबै सर्त पूरा गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । ‘विकासका लागि हामी सबै पक्ष तयार छौँ । यो हाम्रो पनि आवश्यकता हो,’ उनले भने, ‘तर स्थानीयका मागहरूको सम्बोधन आयोजनाले गर्नुपर्छ । कोही पनि समस्यामा पर्न हुँदैन । त्यो ज्ञारेन्टी आयोजनाबाट दिलाउनुपर्छ।’

यो सडक खण्डको आँबुखैरेनीदेखि पोखरासम्मको काम अन्तिम चरणमा पुगेको छ । सहरी क्षेत्रमा ६ लेन र अन्य क्षेत्रमा ४ लेनको सडक निर्माण भइरहेको छ । मादी र सेती नदीमा आकर्षक सिग्नेचर पुल निर्माण चलिरहेको छ ।

अन्यत्र सबै खोला र खोल्साहरूमा पुल निर्माण लगभग सकिने चरणमा छ । मुग्लीन आँबुखैरेनी खण्डको कान्टारमा भएको भेलामा स्थानीय हाटबजार, पर्व र रीतिरिवाजमा असर नपर्ने गरी आयोजनालाई अगाडि बढाउन स्थानीयले माग गरेका छन्।

यस्तै, सोही खण्डमा पर्ने त्रिवेणी मन्दिरमा आवतजावत गर्ने बाटो र मन्दिरको सौन्दर्यीकरणमा सहयोग गर्न आयोजनाले सहजीकरण गर्ने सहमति भएको छ । स्थानीयहरूले नाम्जुङटार, कान्टार हुँदै रामशाहघाटसम्म करिब २.५ किलोमिटर सडक थप विस्तार गरी निर्माण गर्दा प्रभावकारी हुने प्रस्ताव अघि सारेका छन्।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker