घिरिङ र भिमादमा सार्वजनिक सुनुवाइ, विकास र सेवा प्रवाहबारे समीक्षा

तनहुँ : तनहुँको घिरिङ गाउँपालिका र भिमाद नगरपालिकामा आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक अवधिसम्मका कार्यक्रम, सेवा प्रवाह तथा बजेट कार्यान्वयनबारे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएका छन्।
घिरिङ गाउँपालिकाको वडा नम्बर ५ देउरालीस्थित कार्यालयमा शुक्रबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाले हालसम्म गरेका विकास आयोजना, सेवा प्रवाह र बजेट खर्चबारे जानकारी गराइएको थियो।
गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले सीमित स्रोत–साधनका बाबजुद पालिकालाई समृद्ध बनाउने दिशामा काम भइरहेको बताए। उनले शिक्षाको गुणस्तर सुधार, १० शैयाको आधारभूत अस्पताल निर्माण, कृषि तथा पशुपालनको व्यवसायीकरण, उत्पादनमा आधारित अनुदान, ग्रामीण सडक स्तरोन्नति र आन्तरिक आम्दानी वृद्धि प्रमुख प्राथमिकतामा रहेको जानकारी दिए।
त्यस्तै अदुवा प्रशोधन केन्द्र स्थापना, एक घर–एक धारा कार्यक्रम, सुख्खा टारमा सिँचाइ विस्तार, बेरुजु अन्त्य, एम्बुलेन्स सेवा सहजता तथा कालीगण्डकी डाइभर्सन रोक्न पहल गरिने पनि उनले उल्लेख गरे। स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याइएको अध्यक्ष थापाको भनाइ थियो।
गाउँपालिकाको गौरवको आयोजना कृष्णमार्ग सम्बन्धी विवाद टुंगो लागेर ठेक्का तोडिएको र अब नयाँ प्रक्रिया अघि बढाइने उनले बताए। आगामी आर्थिक वर्षमा उक्त आयोजनाका लागि संघीय सरकारसँग पहल भइरहेको जानकारी दिइयो।
उपाध्यक्ष राधादेवी अधिकारीले सार्वजनिक सुनुवाइले जनतालाई जानकारी दिने र सुझाव संकलन गर्ने महत्वपूर्ण माध्यम भएको बताइन्। प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले पूर्वाधार विकासलाई प्राथमिकता दिँदै विभिन्न सीपमूलक तालिम, आयआर्जन कार्यक्रम, कृषि तथा पशुपालन अनुदान, कोल्ड स्टोर सञ्चालन, सुन्तला, मकै र अदुवा पकेट कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
चालु आर्थिक वर्षमा ४५ करोड बजेटमध्ये चैत मसान्तसम्म ४८.८८ प्रतिशत अर्थात २१ करोड ९९ लाख रुपैयाँ खर्च भएको र आम्दानीतर्फ ७३.७५ प्रतिशत अर्थात ३३ करोड १९ लाख रुपैयाँ संकलन भएको ढकालले बताए। कार्यक्रममा सहभागीहरूले भौतिक पूर्वाधार विकास, कृष्णमार्ग कालोपत्रे, सिँचाइ विस्तार, गुणस्तरीय शिक्षा, स्वच्छ खानेपानी, आन्तरिक आम्दानी वृद्धि तथा युवा पलायन रोक्ने विषयमा सुझाव दिएका थिए।
यस्तै, भिमाद नगरपालिकामा पनि सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार वडा नम्बर ९ स्थित सामुदायिक भवनमा सम्पन्न भएको छ। कार्यक्रममा दोस्रो चौमासिक अवधिसम्मका योजना, सेवा प्रवाह र बजेट खर्चबारे जानकारी गराइएको थियो। कार्यक्रममा उपप्रमुख शारदा खनालले शिक्षा, कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रको विकासमा नगरपालिका निरन्तर सक्रिय रहेको बताइन्। उनले कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत दुग्ध उत्पादनमा प्रति लिटर १० रुपैयाँ अनुदान दिइएको जानकारी दिइन्।
प्रमुख प्रशासकीय अधिकृत सोभाखर पोख्रेलले नगरपालिकाले सञ्चालन गरेका कार्यक्रमहरूको समग्र विवरण प्रस्तुत गरेका थिए भने शिक्षा शाखा प्रमुख सन्दीप पौडेलले शैक्षिक अवस्थाबारे जानकारी गराए।
योजना प्रमुख टेकावती ढकालले दोस्रो चौमासिकसम्म सम्पन्न योजनाहरूको प्रगति प्रस्तुत गरिन्। कार्यक्रममा विभिन्न शाखाबाट सम्पादित गतिविधिबारे जानकारी दिइएको थियो। सहभागीहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पूर्वाधार तथा सिँचाइका विषयमा जिज्ञासा र सुझाव राखेका थिए।
दुवै स्थानीय तहमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रमले पारदर्शिता र उत्तरदायित्व प्रवद्र्धनका साथै नागरिक सहभागिता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।










