दुइ प्रदेश जोड्ने घुमाउनेको पक्की पुल नौ वर्षमा पनि बनेन
भञ्ज्याङ समाचारदाता/तनहुँ
गण्डकी प्रदेशको तनहुँ र बागमती प्रदेशको चितवन जोड्ने घुमाउनेमा पक्की पुल निर्माण कार्य अलपत्र अवस्थामा छ । बुद्धसिंह मार्ग अन्तर्गत तनहुँ र चितवनलाई सडक मार्गबाट छोटो दुरीमा जोड्ने घुमाउनेमा पक्की पुल निर्माणका लागि गरिएको सम्झौताको नौ वर्ष बितेको छ ।
वि.सं. २०७१ असारमा मृत सञ्जीवनी निर्माण कम्पनीले वि.सं. २०७३ असार ३० गते भित्र पुल निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । विभिन्न बहाना बनाउँदै पुल निर्माणकार्यमा ढिलासुस्ती गर्दै आएको निर्माण पक्षले पटकपटक पुल निर्माणको म्याद थप्दै आएपनि हालसम्म पुल निर्माणको कामले गतिलिन सकेको छैन ।
तनहुँको आँबुखैरेनी गाउँपालिका-५ र चितवनको भरतपुर महानगरपालिका-२९ जोड्न त्रिशुली नदीमाथिको घुमाउनेमा निर्माण गर्न लागिएको पुलको हालसम्म दुबै तर्फ पिल्लर मात्र उठाएर अलपत्र अवस्थामा राखिएको छ । ठेकेदार कम्पनीले पुलको डिजाइन परिवर्तन र मुग्लिन-नारायणगढ सडक आयोजनाको अवरोध लगायतका कारणले काममा ढिलाइ भएको दावी गर्दै आएको छ । सुरुमा स्टिल ट्रस पुल बनाउने भनेकामा सो बमोजिम पुल बनाउँदा नारायणगढ मुग्लिनखण्डमा खतरामा पर्ने भन्दै निर्माण व्यवसायीले डिजाइन परिवर्तन गरी आरसिसी आर्क ब्रिज बनाउन लागिएको हो ।
डिजाइन एण्ड विल्डका आधारमा ठेकेदार कम्पनीले नै तयार गरेको डिजाइन अनुसार पुल १ सय ५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत ८ करोड २६ लाख रूपैयाँ छ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने डिजाइनमा उल्लेख छ । म्याद थप भएपनि रकम भने थप नहुने बताइएको छ ।
सम्झौता भएको लामो समयसम्म पनि पुल निर्माणको कामले गति लिन नसक्दा यस क्षेत्रका बासिन्दाले अनेकौ सास्ती झेल्दै आउनुपरेको छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेको उक्त मोटरेवल पुल सडक विभाग अर्न्तर्गतको सडक डिभिजन कार्यालय दमौलीको प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको हो ।
उक्त पुलको निर्माण सम्पन्नपश्चात् पोखरा र दमौलीलाई नारायणगढ आउनजान हाल सञ्चालन भइरहेको मुग्लिङ-नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ-नारायणगढ सडक खण्डसम्म ल्याउने गरिन्छ ।
पृथ्वीराजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिंह मार्ग कालोपत्रको काम गण्डकी प्रदेश सरकारले अगाडि बढाएपनि कामले गति लिन सकेको छैन । पोखरा-नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तर्राईका विभिन्न जिल्ला आउजाउँ गर्न समय बचत हुने बुद्धसिंह मार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष विश्व बास्तोला बताउँछन् ।
तनहुँको दमौलीबाट घुमाउने घाटसम्म नियमितरुपमा साना बस तथा दुइपांग्रे सवारीसाधन आउने जाने गर्छन । एक दशक बित्नै लाग्दा पनि मुग्लिन नारायणगढ खण्डको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्ग अर्न्तर्गत घुमाउनेमा निर्माण गर्न लागिएको पक्की पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रका बासिन्दाले निकै सास्ती झेल्दै आउनुपरेको छ ।
विसं २०७८ सालको बर्सात मौसममा त्रिशूली नदीमा आएको भेलले पुलको दुवै तर्फो ५४० मध्ये २५७ वटा डन्डी भाँचिएको कारण काममा ढिलाइ भएको बताइन्छ । काममा ढिलाइ भएपछि निर्माण व्यवसायीलाई पटक पटक लिखित पत्राचार तथा मौखिक ताकेता गरिएको २०७९ असार १९ गते सूचना प्रकाशित गरी निर्माण व्यवसायीलाई सात दिनको म्याद राखेर स्पष्टीकरण सोधिएको थियो । तत्पश्चात् २०७९ असार २० गते सार्वजनिक खरिद नियमावली २०६४ (१२औँ संशोधन) प्रकाशित भई सो अनुसार विसं २०८० असार ३० सम्म म्याद थप गरिएको सडक डिभिजन कार्यालय दमौलीकी सूचना अधिकारी इ. बविता शर्मा बताउँछिन् ।
‘यो अबधिमा पनि निर्माण पक्षले पुल निर्माण कार्यालाई अगाडि बढाएको छैन । सम्झौता अनुसार राखिएको धरौटी बापतको रकम नियमानुसार कार्यालयले जफत गरिसकेको छ’, सूचना अधिकारी इ. शर्माले भनिन्, ‘अहिले निर्माण पक्षले चालु आर्थिक वर्षको असार मसान्तसम्म पुल निर्माण कार्य सम्पन्न गर्ने गरी कार्यायोजना पेश गरी म्याद थपको माग गरेको हुँदा म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन ।’
यस्तै, निर्माण व्यवसायीलाई बारम्बार ताकेता गर्दा पनि हेलचक्र्याइँ गरी साइटमा नआएकाले २०८० वैशाख १५ मा ठेक्का तोडी कालोसूचीमा किन नराख्ने भनी सात दिने म्याद दिई कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेस गर्नका लागि पत्र पठाइएको थियो । तत्पश्चात् पनि चित्तबुझदो जवाफ नआएकाले विसं २०८० असार १३ गते ठेक्का किन नतोड्ने भनी सात दिनभित्र संशोधित कार्यतालिका, सोहीसँग मेल खाने भरपर्दो स्रोत परिचालन योजनासहित कार्यालयमा उपस्थिति हुन अन्तिम पटक अनुरोध गरिएको थियो ।
सार्वजनिक खरिद नियमावली, २०६४ (१२औँ संशोधन) अनुसार म्याद थप भएको अवधिभित्र निर्माण कार्य सम्पन्न नभएको अवस्थामा सोही नियमावलीको नियम १२१ बमोजिम पूर्वनिर्धारित क्षतिपूर्ति लगाई ठेक्का कारबाही प्रक्रिया अगाडि बढाउने व्यवस्था छ । त्रिशूली नदीमाथिको घुमाउनेमा सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल निर्माण सम्पन्न भइसक्थ्यो ।
यस्तै, बुद्धसिंह मार्ग घुमाउनेमा पक्की पुल निर्माणमा भइरहेको ढिलाई बारे पूर्वमन्त्री एवं सांसद कृष्णकुमार श्रेष्ठ -किसान)ले चासो व्यक्त गरेका छन् । सांसद श्रेष्ठले विहीबार पुल निर्माणको ठेक्का पाएको मृत सञ्जिवनी कन्स्ट्रक्सनका सञ्चालक सुवास कार्कीसँग हालसम्मको कामको बारेमा जानकारी लिँदै काममा ढिलाइ भएका बारे चासो व्यक्त गरेका थिए ।
त्यसक्रममा सांसद श्रेष्ठले यो पुल दुइ प्रदेश जोड्ने रणनीतिक महत्वको पुल भएकाले जतिसक्दो चाँडो काम सम्पन्न गर्न ध्यानाकर्षण गराए । पुल निर्माण ढिलाइले तनहुँका जनताले दुःख पाएको बताउँदै सांसद श्रेष्ठले भने, ‘म अहिले बाराबाट सांसद भएपनि यसअगाडी तनहुँको जनप्रतिनिधि हो, बारा गएपनि तनहुँको विकास निर्माणमा मेरो सधैं प्रयास हुन्छ ।
तनहुँको विकासलाई मैले अलपत्र छाड्न मिल्दैन । पुल जसरी पनि चाँडै सम्पन्न गर्नुपर्यो ।’ सांसद श्रेष्ठले पुल निर्माणका क्रममा केही समस्या भएपनि आफूलाई जानकारी गराउन आग्रह गर्दै समस्या समाधानका लागि पहल गरिने बताए । उनले भने, ‘भौतिक पूर्वाधार मन्त्रीलाई भन्नपरे म भन्छु, काममा समस्या, प्राविधिक समस्या, प्रशासनिक समस्या भए भन्नुस् । सबै समस्या समाधान हुन्छ ।’










