महाशिवरात्रि पर्व : तनहुँका शिवमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

दमौली : महाशिवरात्रि पर्वका अवसरमा आज तनहुँका शिवमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । व्यास नगरपालिका–३ स्थित शिव पञ्चायन मन्दिर, शुक्लागण्डकी नगरपालिका–२ स्थित मुक्तिनाथ च्वयनधाम, आँबुखैरेनीस्थित शिवालय मन्दिरलगायत शिवालयमा भक्तजनको घुइँचो लागेको हो ।

मुक्तिनाथ च्वयनधामस्थित शुक्लेश्वर महादेवको मन्दिरमा पूजाआरधना गरेपछि सन्तान नभएकालाई सन्तान प्राप्ति हुने जनविश्वासका साथ भक्तजन दर्शका लागि आउने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार च्वयनधाममा निर्माण गरिएको शुक्लेश्वर महादेवको मन्दिर, वरपर निर्मित सूर्य नारायण, लक्ष्मी नारायण, दुर्गा भवानी र गणेशको मन्दिरले यहाँ आउने भक्तजनलाई आकर्षित गर्दछ ।

मन्दिरका साथै यहाँ मुक्तिनाथको झल्को दिने एक सय आठ धारा, एक सय आठ ओमकार कल्पवृक्ष, एक सय आठ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्कलगायत संरचना निर्माण गरिएका छन् । बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै यहाँ बौद्ध गुम्बा निर्माण गरिएको छ ।

मुलुककै ठूलो हनुमान मन्दिर निर्माण हुने

तनहुँको देवघाट गाउँपालिका–५ मा मुलुकको ठूलो हनुमानको मूर्तिसहित मन्दिर निर्माण हुने भएको छ । देवघाटमा भएको भेलाले आमोदिनाथ हनुमानधाम तपस्थली मन्दिर निर्माणका लागि समिति गठन गरेको छ । उक्त समितिको अध्यक्षमा केशवचन्द्र न्यौपाने चयन हुनुभएको छ ।

देवघाट–५ स्थित मधुवन सामुदायिक वन समूहको क्षेत्रभित्र रहेको हनुमानको संरचनालाई पुनःनिर्माण गरी मुलुकको ठूलो मन्दिर बनाइने अध्यक्ष न्यौपानेले बताउनुभयो ।

हालको आमोदिनाथ हनुमान तपस्थली मन्दिर मधुवन सामुदायिक वनभित्र परेकाले अब बन्ने मन्दिर पनि वनको कार्ययोजनामा सम्पन्न गर्ने मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरीले बताउनुभयो । सो मन्दिरसम्म जानका लागि सीता सामुदायिक वनबाट पैदलयात्रा, सवारीसाधनमार्फत रानीवन सामुदायिक वन र मधुवन सामुदायिक वनबाट जाने तथा वैकल्पिक मार्गका रूपमा रातामाटे सुन्दरबस्ती गाउँलाई प्रयोग गर्न सकिने गिरीले जानकारी दिनुभयो ।

मधुवन सामुदायिक वनभित्र रहेको सीता पाइला, रानीपोखरी, सातभाइ चिहानलगायत पुराना ऐतिहासिक ठाउँलाई संरक्षण गर्दै हनुमान मन्दिर निर्माण गरी यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको गिरीले उल्लेख गर्नुभयो ।

मन्दिरको निर्माण सुरु नहुँदै सहयोग रकम सङ्कलन भइरहेको मन्दिर निर्माण समितिले समितिले जनाएको छ । समितिका अध्यक्ष न्यौपानेका अनुसार मन्दिर निर्माणका लागि डा लक्ष्मीकान्त पाण्डेले रु एक लाख ११ हजार ११, भानुभक्त न्यौपानेले रु ११ हजार ११, प्रविण कार्कीले रु ११ हजार ११, सीता सामुदायिक वनबाट रु २२ हजार २२ सङ्कलन भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker