तनहुँमा बाढीपहिरोको वितण्ड : २ जनाको मृत्यु, १ वेपत्ता, करिब ४३ बढि घर पूर्ण क्षति

भञ्ज्याङ न्यूज

तनहुँमा बुधबार साँझदेखि परेको अविरल झरीका कारण ठूलो मात्रमा जनधनको क्षति भएको छ । अविरल झरीसंगै आएको बाढीपहिरोमा परि दुइ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । बाढीपहिरोले तनहुँको बन्दिपुर, म्याग्दे र ऋषिङ गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ। वर्षासंगै आएको पहिरोले पुरिएर ऋषिङ गाउँपालिकामा दुइ जनाको मृत्यु भएको छ भने म्याग्दे गाउँपालिकाका एक युवक बाढीले बगाउँदा वेपत्ता भएका छन् ।

बुधबार साँझदेखि परेको अविरल झरीका कारण विहीबार बिहान आएको पहिरोमा परि ऋषिङ गाउँपालिका-७ दधिवनमा एक महिलाको मृत्यु भएको छ । घरमाथीबाट आएको पहिरो छल्न भाग्ने क्रममा अन्दाजी ५२ वर्षीया देवीसरा थापाको पहिरोमा परेर मृत्यु भएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । मृतकका श्रीमानले भागेर ज्यान बचाउन सफल भएपनि घरबाट भाग्ने क्रममा चप्पल हिलोमा गडेको र चप्पल टिप्न खोज्दा श्रीमतीलाई पहिरोले पुरेको बताइएको छ । मृतकको शव रुखमा अड्किएको अवस्थामा रहेको र नेपाली सेनाको टोलीले निकाल्ने प्रयास गरिरहेको छ ।

यस्तै, पहिरोले पुरिएर विहीबार बिहाननै ऋषिङ गाउँपालिका-८ स्थित माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापाको पनि मृत्यु भएको छ । पहिरोमा परी बेपत्ता भएका थापालाई नेपाली सेना, प्रहरी र स्थानीयले खोजतलास गर्दा मृतअवस्थामा भेटाएको थियो । बिहान करिब ५:३० बजेको समयमा गोठमा गएका थापालाई माथिबाट पहिरो खस्दा पुरेर वेपत्ता बनाएको थियो।

त्यस्तै, तनहुँको म्याग्दे गाउँपालिका-४ मा बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् । स्थानीय अन्दाजी ४० वर्षीय मैत नेपालीको म्याग्दे खोला तर्ने क्रममा बगाएको बताइएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण खोलामा बाढी आएको र खोला तर्ने क्रममा उनलाई बगाएको थियो । खोलाले बगाएका नेपालीको खोजीकार्य जारी रहेको गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले बताइन् ।

– बाढीपहिरोबाट बन्दिपुर, म्याग्दे र ऋषिङ बढि प्रभावित
– करिब ४३ वटा घर पूर्ण क्षति
– सय बढि घरपरिवार विस्थापित
– कृषि र भौतिक क्षेत्रमा ठूलो क्षति

यस्तै, बुधबार साँझदेखि परेको अविरल झरीका कारण आएको बाढीपहिरोले तनहुँका करिब ४३ वटा घरमा पूर्ण क्षति पुगेको छ । बन्दिपुर गाउँपालिकामा १३ घर, म्याग्दे गाउँपालिकामा १० घर र ऋषिङ गाउँपालिकामा २० घरमा बाढीपहिरोले पूर्णरुपमा क्षति पुर्‍याएको सम्बन्धित पालिकाहरुले जनाएका छन् ।

बाढीपहिरोले तनहुँमा ठूलोमात्रमा भौतिक र कृषि क्षेत्रमा क्षति पुर्‍याएको छ । पहिरोले घरगोठ भत्काउँदा पशुचौपायको पनि क्षति पुगेको छ । झरी परिरहेका कारण क्षतिको विवरण संकलन र राहत तथा उद्धारमा समस्या आइरहेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए।

गत असार १६ गते परेको वर्षाका कारण आएको बाढीपहिरोमा परी दुइ जनाको मृत्यु भएको बन्दिपुरमा बुधबार साँझदेखि परेको अविरल झरीले ठूलोमात्रमा भौतिक क्षति पुर्‍याएको छ । गाउँपालिकाका वडा नं. २ खहरेका ५ घर खहरे खोलाको बाढीले पूर्णरुपमा क्षति पुर्‍याएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले बताए ।

यस्तै गाउँपालिकाको वडा नं. २ मा ४८ सहित ७२ घर बाढीपहिराबाट विस्थापित बनाएको उपाध्यक्ष करुणा गुरुङले जानकारी गराइन । गाउँपालिकाको वडा नं. २ खहरे, धारापानी, वडा नं. ३ को रामकोट, वडा नं. ५ को कल्चोकमा बाढीपहिरोले ७२ घर विस्थापित भएको उपाध्यक्ष गुरुङले बताइन ।

बाढीपहिरोले गाउँपालिकामा १३ घर पूर्ण क्षति भएको छ भने खहरेमा ९ घर आंशिक क्षति पुर्‍याएको छ, २६ घर उच्च जोखिममा रहेका छन् । धारापानीमा १२ घर उच्च जोखिममा, रामकोटका ७ घर र कल्चोकमा ५ घर उच्च जोखिममा परेको उपाध्यक्ष गुरुङले जानकारी गराइन् ।

बाढीपहिरोबाट विस्थापित परिवार कृषि केन्द्र र खहरे आमा समूहको भवनमा आश्रय लिन बाध्य छन् । घरभित्र पानी पसेर कतिपय सामाग्रिमा पनि क्षति पुगेको र बचेका सामाग्रि सहित कृषि केन्द्र र खहरे आमा समूहको भवनमा स्थानान्तरण गरिएको छ। बाढीपहिरो पीडितको उद्धार, राहत तथा सुरक्षित स्थानमा बसोवासको व्यवस्थापनमा गाउँपालिका लागि परेको अध्यक्ष पूर्णसिंह थापाले बताएका छन् ।

यस्तै, पहिराले ऋषिङ गाउँपालिका-३ को डढीवनमा तीन घर क्षत्रि्रस्त भएको र थुप्रै घर जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा सभापति इन्द्र आलेले जानकारी गराएका छन् ।

रेडक्रस उपशाखाका अनुसार ऋषिङ-५ राम्जाकोटमा एक घर क्षत्रि्रस्त र दुइ घर जोखिममा परेका छन् । ऋषिङ-६ मा दुइ घर केही गोठ पहिरोको जोखिममा परेका छन् । ऋषिङ-४ का वडा सदस्य टोलनाथ थापाको घर र पद्मज्योति विद्यालय भवन पनि पहिरोका कारण जोखिममा परेको छ ।

झरीसंगै आएको बाढीपहिरोले पृथ्वीराजमार्गको तनहुँ खण्डमा पनि ठूलो क्षति पुर्‍याएको छ भने जिल्लाको भित्री तथा ग्रामीण सडक खण्डहरु पनि पहिरोका कारण अवरुद्ध हुन पुगेका छन् । बाढीपहिरोले कृषकको खेतीबालीमा पनि ठूलो क्षति पुर्‍याएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker