साउनको दोश्रो सातासम्म पनि तनहुँका टारी खेतहरुमा रोपाइ हुन सकेन

तनहुँ : साउन महिनाको दोश्रो सातासम्म पनि तनहुँमा रोपाई पुरा सकेको छैन । प्रयाप्त पानी नपर्दा आकाशे पानीको भरमा रोपाई हुने टारी खेतहरुमा अझै रोपाई हुन नसकेको कृषकहरुले बताउने गरेका छन् ।
आकाशे पानी र मुलको पानीबाट रोपाई हुने करिब १२ प्रतिशत खेत रोप्न बाँकी रहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । लामो समयको खडेरी र तापक्रम वृद्धिले गर्दा तनहुँमा रोपाइँ प्रभावित भएकोले रोपाइँ ढिलाई भएको हुँदा हालसम्म ८८ प्रतिशतको हाराहारीमा रोपाइँ भएको केन्द्रका केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार पानीको पहुँच पुगेका नदी तथा खोलाबाट सिञ्चित गैरी खेतमा रोपाइँ भए पनि यसवर्ष मूल फुट्ने गरी पानी नपर्दा टारी खेतमा रोपाइँ गर्न ढिलाइ भएको हो । हाल पानी परिरहेको भए पनि मुसलधारे नपरेकोले मुल फुट्न सकेको छैन । मूल फुटेर रोप्ने मौसमको आधारमा गरिने खेत किसानको बिउ हुर्किएर समस्या भएको छ ।
धान खेतीका लागि जिल्लाको साँगेफाँट, चुँदीफाँट, कलेस्ती, तनहुँसुर, सेपाबगैचा, पुर्कोट, अत्रौली, आँबुखैरेनी लगायतका ठाउँ प्रख्यात छन् । तनहुँका कृषकहरुले सादा मनसुली, सावित्री, मकवानपुरे, सुख्खा १, सुख्खा २ र उन्नत जातहरु युएस ३१२ र च्यम्पियन हाईब्रिड जातका धान बढी लगाउने गरेका छन् ।
केन्द्रका अनुसार जिल्लामा आठ हजार ७२० हेक्टर जमिन वर्षेधान खेती हुने गर्दछ । गत वर्ष आठ हजार ७२० हेक्टर जमिनमा धान लगाउँदा ३५ हजार ५२ मेट्रिक टन उत्पादन भएको थियो। यस वर्ष आठ हजार ७२० हेक्टर जमिन मध्ये सात हजार ६७३.६ हेक्टर अर्थात ८८ प्रतिशत खेतमा रोपाइँ भएको छ ।
गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ
हालसम्म गण्डकी प्रदेशमा ७९ हजार ८३८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । जुन यस वर्ष रोपाइँ हुने क्षेत्रफलको झण्डै ८५ प्रतिशत हो । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष ९४ हजार १८२ हेक्टरमा रोपाइँ हुने अनुमान छ ।
पछिल्लो आकडाअनुसार सबैभन्दा धेरै बागलुङमा ९५ प्रतिशत, लमजुङमा ९३ दशमलव १८ प्रतिशत, कास्कीमा ९० दशमलव ०१ प्रतिशत, नवलपुरमा ७८ दशमलव ७० प्रतिशत, तनहुँमा ८८ प्रतिशत, म्याग्दीमा ८६ दशमलव ०५ प्रतिशत, स्याङ्जामा ८१ दशमलव ८४ प्रतिशत, गोरखामा ७८ दशमलव ४० र पर्वतमा ८० प्रतिशत रोपाइँ भएको हो ।
निर्देशनालयका कृषि अर्थविज्ञ मनोज पौडेलका अनुसार अकासे पानीमा निर्भर हुने क्षेत्रमा रोपाइँ केही ढिला भएको छ । वर्षाले साथ दिएमा आगामी सातासम्ममा अधिकांश क्षेत्रको रोपाइँ सकिने छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ ।
गत वर्ष ९६ हजार ५३ हेक्टरमा धानखेती गरिएकामा यस वर्ष धानखेतीको क्षेत्रफल घटेको हो । घरघडेरीले धानको उब्जाउ क्षेत्र नासिनु, तीव्र सहरीकरणजस्ता कारणले धानखेतीको क्षेत्रफल खुम्चँदै गएको हो । क्षेत्रफल घटे पनि सिँचाइ, खेती प्रणालीमा सुधार, रोगकीरा नियन्त्रण, उन्नत बीउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुनसके धानको उत्पादकत्व बढ्ने कृषि अर्थविज्ञ पौडेलले बताउनुभयो ।
गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिन्छ । प्रदेशको चार लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धानखेती हुने गरेको छ ।










