म्याग्दे गाउँपालिकाको प्राथमिकता : कृषि र पशुपालन
नारायण खड्का/तनहुँ

तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु मध्ये छाङ्ग, जामुने र मनपाङ्ग गाविसलाई समायोजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको छ । यस गाउँपालिकाको नाम “म्याग्दे” कसरी रहन गयो भन्नेबारे ऐतिहासिक लिखित आधारहरु खासै केही भेटिएको छैन ।
जामुनेको दभुङबाट शुरु भएर छाङ र मनपाङ दुइ गाविसको सीमारेखा हुँदै शुक्लागण्डकी नगरपालिकाको दोभान पुगेपछि सेती नदीमा समाहीत भएको एउटा प्रख्यात खोलाको नाम हो “म्याग्दे” । छाङ, मनपाङ र जामुने तीनै वटा गाविसको एउटा उर्वर भूमी वा फाँटको नाम हो म्याग्दे, यसै कारण यस गाउँपालिकाको नाम “म्याग्दे” गाउँपालिका राखिएको हो भन्ने अनुमान लगाउन सकिन्छ ।
केन्द्रीय तथ्याङ्क विभाग राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जम्मा जनसंख्या २३५७८ मध्ये पुरुष १०८८२ र महिला १२६९६ रहेका छन । गाउँपालिका प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण एवं प्रवर्द्धन गर्दै कृषि तथा ग्रामीण पर्यटकीय गतिविधिका माध्यमबाट विकास र समृद्धि हाँसिल गर्ने योजनाका साथ अगाडि बढेको छ । विशेषतः सुन्तला र तरकारी खेती, कुखुरा, मौरी, गाई र बाख्रा पालन तथा मौलिक संस्कृतिले सुशोभित सुन्दर गाउँहरुमा ग्रामीण पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालन योग्य छन् । गाउँपालिकाले कृषि क्षेत्रको प्रवर्द्धन गर्दै गाउँपालिकालाई समृद्ध बनाउने र नागरिकलाई सहज रुपमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडकको पहुँच विस्तार गर्ने गरी अगाडि बढेको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

स्थानीय सरकार भनेको जनताको घरदैलोको सरकार जसरी व्याख्य गरिएको छ । यस नारालाई सार्थक रुप दिन म्याग्दे गाउँपालिकाले विभिन्न कार्यक्रमहरु अगाडी बढाएको छ । गाउँपालिकामा कृषि नै प्रमुख कुरा हो भन्ने हिसाबले यसको उन्नति र प्रव्द्धनका लागि योजना केन्द्रित गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । ‘गाउँपालिकालाई कृषिको आधार तयार पार्न सुन्तलाखेतीलाई विशेष ध्यान दिएका छौ । वडा नं. २ को पुरै भेगलाई सुन्तलामय क्षेत्र बनाउने गरी कार्यक्रम अगाडि बढाइएको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘कृषि र पशु एकआपसमा अन्तरसम्बन्धित छन । यसले गर्दा स्वास्थ्य मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण रहेकाले यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।’
‘गाई, भैसी पालेका कृषकहरुलाई उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तरगत प्रति लिटरमा १० रुपैया अनुदानको व्यवस्था गरिएको छ । यो कार्यक्रम पश्चात म्याग्देमा दुध उत्पादन वृद्धि भएको छ । पहिले म्याग्दे दुग्ध सहकारी संस्थामा करिब २०० लिटर दुध उत्पादन हुन्थ्यो भने अहिले ६०० लिटरसम्मको दुध बिक्रीवितरण हुन्छ । यसले गर्दा किसानहरुले जामुने बजारमा केन्द्रको माग गरिरहेका छन् ।’
पशुपालनबाट कृषिको लागि मल पनि आयो, दुध, मासु पनि जोडिने भयो । कृषिमा तरकारी खेतीको लागि गाउँगाउँमा एकीकृत घुम्ती शिविर लग्यौ र गाउँगाउँमै पशु उपचारमा गोबर परीक्षण, पशुलाई आवश्यक औषधीहरु उपलब्ध गरिएको छ । यससंगै त्यस क्षेत्रमा करिब ४ लाख बराबरको तरकारीका विउहरु निःशुल्क वितरण गरी कृषकलाई व्यवसायिक रुपमा उत्पादन गर्न प्रेरित गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘व्यवसायीक रुपमा नभए पनि बजारका विषदीयुक्त वस्तुहरु किनेर खान नपरोस, आफ्नै गाउँमै उत्पादन भएका अर्गानीक वस्तु उपभोग गर्ने वातावरण बनोस भन्ने सोचका साथ गाउँपालिका अगाडि बढेको छ ।’

