एकीकृत घुम्ति शिविरबाट नौ हजारले सेवा लिए

तनहुँको म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ति शिविरबाट ग्रामीण क्षेत्रका ९ हजार ३५३ जनाले सेवा लिएका छन् । स्वच्छ, सभ्य, समृद्ध म्याग्देको आधार : कृषि, पर्यटन र पूर्वाधारलाई मुल आधार बनाएको गाँउपालिकाले सर्वसाधरणलाई सहज रुपमा सेवा प्रवाह गर्नका लागि विभिन्न समयमा एकीकृत घुम्ति शिविर सञ्चालन गर्दै आएको छ ।
पालिकाका ७ वटै वडाका टोलस्तरमा गत फागुन २१ देखि चैत्र ८ गतेसम्म शिविर सञ्चालन गरिएको थियो । शिविरबाट लाभ लिनेहरु मध्ये स्वास्थ्य उपचार सेवा अन्तर्गत ३ हजार ३८ जना रहेका छन् भने आयुर्वेद उपचार सेवा ८७८ जनाले लिएका छन् ।
यस्तै, कृषि सेवा २ हजार ९१५ जनालाई दिईएको छ भने पशुको उपचार शाखावाट १ हजार ९२६ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।
घुम्ति शिविरबाट ७५ जना अपाङ्गता तथा ज्येष्ठ नागरिकले सेवा लिएका छन् । पालिकाको विभिन्न योजना तथा प्राविधिक सम्वन्धी ४८ वटा उपभोक्ता समितिले विभिन्न सेवा लिएका छन् । व्यापार व्यवसाय तथा संस्था दर्ता यस अवधिमा ५९ वटा दर्ता गरिएको छ भने पञ्जिकरण शाखा अन्तर्गत ५७ जना सेवाग्राहीहरु सेवा लिएका छन् ।
त्यस्तै शिविरबाट प्रशासनिक कार्यमा ३५७ जना सेवाग्राहीले सेवा लिएका थिए । गाउँपालिकाले यसअघि पनि मृगौला परीक्षण, पाठेघरको परीक्षण, ३ दिने क्यान्सर परीक्षण, पहिलो चरणको एकीकृत घुम्ति शिविर संचालन गरिसकेको छ ।










