नयाँ वर्षमा बन्दीपुरमा मौलिक रैथान्ने खाना तथा सांस्कृतिक महोत्सव

दमौली : पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा स्थानीय पर्यटन व्यवसायीहरुले नयाँ वर्षको अवसरमा १२औं मौलिक रैथान्ने खाना तथा सांस्कृतिक महोत्सव गर्ने भएका छन् । बन्दीपुर भ्रमण वर्ष २०२५ कै कार्यक्रम अन्तर्गत ४ दिने मौलिक रैथान्ने खाना तथा सांस्कृतिक महोत्सव आयोजना गरिएको हो ।
बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालयले बिहीबार दमौलीमा पत्रकार सम्मेलन गर्दै यही चैत ३० गतेदेखि वैशाख २ गतेसम्म विविध सांस्कृतिक कार्यक्रम, रैथान्ने अर्गानिक खानेकुरा, राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक कार्यक्रम महोत्सवमा गर्ने जनाएको छ ।
बन्दीपुर भ्रमण वर्ष २०२५ को कार्यक्रम अन्तरगत महिनामा दुई वटा कार्यक्रम आयोजना गर्ने भनिएकामा नयाँ वर्ष २०८२ को अवसरको महोत्सव पनि त्यही कार्यक्रम अन्तर्गत रहेको आयोजकले बताएको छ । बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालयका अध्यक्ष बैंश गुरुङले समग्र बन्दीपुरको विकासको लागि महोत्सव आयोजना गरेको बताए ।
‘५० हजार बाह्य पर्यटक र एक लाख ५० हजार आन्तरिक पर्याटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष सुरु गरेका छौं’, उनले भने, ‘यो लक्ष्यसम्म पुग्न नयाँ वर्षको महोत्सवले पनि टेवा पु¥याउने आशा छ ।’
यस्तै, बन्दीपुरमा आन्तरिक तथा बाह््य पर्यटक प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । उनले भने, ‘स्थानीय अर्गानिक खानाका परिकार, आफ्नै ठाउँमा उत्पादित बस्तु, रैथाने खाना, यहाँको परम्परा, संस्कृतिको संरक्षण र प्रचार गर्ने हाम्रो लक्ष्य छ ।’
महोत्सवमा स्थानीय कला संस्कृति, पदमार्ग, पर्यटकीय गन्तव्यको प्रचार गर्ने र ती स्थानमा पर्यटकलाई पु¥याउने उनले बताए। महोत्सवको अवसरमा विद्यालय स्तरी नृत्य प्रतियोगिता, विभिन्न समुदायका नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने गाउँपालिकाका अध्यक्ष थापाले बताए ।
महोत्सवमा विभिन्न रैथाने परिकारहरूको स्वाद लिनुका साथै संस्कृतिक कार्यक्रममा रमाइलो गर्दै बन्दीपुरका पर्यटकीय ठाउँको भ्रमण गर्न पाइने सम्पदा नेपालका संस्थापक अध्यक्ष तथा पर्यटन विद् हरिसिं गुरुङले बताए । उनले भने, ‘शान्त वातावरण र मौलिक संस्कृतिमा रमाउन चाहने पर्यटकलाई लक्षित गर्दै कार्यक्रम तयार पारिएको हो ।’
बन्दीपुर भ्रमण बर्ष सफल बनाउन समय समयमा पालिकाभित्रका ८ गतिविधिका विषयमा छलफल गरी सुधार गर्दै जाने उनले बताए । उनका अनुसार बन्दीपुर भित्रका आकर्षकहरुमा सुधार, पर्यटन व्यवसायीमा सुधार, पर्यटकीय पूर्वाधार तथा संरचनाको सुधार, पर्यटन जनशक्तिको विकास, पर्यटन प्रवर्द्धनमा सुधार, पुरात्वतिक सम्पदाहरुको संरक्षण, वातावरणीय प्रयोगमा सुधार, स्थानीय अभिलेखीकरण लगायतका विषयमा योजना बनाई कार्यन्वयन गर्ने र समयसमयमा निग्रानी गर्नुपर्छ । बन्दीपुर भ्रमण वर्षकै अंशको रुपमा रहेको यस महोत्सवले बन्दीपुर भित्रका पर्यटकीय क्षेत्रको विकाससंगै गाउँमै रोजगारीको अवसर सिर्जना गर्ने उनले बताए ।
बन्दीपुर भ्रमण वर्ष २०२५ का प्रचारप्रसार संयोजक राजु बानियाँ, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारी लगायतले बन्दीपुरले महोत्सवको आयोजनाले स्थानीय रैथाने खाना, स्थानीय उत्पादन तथा लोप हुन लागेका विभिन्न समुदायका कला र संस्कृतिको संरक्षण हुने बताए ।