‘पशुपालनमा गाई, भैसी ल्याउनको लागि कृषकलाई समस्या हुने खण्डमा गाउँपालिकाले गाई, भैसी ल्याउन लाग्ने खर्च व्यहोर्ने व्यवस्था गरेको छ । यस सन्दर्भमा किसानले पालेका गाई, भैसी केही कारण मरेमा किसानहरु मर्कामा परेको खण्डमा तिनीहरुको वीमा अनिवार्य रुपमा गर्न लगाइएको छ । वीमामा सरकारले ८० प्रतिशत र किसानले २० प्रतिशत व्यहोरेको छ भने गाउँपालिकाले १० प्रतिशतमा वीमा गर्ने व्यवस्था मिलाएको छ’, उनले भने, ‘म्याग्देलाई आलु खेतीको पकेट क्षेत्रका रुपमा विकास गर्न आलुको बिउ लगायतका अन्न बालिको विउ वितरणमा ५० प्रतिशत अनुदान दिएको छ । गाउँपालिकाले कृषि, पशु र सुन्तलाखेतीलाई आर्थिक समृद्धिको आधार मानी कृषि क्षेत्रको विकास प्रवर्द्धनलाई बढि जोड दिंदै सोही अनुसार नीति, कार्यक्रम तथा बजेटको व्यवस्था गरी अगाडि बढेको छ ।’
‘यी कार्यक्रमले जनताको आर्थिक समृद्धीको पाटोलाई अघि बढाउने काम गर्छ । हामीले अनुगमन गर्ने क्रममा १५० घरधुरीमा अधिकांश जनताले बंगुपालनमा आकर्षित भएको भेटियो । यसका लागि बंगुरका पाठा वितरण, बाख्रा पालनमा बोयर जातका बाख्रा अनुदानमा दिने तयारी गरिएको र अहिले किसानहरुको गोठ सुधारका काममा लागिरहेका छौ’, अध्यक्ष श्रेष्ठले भने, ‘यस्ता कार्यक्रमले दीर्घकालिन रुपमा मानव स्वास्थ्यको लागि अर्गानिक वस्तुहरु उत्पादन र उपभोग गर्ने वातावरण बन्नुका साथै भविष्यका पिढीलाई पनि स्वास्थ्य जीवन आधार तयार हुने हामीले विश्वास लिएका छौं ।’
यस्तै शिक्षाको सन्दर्भमा विद्यालयहरुलाई स्कुल बस खरिद गर्दा गाउँपालिकाले ४० प्रतिशत व्यहोर्ने योजनाका कामहरु अगाडी बढाएको अध्यक्ष श्रेष्ठले बताए । म्याग्देको वडा नं. ३ मा रहेको विद्यालयमा सिटिइभिटीइ अन्तर्गतको भेटेरिनरी सम्बन्धी विषयको पठनपाठन भइरहेको छ । यसमा बाहिरबाट आएर विद्यार्थीहरु पढिरहेका छन भने स्वयं गाउँपालिकाका विद्यार्थीहरु भने अध्ययन गर्न नआउँदा प्रभावकारी नभएकाले गाउँपालिकाकै विद्यार्थीलाई भेटेरिनरी पढाइ तर्फ आकर्षित गर्नका लागि गाउँपालिकाले ३ वर्षे कोर्स पढ्न लाग्ने करिब ५० हजार रुपैयाँ वार्षिक शुल्कमा ५० प्रतिशत व्यहोर्ने व्यवस्था गरेको र अहिले ११ जना विद्यार्थी भर्ना भएको अध्यक्ष श्रेष्ठले बताए ।

गाउँपालिकाले वडावडा, टोलटोलमा घुम्ति शिविर सञ्चालन गरी जन्मदर्ता, मृत्युदर्ता, योजनाहरुको सम्झौता, कोभिड-१९ विरुद्धको भ्याक्सिन, सुगर, प्रेसरको परीक्षण लगायतका सेवा प्रवाह गर्दा करिब १३ हजार जनता लाभान्वित भएका छन् । यी मध्ये करिब ९ हजार जनतालेे स्वास्थ्य सेवाबाट लाभान्वित भएका छन । ४९९ जना रक्तचापका बिरामी, २५७ जना सुगरका बिरामी, ९७ जना महिलाहरुमा पाठेघरको समस्या रहेकोमा १५ जनाको तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था रहेकाले र आर्थिक अवस्था कमजोर भएकाहरुको लागि निःशुल्क शल्यक्रियाका लागि दाताहरु खोजेर उपचार गर्ने कामलाई अगाडी बढाइएको अध्यक्ष श्रेष्ठले बताए ।
यस्तै, तनहुँ हाइड्रो र सुर्यटोवा कम्पनीसंगको सहयोगमा दोस्रो चरणको स्वास्थ्य शिविरलाई अगाडी बढाइएको छ । घुम्ति शिविरमा ९०० जनतालाई कोभिड-१९ विरुद्धको भ्याक्सिन दिएको थियो भने अहिले चौथो चरणको सुइ, आँखा शिविर सञ्चालन गर्ने व्यवस्था गरिएको छ । गाउँपालिकाले दाँत र पाठेघर क्यान्सर परीक्षणका लागि पनि विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।
गाउँपालिकाले करिब २२/२३ रोपनी जग्गा खरिद गरी फोहोरबाट मल बनाइ त्यसबाट ग्यास उत्पादन गर्ने, प्लाष्टिकजन्य वस्तुलाई छुट्याइ बिक्री गर्ने, सिसाजन्य वस्तु व्यवस्थापन गरी खेर जान नदिने कार्यलाई अगाडि बढाएको अध्यक्ष श्रेष्ठले बताए । ‘अन्य पालिकाहरुसंग केही शुल्क लिइ फोहोरमैला यहाँ ल्याइ व्यवस्थापन गर्न सक्ने क्षमता सहितको काम अगाडी बढाएका छौ’, उनले भने, ‘यो कार्यक्रमले पछिल्लो समय जटिल बन्दै गएको फोहोर व्यवस्थापनमा ठुलो टेवा पुग्नेमा हामी विश्वस्त छौं ।’
गाउँपालिकाले किसानका उत्पादनलाई सुरक्षित रुपमा भण्डारण गर्न चिस्यानकेन्द्र निर्माण कार्य अगाडी बढाइरहेको छ । यस्तै गाउँपालिकामा रहेका मन्दिरहरुमा धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरी लाभ लिने योजनामा गाउँपालिका लागेको छ । प्रशासनीक सेवा सेवाग्राहीमैत्री बनाउने, कुनै पनि आर्थिक अनियमितता नहोस भनि चेकजाँच गर्ने, ढुंगागिटी, बालुवा क्रसर क्षेत्रमा भएका अनियमिततालाई रोक्न दृढतापूर्वक उभिएको अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘यस कार्यमा साथ दिन, स्वास्थ्य, शिक्षा, कृषि, पशु व्यवसायलाई समृद्धितर्फ लैजान राय सुझाव, अनियमितताका कार्यहरु भइरहेको भए गाउँपालिकालाई सूचना दिन आम जनतालाई आग्रह गरेका छौ ।’

गाउँपालिकाभित्र रहेका उद्योग, कलकारखाना, इट्टा उद्योगहरुलाई पनि वातावरणमैत्री बनाउने कार्यक्रम अगाडि बढाइएको छ । गाउँपालिकाले जग्गाजमिनको कित्ताकाट सम्बन्धी किनबेच कार्य पनि टुंग्याइसकेको छ । गण्डकी प्रदेशमै पहिलो बालमैत्री गाउँपालिका हुन सफल भएको छ । नमुना गाउँपालिका बनाउन सरकार जनताहरुको बीचमा छ भन्ने पुस्ट्याइ गर्न नेतृत्व तह लागिपरेको छ ।
प्रदेश र संघ सरकारबाट आएका योजनाहरु त्यति धेरै प्रष्ट नहुने हुँदा प्रदेश सरकारबाट आएका बजेटहरुको योजना आफै गर्ने गाउँपालिकालाई अधिकार नदिएकाले लागत इस्टिमेट र अन्तिममा भुक्तानीका लागि मात्र स्थानीय तहलाई प्रयोग गर्न खोजिदा समस्याहरु आउने गरेको अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘संघ र प्रदेशबाट सञ्चालित योजनाको गाउँपालिका आफैले अनुगमन गर्न नपाउँदा व्यवस्थित हुन सकेको छैन’, उनले भने, ‘यस्तो कार्यले स्थानीय सरकार, केन्द्रीय सरकार, प्रदेश सरकारको सहकार्य सहयात्रा भन्ने कुरा भाषामा मात्र सिमित रहेको जस्तो देखिन्छ ।’
यसतै, गाउँपालिकाको आन्तरिक आयको श्रोत कम्जोर छ । गत वर्ष करिब साढे ५ करोड रुपैयाँ आम्दानी गरेको गाउँपालिकाले यो वर्ष आम्दानी घट्न अवस्थामा रहेको छ । गाउँपालिकाको आम्दानीको मुख्य स्रोत भनेको नदीजन्य वस्तु भएको र यस वर्ष घाटहरु ठेक्का नलागेकाले आवश्यक समन्वय गरी प्रक्रिया अगाडि बढाउने तयारीमा रहेको अध्यक्ष श्रेष्ठले बताए ।










