पीसीआर प्रयोगशालाको भवन पूर्वाधार तयार
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका ९ वटा स्थानीय पालिका, संघ, प्रदेश सरकार तथा विभिन्न सामाजिक संघ संस्था, व्यक्तिहरुको लागत सहभागिता र सहयोगमा सञ्चालन गर्न लागिएको पीसीआर प्रयोगशालाको आवश्यक भवन पूर्वाधार निर्माण सम्पन्न भएको छ । व्यास-१० दुम्सीमा स्थापना गरिन लागिएको प्रयोगशालामा आवश्यक मेसिनरी कार्यका लागि गण्डकी प्रदेश प्रयोगशालाका तर्फबाट अध्ययन गरी आवश्यक सामाग्रीहरुको खरीद प्रकृया अघि बढाइएको व्यास नगरपालिकाले जनाएको छ ।
उक्त प्रयोगशाला निर्माणका लागि व्यास-११ स्थित सृजनाशिल दिदीबहिनि समुहको तर्फबाट ५० हजार ५ रुपैयाँ, व्यास-३ निवासी बुद्धीकुमार बतासको तर्फबाट ११ हजार रुपैयाँ, संघीय सरकारको तर्फबाट २५ लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट ५० लाख रुपैयाँ, नगरपालिकाका जनप्रतिनिधिहरुको १ महिनाको प्राप्त हुन आउने सेवा सुविधा बराबरको रकम सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको नगर कार्यपालिकाको बैठकमा कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि नगरपालिकाद्वारा हालसम्म भएका कार्यक्रमको समिक्ष गरिएको छ । बैठकले नेपाल सरकारबाट उपलब्ध कोभिड-१९ बिरुद्धको खोप भेरोसिल यस नगरपालिका भित्रका खोप उपलब्धतालाई मध्यनजर गरी प्राथमिकताको आधारमा क्रमशः ६४ वर्ष, ६३ वर्ष, ६२ वर्ष, ६१ वर्ष र ६० वर्ष पुगेका नगरबासी नागरीकहरुलाई मात्र मंगलबार नगरपालिका अन्तरगतका प्रत्येक वडाका स्वास्थ्य केन्द्रहरुमा लगाइने निर्णय गरेको छ । विशेष कारणवस २५ गते वडामा लगाउन छुट भएकाहरुको लागि २६ गते व्यास नगरपालिकाको सभाकक्षबाट लगाउने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या शाखालाई निर्देशन दिने बैठकले निर्णय गरेको छ ।
विपद् व्यवस्थापन सम्बन्धमा वडागत जोखिम क्षेत्रहरु तोक्ने, २०७७ असारमा बाढी, पहिरोबाट भत्किएका घरहरुको ३ दिनभित्र सर्वेक्षण सम्पन्न गर्ने र घर निर्माण प्रकृया अगाडि बढाउने, हाल विपदबाट पीडित परिवारलाई वडाको सिफारीसका आधारमा तत्काल राहत वितरण गर्ने निर्णय बैठकले गरेको छ ।
यस्तै, आर्थिक वर्ष २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रमको तयारी चलिरहेकाले सम्पुर्ण नगरबासीं, व्यवसायी, नागरीक समाज, राजनैतिक दल, जनप्रतिनिधिहरुसंग जेठ २८ गतेसम्म अनलाइन मार्फत तथा प्रत्यक्ष रुपमा सुझाब माग गर्ने निर्णय गरेको छ नगर प्रवक्ता एवं वडाध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी गराएका छन् । आर्थिक वर्ष २०७८/०७९ को श्रोत अनुमान तथा बजेट सिमा निर्धारण सम्बन्धमा बैठकमा जानकारी गराइएको र आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यक्रम तर्जुमाका लागि तोकिएको श्रोत अनुमान र सिमाको आधारमा २०७८ जेठ मसान्त भित्र पेश गर्न बजेट तथा कार्यक्रम तर्जुमा समितिलाई निर्देशन दिने निर्णय बैठकले गरेको प्रवक्ता श्रेष्ठले जानकारी गराए ।
व्यासले न्यून विद्यार्थी संख्या भएका विद्यालयलाई एकीकरण प्रक्रिया अगाडि बढाउने
त्यस्तै, यस नगरपालिका भित्रका न्यून विद्यार्थी संख्या भएका विद्यालयलाई भौगोलिक अबस्थाको समेत विश्लेषण गरी विद्यालय एकीकरण प्रकृया अगाडि बढाउने बैठकले निर्णय गरेको छ । शिक्षकको दरबन्दी मिलान गर्ने, जेठ मसान्त भित्र विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धमा भएको प्रगति उपर समिक्षा गरी तोकिएको मिति भित्र व्यवस्थापन समिति गठन नभएका विद्यालयहरुको हकमा असार १ गतेदेखि लागु हुने गरी वडा समितिको समन्वयमा तदर्थ विद्यालय व्यवस्थापन समिति गठनका लागि आवश्यक तयारी गर्न शिक्षा तथा सामाजिक विकास शाखालाई निर्देशन दिने निर्णय गरेको छ ।
बैठकले व्यास नगरपालिका युवा परिषद्को कार्यकारीणी समितिमा सुनिल मिश्र व्यास-०१, एलोज श्रेष्ठ व्यास-०२, निशा भण्डारी व्यास-११ र सञ्जु घले व्यास-०४ लाई मनोनयन गर्ने र ५१ जनाको युवा परिषद् गठन गर्ने निर्णय गरेको छ ।
नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभाग र यस नगरपालिका विच मिति २०७७ फागुन २१ गते भएको सम्झौता अनुसार विश्व वैंकको सहयोगमा निर्माण हुने पुर्वाधारहरुको डिजाइन तथा सुपरभिजन गर्ने परामर्शदाता नियुक्त गर्न कार्यविवरण तथा मुल्याङकनका आधार स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।










