भानु नगरपालिकाको स्वास्थ्य क्षेत्र : भौतिक पूर्वाधार भएपनि दक्ष जनशक्ति र आवश्यक दरबन्दी अभाव

गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने गरी कार्यक्रम सञ्चालन गरेका छौं : नगरप्रमुख त्रिपाठी

आनन्दराज त्रिपाठी
नगरप्रमुखः भानु नगरपालिका
तनहुँको भानु नगरपालिकाले नागरिकलाई मौलिक अधिकारका रूपमा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्यसहित स्वास्थ्य क्षेत्रका विभिन्न नीतिगत कार्यक्रम तयार गरी सेवा प्रवाह गर्दै आएको छ । नगरप्रमुख आनन्दराज त्रिपाठीले स्वास्थ्य सेवा विस्तार, पहुँच वृद्धि र गुणस्तर सुधारलाई प्राथमिकतामा राखिएको बताएका छन् ।
नगरप्रमुख त्रिपाठीका अनुसार नगरभित्र कुनै पनि नागरिक शुल्ककै कारण स्वास्थ्य सेवाबाट वञ्चित नहुने व्यवस्था गर्ने गरी कार्यक्रम सञ्चालन भइरहेका छन् । उनले भने, ‘अति विपन्न परिवारका लागि उपचारका साथै अस्पतालसम्म आउने–जाने खर्चसमेत नगरपालिकाले व्यवस्थापन गर्ने नीति लिएका छौँ ।’ उनले गरिब, सिमान्तकृत तथा जोखिममा रहेका समुदायलाई लक्षित गर्दै विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै स्वास्थ्य सेवामा सामाजिक न्याय सुनिश्चित गरिने उल्लेख गरे । निजी क्षेत्रसँग सहकार्य गर्दै स्वास्थ्य सेवामा निजी लगानी प्रवद्र्धन गर्ने तथा सरकारी–गैरसरकारी दुवै क्षेत्रबाट प्रदान गरिने सेवाको प्रभावकारी नियमन गरिने उनको भनाइ छ ।
नगरप्रमुख त्रिपाठीले पुरनडिही नगर अस्पतालको अत्याधुनिक भवन निर्माणको अन्तिम चरणमा पुगेको र भवन निर्माण सम्पन्न पश्चात डिजिटल प्रयोगशाला तथा एक्स–रे सेवालाई प्रभावकारीढंगले सञ्चालन गर्ने तयारीमा रहेको जनाए । यस्तै, कालिमाटी नगरस्तरीय अस्पतालको नयाँ भवन निर्माण कार्यपनि अगाडि बढेको र यहाँबाट पनि आधुनिक प्रविधियुक्त स्वास्थ्य सेवा उपलब्ध गर्ने योजनामा रहेको नगरप्रमुख त्रिपाठीले जानकारी गराए । स्वास्थ्य सेवामा प्रविधिको प्रयोग बढाउँदै सम्पूर्ण स्वास्थ्य गतिविधि अभिलेख तथा प्रतिवेदन प्रणालीलाई डिजिटलाइज गरिने नगरपालिकाले जनाएको छ। खोप क्लिनिक, गाउँघर क्लिनिक तथा सामुदायिक स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिँदै जनशक्तिलाई प्रोत्साहन गर्ने नीति लिएको छ। नगरप्रमुख त्रिपाठीले भने, ‘स्वास्थ्य सेवा जनताको घरदैलोमै पुर्याउने हाम्रो प्राथमिकता हो ।’
यस्तै, नसर्ने रोग नियन्त्रणका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गरिने तथा क्यान्सर, मुटु, मिर्गौला लगायतका गम्भीर रोगका विपन्न बिरामीलाई आर्थिक सहयोगलाई निरन्तरता दिइने उनले जनाए। नगरपालिकाले मातृ तथा शिशु स्वास्थ्य, खोप र प्रजनन स्वास्थ्य सेवालाई थप व्यवस्थित र समयअनुकूल बनाउँदै लगेको छ । पूर्ण खोप सुनिश्चितता कायम राख्न विशेष कार्यक्रम सञ्चालन गरिने र सेवाग्राहीलाई एसएमएसमार्फत जानकारी दिने व्यवस्था गरिने योजना रहेको छ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई थप सुदृढ गर्दै कालिमाटी अस्पतालसम्म विस्तार गरिने तथा विपन्न, शहीद परिवार र बेपत्ता परिवारलाई प्राथमिकतामा राखिने नगरपालिकाले जनाएको छ। साथै नगरभित्रका दुवै अस्पतालबाट मासिक रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउने तयारी गरिएको छ । नगरपालिकाले टुहुरेपसल आयुर्वेद औषधालयबाट अत्याधुनिक भवनमार्फत सेवा सुरु गरिने तथा आयुर्वेद सेवामा पञ्चकर्म, योग लगायतका उपचार विधि विस्तार गरिने नगरप्रमुख त्रिपाठीले बताए । उनले आयुर्वेद लगायत वैकल्पिक चिकित्सा पद्धतिलाई क्रमशः मुख्यधारमा समावेश गरिने उल्लेख गरे ।
नगरपालिकाले ज्येष्ठ नागरिकका लागि घरघरमै मासिक स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्ने योजना बनाई कार्यान्वयनको चरणमा लैजाने भएको छ। साथै दुई वर्षभित्र भानु नगरपालिकालाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिएका नगरपालिकाले जनाएको छ। समग्रमा भानु नगरपालिकाले स्वास्थ्य सेवा सर्वसुलभ, प्रभावकारी र गुणस्तरीय बनाउने लक्ष्यसहित पूर्वाधार विकास, प्रविधि प्रयोग, सामाजिक सुरक्षा र समुदायमुखी कार्यक्रमलाई एकसाथ अघि बढाएको नगरप्रमुख त्रिपाठीले जनाए । ‘स्वास्थ्य सेवा सुधार बिना समृद्ध नगरको परिकल्पना सम्भव छैन, त्यसैले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका छौँ’, नगरप्रमुख त्रिपाठीले भने, ‘स्वास्थ्य क्षेत्रलाई आवश्यक पर्ने पूर्वधार बन्दै गएपनि दक्ष जनशक्ति र आवश्यक चिकित्सकको दरबन्दी नहुँदा गुणस्तरीय स्वास्थ्य सेवा दिने विषय चुनौती थपिदै गएको छ ।’
नागरिकको स्वास्थ्य उपचार सेवा पहुँचयोग्य बनाउने जिम्मेवारी स्थानीय सरकारको भएपनि प्रदेश र संघ सरकारले आवश्यक आधुनिक उपकरण, ल्यावका उपकरण तथा दक्ष जनशक्तिको व्यवस्था गरिदिएमा ग्रामीण क्षेत्रसम्म सहज र सर्वशुलभढंगले उपचार सेवा विस्तार गर्न सकिने नगरप्रमुख त्रिपाठीले बताए ।
ऐश्वर्यचन्द्र भट्टराई : स्वास्थ्य शाखा प्रमुख, भानु नगरपालिका
तनहुँको भानु नगरपालिकाले स्वास्थ्य सेवा विस्तार तथा गुणस्तर सुधारमा उल्लेखनीय प्रगति गरेको जनाएको छ। आर्थिक वर्ष २०८१/०८२ मा नगरभित्रका विभिन्न स्वास्थ्य संस्थाबाट मात्रै ५६ हजार ५३२ जना सेवाग्राहीले सेवा लिएका छन् भने गाउँघर क्लिनिक, खोप कार्यक्रम र महिला स्वास्थ्य स्वयंसेविकामार्फत हजारौं नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । नगरपालिकामा हाल १६ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन्, जसमा एक आधारभूत अस्पताल, एक स्थानीय अस्पताल, ६ स्वास्थ्य चौकी, ६ आधारभूत स्वास्थ्य सेवा केन्द्र र २ सामुदायिक स्वास्थ्य इकाइ रहेका छन् । ती संस्थाबाट दैनिक रूपमा बहिरंग सेवा, प्रयोगशाला सेवा, महिला स्वास्थ्य सेवा र आँखा जाँच लगायतका सेवा प्रदान हुँदै आएका नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराइले बताए ।
नगरपालिकाले सबै वडामा सञ्चालन गरेको एकीकृत घुम्ती स्वास्थ्य शिविरमार्फत ३ हजार १८३ जनाको स्वास्थ्य परीक्षण गरिएको उनले जनाए । परीक्षणका क्रममा ७८० जनामा उच्च रक्तचाप, १४२ जनामा दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग र ३० जनामा मधुमेहको आशंका देखिएको छ । ती सबैलाई थप उपचारका लागि सम्बन्धित अस्पतालमा पठाइएको उनले जनाए ।
