पत्रकार महासंघ तनहुँको १४औं साधारणसभा : सरकारी निकायको विज्ञापन एकद्वारबाट वितरण गर्न माग

दमौली । नेपाल पत्रकार महासंघ तनहुँको १४औं साधारणसभा मंगलबार दमौलीमा सम्पन्न गरिएको छ । गण्डकी प्रदेशका उर्जामन्त्री फणिन्द्र देवकोटाले साधारणसभाको उद्घाटन गर्दै देश विकासका लागि पत्रकारहरले कलम चलाउनुपर्ने बताए ।
‘देश बर्बाद भयो भन्ने भाष्य निर्माण गर्न खोजिएकाले त्यसलाई चिर्न पत्रकारहरुले कलम चलाउनुपर्ने अहिलेको आवश्यकता छ’, उर्जामन्त्री देवकोटाले भने, ‘सबैतिर बर्बाद भयो भन्ने भाष्यलाई चिर्न पत्रकारहरुले कलम चलाउनुपर्छ । देशको भविष्य छ, देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन जरुरी छ ।’
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले देश विकासका लागि पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने चर्चा गरे। उनले पत्रकारहरुले चलाउने कलमले समाजमा सकरात्मक प्रमाव पर्ने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले पत्रकारले नकारात्मक मात्रै नभई सकारात्मक विषयको उठान गर्नुपर्ने चर्चा गर्दै सञ्चार क्षेत्र समाजको ऐनाका रुपमा प्रस्तुत हुनेपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पत्रकारिता क्षेत्र मर्यादित हुनुपर्ने उल्लेख गरे । नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले देशमा भएका हरेक आन्दोलनमा पत्रकार जगतको भूमिका महत्वपूर्ण रहेको बताए ।
शाखाका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सचिव लक्ष्मीभक्त खनाल, नेकपा एमालेका सचिव प्रदीपराज अधिकारी, माओवादी केन्द्रका नेता अतिन्द्रकेशरी न्यौपाने लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
यस्तै महासंघले शाखामा रहेको विभिन्न पत्रकारिता पुरस्कारबाट क्रियाशिल पत्रकारहरुलाई पुरस्कृत गरेको छ। शाखाका पुर्व अध्यक्ष मुक्तीनाथ खनालद्वारा स्थापित भवानी खनाल स्मृति पत्रकारिता पुरस्कारबाट ऋषिराम पोख्रेललाई पुरस्कृत गरिएको छ। वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरञ्जिवी हरिमाया स्मृति पत्रकारिता पुरस्कारबाट सम्झना रसाइलीलाई पुरस्कृत गरिएको छ ।

प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानद्वारा स्थापित भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कारबाट कृष्ण न्यौपाने, भाग्यशाली ढुङ्गानाद्वारा स्थापित टीकानीधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुस्कारबाट मदन वाग्ले, सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट रामबहादुर घले, प्रदीप काफ्लेद्वारा स्थापित पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कारबाट अन्जना तिमल्सेना, उत्तम र सुमन भट्टराईद्वारा स्थापित हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट राजीवलाल श्रेष्ठ पुरस्कृत भएका छन् । सुरज गुरुङ स्मृति पुरस्कारको राशी पाँच हजार र अन्य सबै पुरस्कारको राशी दश हजार रुपैयाँ रहेको छ ।
महासंघले न्याय, सहकारी, धार्मिक, सांस्कृतिक तथा पर्यटन लगायतका क्षेत्रमा कलम चलाउने पत्रकारलाई विभिन्न विद्याका पुरस्कारबाट पुरस्कृत गर्दै आएको शाखा अध्यक्ष उज्वल पौडेलले बताए ।
यस्तै, महासंघ तनहुँले जिल्लाका सरकारी निकायबाट उपलब्ध गरिने विज्ञापन एकद्वार प्रणालीबाट गर्न माग गरिएको छ। शाखाको मंगलबार सम्पन्न १४औं साधारणसभाले नौ बुँदे घोषणापत्र सार्वजनिक गर्दै जिल्लास्थित स्थानीय तह र सरकारी कार्यालयबाट उपलब्ध हुने विज्ञापन जिल्लाकै सञ्चारमाध्यममा उपलब्ध हुने गरी एकद्वार प्रणालीबाट लागु गर्न माग गरेको हो ।
घोषणापत्रमा पत्रकारिता पेशाको पेशागत सुदृढीकरण, शुद्धिकरण र सुरक्षाको ग्यारेण्टी गर्न माग गरिएको छ । त्यस्तै शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका लागि जिल्लास्थित सम्पूर्ण स्थानीय तह, सरकारी, निजी तथा नागरिक संघसंगठनसँग सहयोगका लागि अपिल गरिएको छ ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाको बैठक तनहुँका दश वटै स्थानीय तहको समन्वय र सहकार्यमा पालैपालो आयोजना गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।
घोषणापत्रमा निर्माणाधीन पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक र तनहुँ जलविद्युत आयोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
यसैगरी नजिकिदै गइरहेको मनसुन र मनसुनजन्य विपद्बाट जिल्लामा हुन सक्ने बाढीपहिरोको क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई हार्दिक अनुरोध गरिएको छ ।










