‘पहाडकी रानी’ बन्दीपुरमा पर्यटकको चहलपहल बढ्यो

बन्दीपुर : शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिन थालेपछि तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ । पहिले शनिबार मात्र भीडभाड हुने बन्दीपुरमा अहिले आइतबार पनि उत्तिकै चहलपहल देखिन थालेको छ। आन्तरिक पर्यटकले छोटो समयमै घुमफिरको योजना बनाउन सहज भएपछि यहाँ आउनेको संख्या २० देखि ३० प्रतिशतसम्म वृद्धि भएको स्थानीय व्यवसायीहरू बताउँछन् ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले दुई दिने बिदाले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको उल्लेख गरे । उनले भने, æअब पर्यटकहरू एक रात बढी बस्न थालेका छन्, जसले होमस्टे, होटल र स्थानीय बजार सबैलाई चलायमान बनाएको छ।
त्यस्तै, बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार दुई दिने बिदा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘वरदान’ सावित भएको छ। उनले भने, ‘काठमाडौँ र पोखरा जस्ता सहरबाट परिवारसहित घुम्न आउने क्रम बढेको छ, आइतबार पनि पर्यटक देखिनु सकारात्मक संकेत हो ।’
बन्दीपुर सामुदायिक होमस्टेका पूर्व अध्यक्ष राजु बानियाँले पछिल्लो समय पाहुनाहरू गाउँको मौलिक जीवनशैली अनुभव गर्न होमस्टे रोज्ने गरेको बताए । उनले भने, ‘पर्यटकहरू अब हतार नगरी स्थानीय कौराहा, चुड्का नाच र अर्गानिक परिकारको स्वाद लिँदै बस्न थालेका छन् ।’
‘पहाडकी रानी’का रूपमा परिचित बन्दीपुरले आफ्नो ऐतिहासिक पहिचान, परम्परागत नेवारी शैलीका घरहरू र सांस्कृतिक मौलिकतालाई जोगाइराखेको छ। यहाँका ढुङ्गा बिछ्याइएका गल्ली, पुराना घरहरूको कलात्मक बनावट र स्थानीय जीवनशैलीले आगन्तुकलाई समयमै फर्किएको अनुभूति गराउँछ ।
बन्दीपुर पुग्ने पर्यटकहरू सिद्ध गुफा, हिमालका मनमोहक दृश्य र हाल सञ्चालनमा आएको केबलकारको अनुभव लिन उत्साहित देखिन्छन्। पोखराबाट करिब ७४ किलोमिटर र काठमाडौंबाट १४२ किलोमिटर दूरीमा रहेको बन्दीपुर डुम्रे बजारबाट करिब नौ किलोमिटर पक्की सडक हुँदै पुग्न सकिन्छ । साथै बन्दीपुर–१ ठुलोढुङ्गाबाट केबलकारमार्फत पनि सहज रूपमा यात्रा गर्न सकिन्छ ।
दुई दिने बिदाको सदुपयोगसँगै बन्दीपुरमा बढ्दो पर्यटक आगमनले स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा थपेको छ भने यसले ग्रामीण पर्यटनको सम्भावनालाई अझ सुदृढ बनाएको स्थानीयवासीको विश्वास छ ।