त्यस्तै, १ हजार २०० जनाको आँखा जाँच गरिएकोमा १०३ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया गरिएको स्वास्थ्य शाखाले जनाएको छ । महिलामा पाठेघरको मुखको क्यान्सर परीक्षणअन्तर्गत ७०० जनाको स्क्रिनिङ गर्दा १८ जनामा पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख भट्टराईले जानकारी गराए । उनका अनुसार गाउँघर क्लिनिक ४३० पटक सञ्चालन भई ११ हजार २६० जनाले सेवा लिएका छन् । खोप क्लिनिक ४०८ पटक सञ्चालन हुँदा ३ हजार १९४ जना लाभान्वित भएका छन्। महिला स्वास्थ्य स्वयंसेविकामार्फत २२ हजार ७२५ जनाले सेवा पाएका छन्। उनले भने, ‘उमेर समूह अनुसार विश्लेषण गर्दा १५ देखि ५९ वर्ष उमेर समूहमा स्वास्थ्य सेवा उपयोग सबैभन्दा बढी रहेको देखिएको छ। यसले कार्यशील उमेर समूहमा स्वास्थ्य सचेतना र पहुँच बढेको संकेत गर्छ ।’
यस्तै, स्वास्थ्य बीमा कार्यक्रममा नगरभित्र १८ हजार ८० जना नागरिक सहभागी भएका छन् । विपन्न वर्गलाई लक्षित गर्दै २३ घरधुरीको बीमा नगरपालिकाले आफ्नै स्रोतबाट गरिदिएको छ । तथापि, बीमा नवीकरणमा ढिलाइ र जनचेतनाको अभाव चुनौतीका रूपमा देखिएको छ । नगरपालिकाका अनुसार कुल १ हजार ३५ जन्मदर्तामध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने दर निकै न्यून (१.६४ प्रतिशत) रहेको छ । घरमै सुत्केरी हुने दर ०.५८ प्रतिशत रहेको देखिएको छ। यद्यपि उपलब्ध विवरण अनुसार कुल प्रत्यक्ष अभिलेखमा ७३.९५ प्रतिशत जन्म स्वास्थ्य संस्थामा र २६.१५ प्रतिशत घरमा भएको देखिन्छ । यसले सबै जन्म तुरुन्त प्रणालीमा अभिलेख नहुने समस्या र संस्थागत सुत्केरी सेवाको पहुँच अझै चुनौतीपूर्ण रहेको देखिएको छ ।
प्रयोगशाला सेवाअन्तर्गत १ हजार ८३२ जनाको सुगर तथा मलेरिया परीक्षण, ९७९ जनाको खकार परीक्षण गरिएको छ। यस क्रममा ३० जनामा सम्भावित मधुमेह र २ जनामा क्षयरोग पहिचान भएको छ। मलेरिया भने फेला नपरेको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाले उच्च रक्तचाप, मधुमेह, दीर्घ श्वासप्रश्वास रोग तथा पाठेघरको मुखको क्यान्सरलाई प्राथमिकतामा राखी स्क्रिनिङ कार्यक्रम सञ्चालन गरेको जनाएको छ । बढ्दो निष्क्रिय जीवनशैली, धूम्रपान, मद्यपान र अस्वस्थ खानपानका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको निष्कर्ष निकालिएको छ ।

आयुर्वेद सेवामा आकर्षण

यस्तै, आयुर्वेद स्वास्थ्य सेवातर्फ १ हजार २४८ जनाले उपचार लिएका छन्, जसमा ६१ प्रतिशत महिला र ३८ प्रतिशत पुरुष रहेका छन् । घरदैलोमै सेवा पुगेपछि ज्येष्ठ नागरिक, अशक्त तथा महिलाहरूको सहभागिता उल्लेखनीय रहेको नगरपालिकाले जनाएको छ । भानु नगरपालिकामा स्वास्थ्य सेवाको पहुँच सन्तोषजनक देखिए पनि न्यूनतम सेवा मापदण्ड स्कोर ५९ प्रतिशत मात्रै रहेको छ । सेवा गुणस्तर सुधार, संस्थागत सुत्केरी दर वृद्धि, स्वास्थ्य बिमामा जनचेतना अभिवृद्धि र दुर्गम क्षेत्रमा पहुँच विस्तार आवश्यक देखिएको छ । नगरपालिकाले आगामी दिनमा समुदायस्तरमै स्वास्थ्य सेवा थप सुदृढ गर्दै नागरिकलाई सहज, गुणस्तरीय र पहुँचयोग्य सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker